लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सीबीच अन्तिम मर्जर सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी बीच मंगलबार मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी साधारण सभामा लगिने पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी दुवै कम्पनीबीच भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्ट समेतका आधारमा सगरमाथा र लुम्बिनीको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम रहनेछ । दुवै कम्पनीको आव २०७८÷७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरणपछि स्वाप रेसिओ गणना गरी मर्जरपछि कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ कायम हुने बताइएको छ ।

त्यसैगरी मर्जरपछि बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन । सञ्चालक समितिको अध्यक्षमा लुम्बिनीको तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथाबाट हुने सम्झौता भएको छ । एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने छन ।

प्रतिक्रिया