‘प्रेमा’ को फस्टलुक

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेमा’ को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित चलचित्र आगामी १७ चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । फस्टलुकमध्ये एकमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री, शुभेक्षा खड्का र सृष्टि श्रेष्ठलाई देखाइएको छ । पोस्टरमा अरुण, शुभेक्षा, सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्षा, अरुण र सृष्टिलाई खुसी अवस्थामा प्रस्तुत गरिएको छ । तेस्रो पोस्टरमा शुभेक्षा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुसी अवस्था देखाइएको छ ।

निर्देशक भण्डारीले चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको बताए । ‘मञ्जरी’, ‘लभ यु बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ लगायतका चलचित्रमा सहनिर्देशन गरेका छन् । यस्तै, निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यु चलचित्र ‘रणवीर’ हो । यसमा उनकै लेखन रहेको थियो ।

चलचित्र ‘प्रेमा’ मार्फत गोविन्दले चलचित्र निर्माणमा हात हालेका हुन् । गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे चलचित्र ‘चिनी कम रङ कडा’ का निर्देशकसमेत हुन् । ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा छायांकन गरिएको हो । चलचित्रमा अरुण, शुभेक्षा र सृष्टिका साथमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ ।

सामथ्र्यविक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ । चलचित्रमा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको ब्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, सैफुद्दिन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भिएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डिओपी छ । महेश ‘मञ्जरी’ र ‘रणवीर’ का डिओपीसमेत हुन् । चलचित्रलाई उपत्यकामा जिजिए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया