लगानीकर्ता पर्ख र हेरको अवस्थामा

कर्जाको व्याजदरमा पुँजी बजार निर्भर

नवप्रवेशी लगानीकर्ताहरूले बजार बढेको देखेर हौसिएर थप लगानी गर्ने र घट्दा निराश भएर आफूसँग भएको सबै सेयर बिक्री गर्ने भन्दा पनि आफूले गरेको लगानीको सुनिश्चिततामा ध्यान दिन सक्नुपर्छ । किनकी सेयरमा कमाउने भन्दा गुमाउनेको संख्या जहिले अधिक हुने गर्छ ।

काठमाडौं । पुस पहिलो साता तेस्रोपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि बनेको नयाँ सरकारसँगै सेयर बजारमा सुधार आएको थियो । बैंकिङ प्रणालीमा निक्षेपको जम्मा हुने क्रम पनि बढ्न थालेपछि पुँजी बजारमा सुधार देखिन थालेको थियो । समग्रमा बजारले लय समातेको आभास बजारले देखाएको थियो । अर्थतन्त्रका सूचकहरूमा पनि सुधार हुँदै गएको नीतिनिर्माता तहले बताउन थालेपछि लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुन थालेका थिए ।

सानो आकारको सरकार बने लगत्तै प्रधानमन्त्री ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, सरकारका मन्त्री, मन्त्रालयका सचिवहरूको उपस्थितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूवीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकताअनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । सरकारको नीति तथा कार्यक्रमले समेत सेयर बजारलाई समेटेपछि बजारमा सुधारको माहोल देखिएको थियो ।

न्यूनतम साझा कार्यक्रममा वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बिमा र निजी कम्पनीका निकायहरू बीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकताअनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने उल्लेख छ । दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरणका लागि नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावट लगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढंगले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने सरकारको नीतिको कारण अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको थियो ।

यस्तो अवस्थामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज गरेपछि राजनीतिक अन्योलता देखिएको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेद्वार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री थिए । उनको सांसद पद नै खारेज भएपछि सरकारको समीकरणमाथि पनि प्रश्न चिन्ह खडा भएपछि सेयर बजारमा पनि अनिश्चितता देखिएको कराण बजार ओरालो यात्रातर्फ लम्किरहेको छ ।

हाम्रो पुँजी बजार धेरै भोलाटाइल भएको नियामक निकायले स्वीकार गरिसकेकोले आधुनिक अर्थतन्त्रमा भुक्तानी प्रणाली, अधिक तरलताजस्ता कुरामा सरकार संवेदनशील बन्न सकेको देखिँदैन । अधिक तरलता भयो भने अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुन्छ । यसले अर्थतन्त्रलाई धरासायी बनाउन सक्छ । अधिक तरलता र न्यून तरलताको समयमै व्यवस्थापन गर्न सकिएन भने यसले समग्र बैंकिङ क्षेत्रलाई नै प्रभावित बनाउने निश्चित छ ।

जबसम्म देशमा उद्योग सञ्चालन गर्ने वातावरण र रोजगारीको अवसर सिर्जना हँुदैन तबसम्म सेयर बजारको वृद्धिले दिगो रूप लिन सक्दैन । बढ्दो मूल्यवृद्धि र बेरोजगारीका कारण आमनागरिकको पहिलो प्राथमिकता भनेको आफ्नो जीवनको रक्षा गर्ने कार्य रहेको छ । मानवीय जीवन रक्षाका लागि समाजको तल्लो वर्ग (बटम अफ द पिरामिड) लाई हेर्नुपर्दछ । जीवन जीउनसके भने मात्रै अरू सोच्नु उपयुक्त हुन सक्छ । अहिलेको अवस्थालाई हेर्दा भोलिको दिन यो भन्दा पनि भयावह अवस्था नआउला भन्न सकिन्न । त्यसैले नवप्रवेशी लगानीकर्ताहरूले बजार बढेको देखेर हौसियर थप लगानी गर्ने र घट्दा निराश भएर आफूसँग भएको सबै सेयर बिक्री गर्ने जस्ता कार्यलाई रोक्नुपर्छ । त्यस्ता लगानीकर्ताहरूले आफूले गरेको लगानीको सुनिश्चिततामा ध्यान दिन सक्नुपर्छ । किनकी सेयरमा कमाउने भन्दा गुमाउनेको संख्या जहिले पनि अधिक हुन्छ । बढी नाफा कमाउने आशामा सेयरमा लगानी गर्दा आफूसँग भएको सबै सम्पत्ति सकिन पनि सक्छ । त्यसैले लगानी गर्नुपूर्व आफूले गर्ने सेयर लगानीको पनि विविधिकरणमा ध्यान दिनु उपयुक्त हुन सक्छ ।

स्वतन्त्र तथा खुला बजार अर्थतन्त्रमा कुनै पनि राम्रो वा सेवाको रूपमा मूल्य अन्ततः आपूर्ति र मागमा भर पर्छ । ऋणको मागमा वृद्धिले व्याजदरहरू बढाउँछ भने ऋणको मागमा आउने कमीले व्याजदर घटाउँछ । मुद्रास्फीतिले ब्याजदरको स्तरलाई पनि असर गर्छ । मुद्रास्फीति जति उच्च हुन्छ, त्यति नै बढी ब्याजदर बढ्ने गर्छ । विश्व एवं नेपालमा पनि मन्दीको समयमा थोरै मानिसले कार वा घरहरू किन्ने गरेको तथ्यांकले देखाउने गरेको छ । यस्तो समयमा पनि केही व्यक्ति नयाँ धितो वा अटो लोन खोजिरहेका छन् वा व्यवसायहरू सुरु गर्न वा बढाउनका लागि वित्तपोषण खोजिरहेका हुन्छन् । तर, रकम अभावमा लगानी गर्न सकिरहेका हँुदैन ।

यस्तो अवस्थामा वाणिज्य बैंकहरूले बैंकमा लगानीयोग्य रकममा केही सुधार भएको भन्दै १ माघदेखि व्याजदर घटाउने निर्णय गरेपछि यो ३ माघदेखि मात्रै लागू भएर १२ प्रतिशतबाट ११ प्रतिशतमा झरेको छ । नयाँ नेपाली महिनाको सुरुआती दिनदेखि बैंकहरूले व्याजदर घटाएका हुन् । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्याजदर घटाउने निर्णय गरेको हो ।

तर, कर्जाको व्याजदर घटेको छैन । सोही कारण नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघसँग कर्जाको व्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरेको छ । मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले विनाप्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकीकरण गुर्नपर्ने धारणा परिसंघको छ । उद्योगहरूको प्रबद्र्धन गर्न वेसरेटमा दुई प्रतिशत मात्रै व्याज लगाएर कर्जा प्रवाह गर्नुपर्ने, चालुपुँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाइमा एकरूपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल सञ्चालन गर्न उसले आग्रह गरेको छ ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्सले मौद्रिक समीक्षामार्फत् साँवा र ब्याजदरको पुर्नतालिकीकरण गर्न माग गरेको छ । चालु पुँजी कर्जा सम्बन्धमा साना ठुला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पु¥याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकताअनुसार उपयोग गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले आधार दरमा शून्य दशमलव पाँचदेखि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेको भन्दै प्रिमियम अधिकतम दुई प्रतिशत हुनुपर्ने माग गरेको छ । विप्रेषणलाई बैंकिङ च्यानलबाट मात्रै आउने वातावरण बनाउनुपर्ने, आयात निर्यात हुने बस्तुको मूल्याकनसम्बन्धी विश्लेषण बंैकिङ क्षेत्रको दायराबाट हटाइनुपर्ने, अनौपचारिक अर्थतन्त्रमा रहेको पुँजीलाई बैंकिङ प्रणालीमा ल्याउन विशेष नीति अवलम्बन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने जस्ता माग चेम्बरले राखेको छ । यस्तो अवस्थामा पुँजी बजारको सुधार हुने अपेक्षा कमै देखिन्छ ।

ब्याजदर र सेयर बजारबीच सम्बन्धमा विभिन्न दृष्टिकोणहरू आउने गरेका छन् । कुनै पक्षले सेयर बजार र ब्याजदरबीच प्रतिस्पर्धात्मक र शत्रुतापूर्ण सम्बन्ध रहने बताउँदै ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा सेयर बजार घट्ने तर्क गर्दे आएका छन् भने अर्को पक्षले सेयर बजारका लगानीकर्ता र कारोबार गर्ने व्यक्ति वा संस्थाले जति नै व्याजदर हुँदा पनि सेयर बेचेर बैंकमा निक्षेप नराख्ने हुँदा व्याजदरसँग खासै सम्बन्ध नराख्ने बताउने गरेको छ ।

त्यो भन्दा फरक अर्को पक्षले कतिपय अवस्थामा ब्याजदर बढ्दासमेत सेयर बजार बढ्ने तर्क गर्छन् । यसले के देखाउँछ भने सेयरमा कारोबार गर्नेहरूले व्याजदरलाई मूल्यमा खेल्ने हतियारका रूपमा प्रयोग गरिरहेको देखिन्छ । तर यथार्थपरक रूपमा सेयर बजारबीचको सम्बन्ध आर्थिक–सामाजिक अवस्था, राज्य वा नियामकको नीति, निर्देशनअनुरूप परिवर्तन हुने हुँदा सूचीकृत कम्पनीको आधारभूत र प्राविधिक विश्लेषणसँगै अन्य पक्षहरूका अतिरिक्त तरलताको अवस्था, बैंकिङ ब्याजदरको दिशा र केन्द्रीय बैंकको नीतिले सेयर बजारलाई प्रभाव पार्ने गर्दछ । त्यसैले नवप्रवेशी लगानीकर्ताहरूले बजारमा प्रवेश गर्नुअघि राजनीतिक माहोल, बैंकहरूले कर्जामा दिने व्याजदर, लगानीयोग्य रकमको अवस्था, देशको समग्र मुद्रास्फितिको आँकलन गरी वित्तीय विवरण सन्तोषजनक रहेका कम्पनीको सेयर खरिद गर्नु उपयुक्त हुन सक्छ ।

मौद्रिक नीतिको समीक्षामा सेयर बजार केन्द्रित

काठमाडौं । फागुन पहिलो सातासम्म केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजार निर्भर रहने आँकलन गरिएको छ । अर्थमन्त्रीमा बिष्णु पौडेलले पदबहाली गरेसँगै निजी क्षेत्रले आफ्नो माग राख्दै आएको र अर्थमन्त्रीले पनि व्यवसायीहरूको माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकोले अर्थमन्त्रीकै इच्छाअनुसार मौद्रिक नीतिमा करेक्सन हुन सक्ने संभावना बढेको छ ।

यो सँगै अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरिएको छ । समितिले गत पुस मसान्तसम्मको बजेट समीक्षाको प्रतिवेदन पेस गर्नेछ । समितिले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्ने जनाएको छ । अर्थमन्त्री पौडेलले अर्थवार्षिक समीक्षामार्फत बजेट पुँजीगत खर्चलाई बढाउने र चालु खर्च घटाउने नै मुख्य नीति लिने धारणा सार्वजनिक गरिसकेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिले निक्षेप ५३ खर्ब ६१ अर्ब पुगेको छ भने ऋण प्रवाह ४८ खर्ब १६ अर्ब रहेको छ । त्यसैगरी सिडी रेसियो ८६ दशमलव ४६ प्रतिशत रहेको छ । अल्पकालीन ब्याजदर घटिरहेको छ । अन्तरबैंक व्याजदर ४ प्रतिशतमा झरेको छ ।

पछिल्लो समय अर्थतन्त्रको बाह्य अवस्था दबाबमुक्त हुँदै गएको पनि केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । रेमिट्यान्स, शोधनान्तर, चालु खाता घाटाको खाडल न्यूनीकरणका क्षेत्रमा पछिल्लो समय सुधार देखिएको छ । अघिल्लो वर्ष दबाबमा रहेको बाह्य क्षेत्रमा यो वर्ष सुधार देखिएको हुँदा मौद्रिक नीति विगतको भन्दा केही खुकुलो हुन सक्नेछ ।

गत वर्षको सुरुआतदेखि नै घाटामा रहेको शोधनान्तर अवस्था लगातार तेस्रो महिना वचतमा रहेको छ । पहिलोपटक असोजमा १२ अर्बले वचतमा गएको शोधनान्तर कात्तिकमा पुग्दा २० अर्ब तीन करोडले वचतमा रहेको थियो भने मंसिरसम्म पुग्दा ४५ अर्ब ८७ करोडले वचतमा गएको छ । गत वर्षको अवधिमा १ खर्ब ९५ अर्बले घाटामा थियो । यो वर्षको पाँच महिनामा रेमिट्यान्समा पनि उत्साहजनक वृद्धि देखिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष वृद्धिदर उच्च देखिएको छ । पाँच महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको यही अवधिमा रेमिट्यान्स ६ दशमलव ८ प्रतिशतले घटेको थियो ।
विदेशी मुद्रा सञ्चितिमा पनि पछिल्लो समय निरन्तर सुधार देखिएको छ । मंसिरसम्मको तथ्यांकअनुसार ९ अर्ब ८२ करोड अमेरिकी डलर सञ्चिति पुगेको छ । साउनदेखि मंसिरसम्म विदेशी मुद्राको सञ्चिति तीन प्रतिशतले बढेको छ । ०७९ को असारमा कुल सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो ।

चालु खाता घाटाको विस्तार पनि साँघुरिएको छ । केन्द्रीय बैंकको अनुसार पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ । गत वर्ष चालु खाता घाटा २ खर्ब ९८ अर्ब पुगेको थियो । आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो देशको वर्तमान प्रतिवेदनले ८ दशमलव ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने बताएको छ । त्यसैले कसिलो नीतिहरू अब अर्थतन्त्रमा दुर्घटनाको सम्भावना कम भएसँगै विस्तारै खुकुला बनाउनेतर्फ अर्थ र केन्द्रीय बैंकको बुझाई रहेको पनि विज्ञहरूले बताएका छन् । अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै केन्द्रीय बैंकले आयातमा लगाउँदै आएको प्रतिबन्ध, प्रतित पत्र(एलसी) मा मार्जिन अल्पकालीन उपकरण हटाइसकेको हुँदा मौद्रिक नीतिको समीक्षामा सेयर बजार रहेको देखिन्छ ।

प्रतिक्रिया