लोप हुँदै स्थानीय भाषा र संस्कृति

सबैखाले विकृतिपूर्ण तथा अन्य बाह्य संस्कृतिको प्रभाव बढेसँगै मौलिक संस्कृतिमा गम्भीर असर परेको छ । यस्ता विकृतपूर्ण संस्कृतिको उचित व्यवस्थापन र आधुनिकताको नाममा गरिने यस्ता क्रियाकलापले हाम्रो मौलिक परम्परागत संस्कृतिको रक्षा गर्न सरोकारवाला निकाय संघीय सरकारसँगै खासगरी स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ

बिक्रम कुँवर ‘प्रतीक’

नेपाल देश बहुभाषी, बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक मूल्य र मान्यता बोकेको विविधतायुक्त समाजको एक साझा सुन्दर फुलबारी हो । यहाँ विभिन्न जातजाति बस्नुका साथै उनीहरुका आ–आफ्नै मौलिक लोकसंस्कृति र परम्परा प्रचलनमा छन् । तिनको आफ्नै खालको विशेष महत्व र पहिचान छ । २०६८ सालको जनगणनानुसार नेपालमा १२३ जातिको बसोबास र १२९ वटा भाषा बोलिन्छन् भन्ने तथ्यांक रहेको छ । ती जाति र सम्पूर्ण भाषालाई नेपालको संविधान २०७२ मा समेत उचित सम्मान र त्यही किसिमको व्यवस्थापन गरेको छ । साथै ती भाषालाई मातृभाषाको रुपमा सम्मान दिएको छ ।

विशेषगरी नेपालको सुदूरपश्चिमको भाषा र देउडा संस्कृतिको विशिष्ट महत्व छ । सुदूरपश्चिम संघीय राजधानीबाट धेरै टाढाको प्रदेश हो । नेपाल एकीकरण हुनुभन्दा पहिलेका बाइसे चौबिसे राज्यको पालामा सुदूरपश्चिम हालको एक प्रदेश नभएर डोटी राज्यअन्तर्गत रहेको थियो ।
त्यहाँको जनजीवन, रहनसहन, हस्तकला, परम्परा, लोकसंस्कृति तथा भेषभूषा आफ्नै किसिमको विशेष पहिचान र फरक फरक महत्व बोकेको अवस्था थियो । जुन छिमेकी मुलुक भारतको उत्तराखण्डको कुमाउ गडवालसँग मिल्थ्यो र हाल पनि त्यही अवस्था रहेको छ । सुदूरपश्चिम र कर्णालीको स्थानीय कला र संस्कृतिको कुरा गर्नेबित्तिकै छलिया, हुड्के, भुवा र खासगरी सबैले बुझ्ने भनेको देउडा गीत भनेर नै चिनिन्छ र बुझिन्छ । देउडा भन्नेबित्तिकै कर्णाली र सुदूरपश्चिम भनेर चिनिन्छ । तर, हाल आएर सुदूरपश्चिम र कर्णालीको ठेट ठाडी भाका र देउडामा बिस्तारै आधुनिकताको प्रभावले गाँजेको छ । पश्चिमा तथा बाह्य संस्कृतिको प्रभावका कारण यसको मौलिक पहिचान हराउने खतरा बढिरहेको छ । जसका कारण मौलिक रुपमा हजारौं वर्षदेखि प्रचलित संस्कृति लोपोन्मुख हुने अवस्थामा गइरहेको छ । यसले हाम्रो मौलिक संस्कृति बिस्थापित हुने चिन्ता बढाइरहेको छ । यसबारे राज्यसँगै सुदूरपश्चिम र कर्णालीका कलाकार, स्रष्टा एवं आमनागरिक सचेत र गम्भीर भएर लाग्नु पर्ने अवस्थाको सिर्जना भएको छ ।

नेपालको सुदूरपश्चिमको भाषा र देउडा संस्कृतिको विशिष्ट महत्व छ । सुदूरपश्चिम संघीय राजधानीबाट धेरै टाढाको प्रदेश हो । नेपाल एकीकरण हुनुभन्दा पहिलेका बाइसे चौबिसे राज्यको पालामा सुदूरपश्चिम हालको एक प्रदेश नभएर डोटी राज्यअन्तर्गत रहेको थियो

हामीले सानो उमेरमा सुन्ने गरेका ठेट चैतली, ढुस्को, ठाडो खेल र देउडा गीत अहिले आधुनिकताको नाममा बिस्तारै हराउने अवस्थामा छन् । चाहे गौरा पर्वको बेला गाइने ठाडोखेल र ढुस्को होस् चाहे जन्ती विवाहमा गाइने र नाचिने छलिया गीत होस् यतिमात्रै होइन चाहे वनपाखा र गोठाला जाँदा गाइने हैला सु…., सुझ झुपा रेल्पाना, झुम्को डालीमा लगायतका ठाडी भाका र अन्य गीत नै किन नहोस् पछिल्लो समय आधुनिकताको नाममा मौलिक देउडा संस्कृतिमा बाह्य प्रभाव बढिरहेको छ । यसले मौलिक रुपमा समाजमा स्थापित देउडा बिस्तारै लोप हुने खतरा दिनप्रतिदिन बढ्दै गइरहेको छ । त्यसकारण आधुनिकताको नाममा भ्रष्टीकरण र लोप गर्ने होइन की समयानुकूल परिमार्जन गरे पनि देउडाको मूलमर्म र मौलिकतालाई जोगाउने दायित्व राज्य, सर्जक, अभियन्ता तथा सरोकारी संघसंस्थाको हो ।

सुदूरपश्चिमका जिल्लामा बैतडी तथा दार्चुलाको छलिया होस, अछाम, बझाङ र बाजुरातिरको भुवा र पुतला खेल होस् चाहे डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुरलगायतका जिल्लाको साझा गीत देउडा नै किन नहोस् यिनको समयानुसार आ–आफ्नो ठाउँमा विशिष्ट खालको महत्व रहँदै आएको छ । पछिल्लो समय पुराना ठेट भाकाहरु हराउँदै जाने र नयाँ तथा आधुनिकताको नाममा हाम्रो समाजमा चाहे बिहेवारीमा छलियाको सट्टा प्रयोग हुने ब्याण्ड बाजा होस्, जन्मदिन (बर्थे डे) को नाममा भड्किलो खर्च गर्दै दारु पार्टी र केक काट्ने सँगै अन्य फजुल खर्चिलो डिजेवाला पार्टीको कुरा होस् चाहे ठेट देउडाको ठाउँमा गाइने र बनाइने ¥याप र पल देउडा नै किन नहोस् यिनले मौलिक संस्कृतिमाथि प्रहार गरिरहेको छ । यी र यस्तै सबैखाले विकृतिपूर्ण तथा अन्य बाह्य संस्कृतिको प्रभाव बढेसँगै मौलिक संस्कृतिमा गम्भीर असर परेको छ ।

यस्ता विकृतपूर्ण संस्कृतिको उचित व्यवस्थापन र आधुनिकताको नाममा गरिने यस्ता क्रियाकलापले हाम्रो मौलिक परम्परागत संस्कृतिको रक्षा गर्न सरोकारवाला निकाय संघीय सरकारसँगै खासगरी स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । त्यसका लागि स्थानीय तह र प्रदेश सरकारमा केन्द्रमा जस्तै प्रज्ञा प्रतिष्ठान वा संस्कृतिसँग सम्बन्धित संरचना स्थापना गरिनु पर्दछ । साथै उक्त क्षेत्रका स्रष्टाको भूमिका निर्धारण गरी उचित व्यवस्थापन र सम्मान गर्न सकिएमा स्थानीय भाषा, संस्कृति, कला, हस्तकला र गीत संगीतसँगै सिंगो संस्कृतिलाई जोगाउन सकिन्छ । नत्र दिनप्रतिदिन आधुनिकता र परिमार्जनको नाममा भड्किलो बन्दै जाने हो भने समाजमा खास हाम्रो कला र संस्कृति लोप हुने अवस्थामा पुग्दछ । बाह्य संस्कृतिले जरो गाड्दै बिस्तारै हराउँदै जाने खतरा प्रवल देखिन्छ । यसको उचित व्यवस्थापन र रक्षाका लागि सबै सरोकारवाला निकाय र सष्टाले मिहिनेत गर्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया