धनगढीमा प्रादेशिक डेउडा प्रतियोगिता हुने

धनगढी । कैलालीको धनगढीमा प्रादेशिक खुला डेउडा प्रतियोगिता हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा डेउडा प्रतियोगिता हुन लागेको हो । बिहीबार डेउडा प्रतिष्ठानले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको तथा प्रतियोगिता माघ २० गते (शुक्रबार) देखि २२ गतेसम्म तीन दिन सञ्चालन हुने जनाएको छ । डेउडा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा)ले पछिल्लो पुस्तालाई डेउडा गीत संगीत प्रति मोह जगाउन,उत्साहित बनाउनुको साथै पुस्तान्तरण गर्नका लागि डेउडा प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

देउडा प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ३० टिम सहभागी हुने उनले बताए । उनले भने ‘एउटा टिममा ७ देखि १० जनाको सहभगिता हुनेछ र ३ सय जना कलाकारको सहभागिता हुनेछ’ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीयलाई ४० हजार,तृतीयलाई ३० हजार र सान्त्वना २० हजार पुरस्कार राशी रहेको रावतले बताए । त्यस्तै उत्कृष्ठ डेउडियालाई १ हजार १ सय पुरस्कार दिइने जनाइएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दलबहादुर बोगटीले कला, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बताए ।

प्रतियोगिताको बीचमा सुदूरपश्चिमका २०/२५ जना चर्चित कलाकारहरुले एकल प्रस्तुति दिने आयोजकले जनाएको छ । सोही क्रममा डेउडा गीत संगीत,कला सस्कृतिको संरक्षण सम्बद्र्धनका लागि योगदान पुर्याएका हेमन्त विवस, केशवराज फूलारा,पदम धामी र डबल बिष्ट गरी ४ जना श्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको प्रष्ठिानले जनाएको छ । प्रतियोगिता सामाजिक विकास मन्त्रालयको सहयोगमा हुन लागेको तथा प्रतियोगिता धनगढीस्थित सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया