कांग्रेसले सम्झौता नमानेपछि एमालेसँग मिलेर सरकार बनायौँ : सांसद तामाङ

धादिङ । सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भए पनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाएका छन् ।

आइतबार धादिङको निलकण्ठ नगरपालिकामा भएको गोरु जुधाइ कार्यक्रममा बोल्दै सांसद उनले स्थानीय योजनालाई सफल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘हिजो संघीय सरकारले गर्ने गरेका ठूला–ठूला योजना पनि प्रदेश र स्थानीय तहमा पठाइने गरेको छ’, उनले भने, ‘एक अर्ब १५ करोड बराबरको फक्सेटार धादिङ बेसी सडक बनाउन संघीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने स्थानीयको मागलाई सम्बन्धित मन्त्री र सरकारसमक्ष लैजान पहल गर्ने प्रतिबद्धता जनाउँछु ।’

यसैबीच सांसद तामाङले चुनावका बेला भएको कांग्रेससँगको गठबन्धन कांग्रेसकै कारण तोड्नुपरेको बताउनुभएको छ ।’ चुनावअघि भएको सहमती अनुसार कांग्रेसले सरकार गठन गर्न नमानेपछि एमालेसँग मिलेर सरकार बनाउनुपरेको उनले बताए ।

‘हिजो कांग्रेससँग गठबन्धन गरेर चुनावमा भोट माग्न र जिताएर पठाउनुस् भन्यौँ, तर जितेर गइसकेपछि सरकार बनाउने क्रममा कांग्रेसले चुनाव अघिको सम्झौता नमान्ने खेल खेलेपछि एमालेसँग गठबन्धन गरेर सरकार बनायौँ’, तामाङले भने ।

उनले संसदमा सबै दलले विस्वासको मत दिएर सरकार गठन भएकाले केन्द्र अनुसारको सहकार्य स्थानीय स्तरसम्म कायम राखेर विकासका योजनालाई सरकारसमक्ष ल्याउन स्थानीयलाई आग्रह समेत गरे । धादिङको फ्याक्सेमा ८ वर्षदेखि हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाइ महोत्सव हुँदै आएको छ ।

यसवर्ष भएको महोत्सवमा ९ हल गोरु जुधाइएको थियो । कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्साल, मनराज भण्डारी, निलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया