नयाँ सरकारका स्टन्ट

रामकृष्ण पोखरेल

वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरूका आदेश र निर्देशनले तत्कालीन पञ्चायत व्यवस्थाका नेता र मन्त्रीहरूले दिने गरेको सम्झना गराइरहेको छ । पञ्चायतकालमा जनताको सेवाका नाममा जुन जुन स्टन्ट प्रयोग हुने गथ्र्यो । करिब–करिब उही स्टन्ट अहिले प्रयोग हुन थालेको देखिएको छ ।

चार मंसिरको आमनिर्वाचन पछिका नयाँ परिदृश्यमा नेपालका सात दलको गठबन्धन सरकारका मन्त्रीहरूको स्टन्टको ट्रेलरहरू जनता हेरेर बसेका छन । ०७९ पुस १० गतेको संवैधानिक परिदृश्यबाट बनेको सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको अनुहारमा देखिएको हतासपूर्ण परिवेशमा यो आलेखले केही देखिएका र नदेखिएका समसामयिक घटनाहरूलाई अगाडि सार्ने प्रयास गरेको छ ।

सरकारका प्रमुख र उनका सहयोगीहरूको निर्देशन माथिको निर्देशन, आदेश माथिको आदेश सुन्दा र देख्दा उदेकलाग्दो छ । वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरूका आदेश र निर्देशनले तत्कालीन पञ्चायत व्यवस्थाका नेता र मन्त्रीहरूले दिने गरेको सम्झना गराइरहेको छ । पञ्चायतकालमा जनताको सेवाका लागि भन्दै जुनजुन स्टन्ट प्रयोग हुने गथ्र्यो, करिब–करिब उही स्टन्ट अहिले प्रयोग हुन थालेको देखिएको छ । अहिलेका स्टन्टकर्ता मन्त्रीहरू त अझ एक कदम अगाडि छन् । यो हो मिडियाकर्मीहरूको प्रयोग । मन्त्रीहरू निरीक्षणमा गएको र आ–आफ्ना मन्त्रालय र विभागका कर्मचारीहरू अगाडि राखी दिएको निर्देशन र वक्तव्यको स्टन्टलाई प्रचारप्रसारमा ल्याउनुलाई नै पत्रकारिता ठान्ने मिडियाको पनि कमी देखिएन । आफ्नो स्टन्टमा सञ्चार माध्यमलाई प्रयोग गर्ने पञ्चायती शैली दोहोरिएको छ ।

यस्तो मिडियाबाजी र स्टन्टलाई सम्पूर्ण मिडियाकर्मी साथीहरूले बहिष्कारको अभियान अघि बढाउनुपर्ने खाँचो देखिएको छ । जनता पक्षमा सिन्को नभाँच्ने अनि काम गरेको नाटक गर्दै प्रचार गर्ने ? यो भन्दा पाखन्डीपना केही हुँदैन । जनताका आवश्यकतालाई पूरा गर्न वर्तमान प्रशासनिक संरचनामा व्यापक सुधारको आवश्यकता छ । यो कार्य गर्न, गराउन सरकारका नेतृत्वदायी भूमिकामा रहेकाले संगठनात्मक संरचनाको जानकार व्यवस्थापकीय अनुभव भएकाहरूको कार्यदल बनाउनुपर्छ । यसका लागि समय तोकी सेवा प्रवाह र जनचासोलाई छिटोछरितो बनाउनेतर्फ आआफ्नो समय खर्च गरे राम्रो प्रतिफल आउनसक्छ होला । वर्तमान मन्त्रालय, विभाग, आयोग र सार्वजनिक संस्थालाई पुनरावलोकन गरी सरासर अगाडि बढ्नसके केही काम हुन्थ्यो होला । सरकारका जिम्मेवार पदाधिकारीले सरकार कसरी चुस्तदुरूस्त बनाउन सकिन्छ अहिले त्यो गर्ने बेला छ । यसमा राजनीतिक भागबण्डा गर्ने होइन । ‘हाम्रा मान्छे मात्र होइन मुलुकमा रहेका राम्रा मान्छे’ खोज्ने चेष्टा गरौँ र मुलुक र जनतालाई स्टन्ट होइन सरकारको सेवा र संरक्षण चाहिएको छ ।

आदेश र निर्देशनको प्रचारप्रसार जनतालाई चाहिएको छैन । केबल आउने सन्ततिका लागि असल र सुन्दर नेपाल चाहिएको छ । नेपालीलाई केबल इमानदार, स्वछ छवि भएका र मुलुकप्रतिको निष्ठावान नेता चाहिएको छ, न कि स्टन्टमा रमाउने नेता चाहिएको छ । नेताहरूको स्टन्टबाजीको बहिष्कार गरौँ ।

पैसाविना पार्टी चल्दैन भन्ने मानसिकता विकास भइरहेको छ । जसजसले पैसा लगानी गर्छन् उनीहरूको पकडमा राजनीतिक पार्टी पुग्ने गरेका छन् । सत्ता प्राप्तिपछि लगानी उठाउन सकिने मानसिकताले जरो गाडेको छ । एक हिसाबले यतिबेला हाम्रो मुलुकका राजनीतिकदलहरू संयुक्त पुँजी कम्पनीजस्ता भएका छन् । जसरी कुनै कम्पनी जसजसको आर्थिक सेयर छ, उनीहरूकै स्वामित्वमा हुन्छ, त्यो कम्पनीबाट लाभ पनि उनीहरूले नै पाउँछन् ।

त्यसै गरी हाम्रो मुलुकका राजनीतिकदलहरू पनि आर्थिक लगानी गर्नेहरूकै हातमा पुगेका छन् । आर्थिक लगानी गर्नेहरूले नै पार्टीबाट लाभ पाउने गरेका छन् । सर्वसाधारण जनताको पहुँचमा हाम्रो मुलुकका राजनीतिक पार्टीहरू छैनन् । जबकी पार्टी भनेको एउटा गाडी हो । संगठन भनेको इन्जिन हो । विचार भनेको इन्धन हो । अब कल्पना गरौँ इन्जिनबिनाको गाडी र इन्धनबिनाको इन्जिनको के अर्थ छ ? अझ सजिलो गरी भन्नुपर्दा पार्टी भनेको घर हो, संगठन भनेको परिवार र विचार भनेको जीवन पद्धतीको मूल बाटो हो । परिवारबिनाको घर र निदृष्ट जीवन पद्धतीबिनाको परिवारको पनि अर्थ हुँदैन ।

पार्टी चल्ने भनेको पैसाबाट होइन, संगठन बिचारबाट चल्ने हो । जब पैसाबाट चलाउन खोजिन्छ त्यसलाई पार्टी भनिन्न, पुँजी कम्पनी भनिन्छ । नेपालका राजनीतिक दलहरू समाज परिवर्तन तथा देश विकासमा संवाहक भन्दा पनि नितान्त नाफा कमाउन खोलिएका कुनै ठूला उद्योगजस्ता बनेका छन् । दल तथा दलका नेताहरूले चलअचल सम्पत्ति यत्ति धेरै जम्मा गरेका छन् कि त्यति सम्पत्ति कुनै ठूला उद्योगपतिहरूको पनि छैन । केही महिनाअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले बेलायतको लण्डनमा घर किनेको कुरा सामाजिक संजाल फेसबुकमा बडो गौरवका साथ राखेका थिए । पौडेल त उदाहरण मात्रै हुन्, नेपालका प्रायःजसो नेताहरूले युरोप अमेरिकमा सम्पत्ति थुपारिसकेका छन् । कुनै बेला भ्रष्टाचारको यथार्थ छानविन भयो भने सुरक्षित रूपमा भागेर जानका लागि धेरै नेताहरूले युरोप अमेरिकामा बन्दोबस्तसँग बस्ने व्यवस्था मिलाइसकेका छन् ।

नेताहरूले राजनीतिबाहेक अरू व्यापार व्यवसाय खासै गरेका छैनन् । गरेकै भए पनि हात्तीको देखाउने दाँत जसरी नै गरेका छन् । कार्यकर्तासँग लेबी उठाउने, राज्यबाट लाभ प्राप्त हुने पदहरू लिलाम बढाबढमा बिक्री गर्ने उद्योगमार्फत कुस्त पैसा जम्मा गर्ने र त्यो पैसा विदेशमा थुपार्ने सिलसिला जारी छ । त्यो सिलसिलाको पछिल्लो कडीअन्तर्गत राप्रपाले विक्रमबहादुर पाण्डे, ध्रुवबहादुर प्रधान लगायतलाई मन्त्री बनाएको छ भने रास्वपाले डोलप्रसाद अर्याल लगायतलाई मन्त्री बनाएको छ । यस अघिदेखि खाइखेली गर्दै आएका पार्टी तथा नेताहरूको त कुरै छाडौँ । एमालेद्वारा अर्थमन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाइनुभएका विष्णु पौडेलको कथा बालुवाटार जग्गा प्रकरणले छताछुल्ल बनाइसकेको छ ।

प्रतिक्रिया