‘पठान’ लाई अदालतको कैंची

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ‘पठान’ लाई दिल्ली उच्च अदालतले केही परिवर्तन गर्न आदेश दिएको छ । अदालतको यो आदेश चलचित्रको ओटिटी रिलिजसँग सम्बन्धित छ । अदालतले चलचित्र ओटिटीमा स्ट्रिम हुनुअघि बन्द क्याप्सन हिन्दी भाषामा अडियो विवरण र उप–शीर्षकहरू तयार गर्न निर्देशन दिएको छ ।
चलचित्र अप्रिलमा ओटिटी प्लेटफर्म प्राइम भिडियोमा स्ट्रिम हुनेछ भने २५ जनवरीमा हलबाट प्रदर्शनमा आउने तयारीमा छ । अदालतले ‘पठान’ का निर्मातालाई सबै आवश्यक परिवर्तन गरेर पुनः प्रमाणीकरणको लागि सिबिएफसीमा पेश गर्न आदेश दिएको छ । यो चलचित्र हिन्दीसँगै तेलुगु र तमिल भाषामा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा शाहरुखसँगै अभिनेत्री दीपिका पादुकोण, अभिनेता जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राना लगायतका कलाकारको अभिनय छ । ट्रेलर सार्वजनिक भएदेखि नै यो चलचित्र सामाजिक सञ्जालमा चर्चामा छ । चलचित्रको गीत ‘बेशरम रंग’ को विवाद अझै शान्त भएको छैन । तर, विवादपछि चलचित्रमा थप १० कट गरिएको छ । यो चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् र यसको निर्माता आदित्य चोपडा हुन् । चलचित्र करिब २५० करोड लागतमा बनेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

केही दिनअघि यो चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो । यशराज चलचित्रसको ब्यानरमा निर्माण भएको यो चलचित्र एक्सन दृश्यले भरिपूर्ण छ । सार्वजनिक ‘पठान’ को ट्रेलरमा भारतको राष्ट्रियताको विषयलाई चित्रण गरिएको छ । अभिनेता शाहरुख पाँच वर्षपछि यसै चलचित्रमार्फत बलिउडमा कमब्याक गर्दैछन् ।

उनका प्रशंसकका लागि यो चलचित्र प्रतिक्षित बनेको छ । यशराज ब्यानरको चौथो स्पाई सिरिजका रुपमा लिइएको यो चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गरेका छन् । यो चलचित्रले गीत ‘बेसरम रङ’ का कारण निकै विवाद खेप्नुपरेको छ । गीतमा अभिनेत्री दीपिकाले पहिरिएको बिकिनीको रङले हिन्दू धर्मलाई अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) विरोधमै उत्रियो । ठाउँ ठाउँमा चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनीसमेत दिइयो । चलचित्र बहिष्कारको ट्रेन्ड नै चलेको थियो ।

प्रतिक्रिया