सुर्खेत । समावेशीताको सवाललाई धज्जी उडाउँदै कर्णाली प्रदेशमा आज चार जना मन्त्रीको सपथ पद तथा गोपनीयता शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए । यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री मन्त्रीको शपथ लिए ।
यस्तै पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।
यो मन्त्री मण्डलमा दलित , महिला कुनै पनि सहभागी गराएको छैन । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् ।
उनले बुधबार नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् । यस्तै माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री जम्कट्टेल पनि माओवादीकै हुन् ।
यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।
प्रतिक्रिया