काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भए पनि उनी राष्ट्रिय टिममा फर्कन फिटनेस प्रमुख विषय भएको बताएका छन् । पोखरामा बसेको क्यानको बोर्ड बैठकपछि बुधबार अध्यक्ष चन्दले सन्दीपको फिटनेसबारे बुझेर राष्ट्रिय टिममा राख्ने वा नराख्ने निर्णय गरिने बताए ।
‘सन्दीप लामिछानेलाई हामीले अनुशासन उल्लंघन गरेको हुनाले निलम्बन गरेका हौँ । तीन महिना बढी भइसक्यो, अनुशासनको दायरामा ल्याएका थियौँ । फुकुवा ग¥यौँ,’ अध्यक्ष चन्दले भने, ‘हामीले क्रिकेटको हिसाबले मात्र हेरेका हौँ । उहाँको फिटनेस के छ, त्यो बुझ्ने र उहाँ टिममा फर्कने वा नफर्कनेबारे पछि निर्णय हुन्छ ।’
क्यानको यही बैठकले नै सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । क्यानको कार्यसम्पादन समितिले गएको भदौ २३ गते सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।
‘जबरजस्ती करणी कसुरमा २०७९ भदौ २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट प्रकाउ पुर्जी समेत जारी भएको अवस्थामा सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको छ,’ सन्दीपलाई निलम्बन गर्दा क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।
प्रतिक्रिया