रञ्जितलाई बराथा सम्मान

काठमाडौं । नेपाली व्यंग्यचित्रका क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज कलाकार शरदद रञ्जित सम्मानित भएका छन् । कार्टुनिस्ट क्लब अफ नेपालले शनिबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको ‘बराथा स्मृति सम्मान २०७९’ बाट उनलाई सम्मान गरिएको हो । क्लबका संस्थापक अध्यक्ष अग्रज कलाकार अशोकमान सिंले एक समारोहका बीच रञ्जितलाई उक्त सम्मान प्रदान गरे ।

सम्मान समारोहमा सिंले नेपाली व्यंग्यचित्रका क्षेत्रमा रञ्जितले अतुलनीय योगदान दिएको विचार व्यक्त गरे । उनले नेपाली कार्टुनक्षेत्रका आरोह अवरोहका बारेमा चर्चा गर्दै अग्रजहरुको योगदानका कारण यसको विकास व्यवस्थित ढंगले भएको जिकिर गरे । उनले क्लबको स्थापनाका बारे बताउदै पुराना र अनुभवीको सम्मानले नयाँ पुस्तालाई उत्प्रेरणा मिल्ने धारणा राखे । सिंले भने, ‘पुरानाको अनुभव साझा हुने र नयाँ पुस्तालाई मार्गनिर्देश गर्न सम्मानले प्रोत्साहन मिल्दछ ।’

सम्मानित व्यक्तित्व शरद रञ्जितले पहिला नयाँ गोरेटो नामको प्रौढ शिक्षाको पुस्तिका र भाँडभैलोलगायत व्यंग्य पत्रिकाको प्रकाशन गर्दाको अनुभव सुनाए । उनले नेपाली व्यंग्यचित्रलाई अझै सशक्त ढंगले अगाडि बढाउन क्लबले काम गर्नुपर्नेमा जोड दिए । रञ्जितले क्लबलाई धन्यवाद दिँदै विगतलाई सम्झिएर अझै व्यंग्यचित्रमा काम गर्न हौसला पाएको बताए । उनले नेपाली व्यंग्यचित्रकारका इतिहाससम्बन्धी कार्यपत्रसहित पुस्तक प्रकाशन गर्नुपर्ने, अन्तर्राष्ट्रिय कार्टुनिस्टसहितको सेमिनार, नियमित कार्टुनसम्बन्धी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


क्लबका निवर्तमान अध्यक्ष तथा अग्रज कार्टुनिस्ट अविन श्रेष्ठले अग्रजले बनाएको व्यंग्यचित्रको गोरेटोमा अहिलेका कार्टुनिस्टलाई काम गर्न सजिलो भएको बताए । उनले अग्रजको योगदानले नै कार्टुन विधाले फड्को मार्न सकेको विचार व्यक्त गरे । श्रेष्ठले भने, ‘कार्टुन क्षेत्रमा शरद रञ्जित र प्रा.रामकुमार पाँडेको योगदानले यो क्षेत्र यहाँसम्म आइपुगेको हो । हुनत यस क्षेत्रमा अझै व्यापक ढंगले काम गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।’

क्लबका अध्यक्ष वासु क्षितिजले विगत आठ वर्षदेखि संस्थाले निरन्तर रुपमा सम्मान प्रदान गर्दै आइरहेको बताए । उनले नेपाली व्यंग्यचित्रका क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई क्लबले वार्षिक रुपमा सम्मान गर्दै आएको सुनाउँदै अग्रजको सम्मानले नयाँ पुस्तालाई हौसला मिल्ने विचार व्यक्त गरे । सो अवसरमा २०७६ सालको बराथा स्मृति सम्मानबाट प्रा.रामकुमार पाँडेलाई सम्मान गरिएको थियो । प्रा.पाँडेले सो अवसरमा नेपाली कार्टुनको इतिहास र उतारचढावका बारेमा चर्चा गरे । यस्तै संस्थाका उपाध्यक्ष देवेन्द्र थुम्केलीले नेपालमा कार्टुनको संस्थागत विकास र यसका आयामका बारेमा चर्चा गरेका थिए । क्लबका महासचिव रवि मिश्रले नेपाली कार्टुनमा पुराना र नयाँ पुस्ताका कलाकारलाई संस्थाले एक ठाउँमा जोडेको बताउँदै बराथा स्मृति सम्मानका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया