सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस : विनेश र नवीता च्याम्पियन

काठमाडौं । विनेश खनियाँ र नवीता श्रेष्ठले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् । नेपाल प्रहरी क्लबद्वय विनेश पुरुष र नवीता महिला सिंगल्समा च्याम्पियन हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा विनेशले भारतको ग्लोबल टेबलटेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, १५–१३, १०–१२, ११–३ को सेटमा पराजित गरे । भारतको वाइल्ड कार्डका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन बभनका तेस्रो भए ।

सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि.को मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नौपल्टकी राष्ट्रिय च्याम्पियन नवीताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११–२, ११–३, ११–३, ११–५ को सोझो सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र कान्तिपुरकी दिया देउला तेस्रो बने ।

विभिन्न सात स्पर्धा समावेश प्रतियोगिताको टिम इभेन्टतर्फ पुरुषमा ग्लोबल तथा महिलामा प्रहरीले स्वर्णपदक जितेका थिए । त्यस्तै, भेट्रानको पुरुष सिंगल्स ४० वर्षमाथि गल्कोपाखा समाज सेवाका चन्दन शाही तथा ५५ वर्षमाथि एनसीसीएसका कपुर शर्मा पौडेल पहिलो बनेका थिए ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेकी थिइन् । पुरुष/महिला सिंगल्स तथा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाए । भेट्रानमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, सम्झनाकी प्रमुख कार्यकारी अधिकृत रजना जोशी, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा चारपटकका राष्ट्रिय च्याम्पियन पूर्वटेबलटेनिस खेलाडी दिगम्बरमान सुवाललाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । यस्तै, मिस नेवा सलिना महर्जन पनि सम्मानित भइन् ।

पाँचदिने प्रतियोगितामा २०० पुरुष र ५६ महिला गरी २५६ खेलाडी सहभागी थिए । सहभागीमध्ये सबैभन्दा कम उमेरमा स्ट्याग च्याम्पियन्स एकेडेमीकी सात वर्षीया प्राज्ना महर्जन रहिन् । यस्तै, बढी उमेरमा ८१ वर्षीया शान्तिदेवी मानन्धर थिइन् ।

प्रतिक्रिया