‘हेल्लो जिन्दगी’ लाई आठ अवार्ड

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशित तथा विक्रम डि जोशी निर्मित चलचित्र ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म विभिन्न आठ वटा अन्तर्राष्ट्रिय अवार्ड हात पार्न ‘फल भएको छ । यससँगै ‘हेल्लो जिन्दगी’ न्यारेटिभ फिचर फिल्म क्याटागोरीमा सर्वाधिक अवार्ड जित्ने नेपाली चलचित्र बनेको छ ।

गत असारमा गान्तोकमा सम्पन्न १६औं संस्करणको ‘गान्तोक इन्टरनेसनल फिल्म फेस्टिभल’ बाट अन्तर्राष्ट्रिय अवार्डको हात पार्न थालेको ‘हेल्लो जिन्दगी’ ले सो फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको थियो । त्यसपछि कोलकतामा आयोजित रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोसन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डिङ एचिभमेन्ट अवार्ड’, हैदरावादमा आयोजित ब्ल्याक स्वान इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘नाइट अफ दि रिल’, दार्जिलिङमा सम्पन्न गोल्डेन फर्न फिल्म अवार्डस् तथा राजस्थानमा जयसालमेर इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत उत्कृष्ट फिचर फिल्म अवार्ड जितेको थियो ।

भारतका साथै सिंगापुरको वल्र्ड फिल्म कार्निभल तथा गत नोभेम्बरमा क्यालिफोर्नियामा सम्पन्न सन जोस इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा समेत बेस्ट न्यारेटिभ फिचर फिल्म अवार्ड जितेको आफ्नो चलचित्र एलए फेस्टिभल सिनेमा लस एन्जेल्स, लण्डन इन्डिपेन्टेन्ट फिल्म फेस्टिभल, क्यान्स फिल्म अवार्डस्, डुब्लिन मुभी अवार्ड तथा लण्डन इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल लगायतका विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा विभिन्न विधामा प्रतिस्पर्धी रहेको जानकारी निर्माता तथा अभिनेता जोशीले दिए ।

निर्देशक बोहराले आफूहरुको मिहिनेतले अन्तर्राष्ट्रियस्तरमा सम्मान पाएकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘नेपाली फिल्म अन्तर्राष्ट्रिय अवार्डमा प्रतिस्पर्धा गरी जित हासिल गर्नु सबैका लागि खुसीको कुरा हो । यसले आगामी दिन अझ उत्कृष्ट फिल्म बनाउने हौसला मिलेको छ ।’ निर्माता तथा अभिनेता जोशी पनि आफ्नो चलचित्रले लगालग जितिरहेको अवार्डप्रति नतमस्तक भएको बताए । उनी भन्छन्, ‘म एकदम खुसी छु । निकट भविष्यमै अझ उत्कृष्ट फिल्म निर्माण गर्ने प्रेरणा मिलेको छ ।’ उनले आफूहरुले निकै मिहिनेत र इमान्दारिताका साथ गुणस्तरीय चलचित्र निर्माण गरेकाले अन्तर्राष्ट्रिय अवार्डमा प्रतिस्पर्धा गर्न सकेको जिकिर गरे ।

गत चैत १८ गते देशभर प्रदर्शन भएको यस चलचित्रमा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयं प्रमुख भूमिकामा छन् । बेलायत तथा नेपालमा छायांकन गरिएको यस चलचित्रका निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सहनिर्मात्रीमा सविता गुरुङ रहेकी छन् । निर्देशक बोहराकै कथा, पटकथा र गीत रहेको चलचित्रमा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

प्रतिक्रिया