टाइगर कप भलिबल : गण्डकीमाथि एपिएफको जित

पोखरा । विभागीय नेपाल एपिएफ क्लबले तेस्रो टाइगर कप भलिबलमा घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा एपिएफले गण्डकीलाई ३–१ सेटमा पराजित गर्दै राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा एपिएपले पहिलो र दोस्रो सेट क्रमश २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको एपिएफले चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस जितसँगै शीर्षस्थानमा रहेको एपिएफको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित गण्डकीको २ खेलबाट ३ अंक छ । आर्मीको पनि २ खेलबाट ३ अंक छ । पुलिसको ३ खेलबाट २ अंक तथा श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबको २ खेलबाट १ अंक छ ।

टाइगर कपमा बुधबार महिलातर्फ न्यु डायमण्ड र गण्डकी तथा एपिएफ र आर्मीबीच खेल हुनेछ । पुरुषतर्फ आर्मी र गण्डकी तथा एपिएफ र सेन्ट जोसेफबीत खेल हुनेछ । सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको टोलीले चौथो स्थानको टोलीसँग तथा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ । विजेता फाइनलमा प्रवेश गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया