पर्यटन प्रवृद्धन गर्न ‘थुम्केरानी महोत्सव’

इलाम । पर्यटन प्रवद्र्धधन गर्ने उदेश्यले इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव सुरु भएको छ । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजना महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन माईजोगमाई गाउँपालिकाका कुशबहादुर थेवेले गरे । उद्घाटन कार्यक्रमका वक्ताहरुले आर्थिक विकासका लागि पर्यटन विकासमा जोड दिएका थिए ।

मंगलबारसम्म संचालन हुने महोत्सवमा नेपाल–भारतको विभिन्न दृश्यावलोकन, स्थानीय खानाका परिकार एवम् विभिन्न साँस्कृतिक कार्यक्रमहरु तय गरिएका छन् । उद्घाटनको अवसरमा आइतबार स्थानीय सिंहदेवी मन्दिरको दर्शन र पूजापाठ गरिएको छ ।

सोमबार ट्रेकिङसहितका विभिन्न कार्यक्रम र मंगलबार सांगीतिक कार्यक्रम गरिने आयोक समितिका अध्यक्ष रत्न थामीले जानकारी दिए । थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।

गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मासम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । त्यस्तै जंगल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि थप आर्कर्षक बन्नेछन् । विश्वको तेस्रो अग्लो हिमशृखला, दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्ड), एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको अध्यक्ष थाकीले जानकारी दिए ।

महोत्सवमा गायक यम बराल, इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई, नवीन सुवेदीलगायत स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । मुख्य आकर्षणको रुपमा हास्यकलाकार सुबोध गौतम (एदुमे) रहेका छन् । एक्सीम्बल ब्यान्डको लाइभ कन्सर्टका साथै विभिन्न जातजातिका झाँकी प्रदर्शन हुनेछ ।

माइजोगमाई गाउँपालिका २ र ६ को संगमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिने बताए । पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थल सहितका धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् ।

प्रतिक्रिया