म्युजिक अवार्ड मनोनयन सार्वजनिक

काठमाडौं । १०औँ ‘म्युजिक खबर म्युजिक अवार्ड’ को दसौं उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । उक्त अवार्डमा गीत संगीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०७८ बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जना उक्त अवार्डमा सहभागी गराइएको आयोजक सुमन पण्डितले जानकारी दिए । उनले अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोकदोहोरी, गजल, चलचित्र र आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको छ ।

अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादक, उत्कृष्ट गीतलगायतका विधामा अवार्ड आयोजना गरिने उनको भनाइ छ । पण्डितले विगत ९ वर्षदेखि निरन्तररुपमा अवार्ड कार्यक्रम आयोजना हुँदै आएको बताए । उनले ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानीलगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको सुनाए ।

आगामी फागुनको पहिलो हप्तामा राजधानीमा गरिन लागिएको उक्त अवार्ड कार्यक्रम शुभकामना मिडिया सोलुसनको आयोजनामा हुन लागेको हो । ‘अवार्डमा गीत संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिनेछ,’ आयोजक पण्डितले भने, ‘पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिनेछ, एक जना युवा प्रतिभालाई म्युजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिनेछ ।’ उनका अनुसार एक जना वरिष्ठ पत्रकारलाई म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया