अधिकारीको ‘ब्रह्मास्त्र’ विमोचित

काठमाडौं । साहित्यकार शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ बजारमा आएको छ । शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उक्त पुस्तकको लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपाने लगायतले संयुक्त रुपमा विमोचन गरे । ‘ब्रह्मास्त्र’ मा रहेको कथा ‘मथिगंल’ को शिल्पी थियटरका कलाकारले नाट्य रुपान्तरण गरेका थिए । पुस्तक विमोचनपछि ‘ब्रह्मास्त्र’ माथि अन्तक्र्रियासमेत गरिएको थियो । लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए ।

त्यसक्रममा बोल्दै लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको सुनाए । उनले नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको दाबी गरे । उनले भने, ‘म कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन् ।’ अधिकारीले आफूले फरक ढंगले कथामा नयाँ विषय र पक्षलाई उधिन्न खोजेको सुनाए । उनले भने, ‘मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु ।’

यसअघि साहित्यकार अधिकारीको ‘निर्वेद’ उपन्यास बजारमा आएको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो भने मुल्य ४ सय ५० रहेको छ ।

प्रतिक्रिया