मेक्स नेपालको करोडौं कारोबार अवैध

कमोडिटी बजारको नाममा ठगी

हालसम्मको अनुसन्धानमा उनीहरूले ६ वटा बैंकबाट ५ अर्ब रुपैयाँभन्दा बढीको अवैधानिक कारोबार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । काठमाडौं परिसरले सुरुमा सेयर मार्केटको तालिमको नाममा कमोडिटी बजारमा लगानी गर्न उक्साउने सुनिल श्रेष्ठलाई पक्राउ गरेको थियो

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) को सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट खुलेका तथ्यले नेपालमा कमोडिटी बजारको डरलाग्दो दृश्य देखाएको छ ।

लगानीकर्तालाई लोभ र भ्रममा पारी नयाँ प्रविधिको प्रयोग गरेर मेक्स नेपाल लगायतका संस्थाले सयौं नेपालीलाई ठगी गरेको उजुरीपछि मर्कन्टाइल एक्सचेन्ज नेपाल प्रालि (मेक्स नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) जितेश सुरेन्द्रसहित ४ जनालाई पक्राउ गरी सँगै संगठित अपराधमा अनुसन्धान अघि बढाएको छ ।

विगत २८ दिनदेखि थुनामा रहेका उनीहरूले ठगी गरेको भन्दै शुक्रबारसम्म ३३ जना प्रहरीको सम्पर्कमा आएका छन् । हालसम्मको अनुसन्धानमा उनीहरूले ६ वटा बैंकबाट ५ अर्ब रुपैयाँभन्दा बढीको अवैधानिक कारोबार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । काठमाडौं परिसरले सुरुमा सेयर मार्केटको तालिमको नाममा कमोडिटी बजारमा लगानी गर्न उक्साउने सुनिल श्रेष्ठलाई पक्राउ गरेको थियो । सुनिलले सेयर मार्केटको तालिम गराउने भनी रकम लिइ कमोडिटी मार्केटको मान्यता एवं इजाजतसमेत प्राप्त नगरी गैरकानुनी रुपमा ब्रोकर लाइसेन्स प्राप्त गरेको रहस्य खुल्यो ।

उनले मेक्स नेपालसँग कारोबार गर्ने गरेको र क्लिरिङको मुख्य भूमिका हिमालयन क्लियरिङ कर्पोरेट प्रालि (एचसिसी) ले गर्ने गरेको बयान प्रहरीलाई दिएका थिए । मेक्स नेपालका सेयर धनीहरु बालकृष्ण उपाध्याय, दीपेन्द्र खतिवडा, विवेक नेपाल र मेक्सका सिइओ जितेस सुरेन्द्र, एचसिसीका सेयर धनीहरु उर्मिला श्रेष्ठ र टेकराज भट्टसँगै एचसिसीका कर्मचारी राजेन्द्र तथा विधाता भन्नेको समेत संलग्नता रहेको कुरा सुनिलले बयानमा खुलाए ।

सुनिलकै बयानका आधारमा एचसिसीले ठूलो रकमको चलखेल गरेको आशंकामा उक्त संस्थाले व्यक्तिका नाममा खोलेका खाता हेर्दा फरक फरक व्यक्तिका नाममा पैसा जम्मा भएको भेटिएको छ । प्रहरीले अनुसन्धानका क्रममा एचसिसी, मेक्सलगायत कम्पनी र पक्राउ परेका व्यक्तिको नाममा जारी रहेका बैंक खाता, जग्गा जमिन, सवारीसाधन र सेयरलगायत सम्पूर्ण सम्पत्ति विवरण रोक्का राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।

परिसरले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, विगतमा लगानी गरेका पीडित तथा विज्ञहरूको सहयोगमा अनुसन्धान गर्दै थप प्रमाण जुटाइरहेको छ । हालसम्म प्रहरीले स्पेल इन्भेस्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनील श्रेष्ठ, उनकी पत्नी कञ्चन श्रेष्ठ, मेक्सका सिइओ जितेश सुरेन्द्र र सो कम्पनीका बजार व्यवस्थापक नरेन्द्र भट्टलाई पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरुका वस्तु विनिमय बजारसम्बन्धी कारोबार गर्ने सफ्टवेयर, कम्पनीको इमेलमा समेत एक्सेस नियन्त्रणमा लिएको छ । यस घटनाको अनुसन्धानमा परिसरमात्रै एक्लो छैन । नेपाल धितोपत्र बोेर्ड, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल राष्ट्र बैंकका दख्खल कर्मचारीहरु अनुसन्धानमा खटिएका छन् । अनुसन्धानमा संलग्न टोलीका अनुसार मेक्सले साइप्रसबाट सफ्टवेयर सञ्चालन गरेर अवैध कारोबार गरेको देखिन्छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार मेक्सले कमोडिटी कारोबार गरी आर्जन गरेको रकम फरक उद्देश्य एवं कारोबारबाट नाफा कमाएको भनी स्थायी लेखा नम्बरमा कारोबारको व्यहोरासमेत फरक उल्लेख गरेर सरकारी कार्यालयलाई गुमराहमा राखेर कर बुझाएको देखिन्छ ।

काठमाडौं परिसरमा हालसम्म ३३ जना पीडितले आफूहरुको ३ करोड रुपैयाँभन्दा बढी ठगी भएको उजुरी दिएका छन् । प्रहरीले सानो गौचरणमा छद्मभेषमा सञ्चालित इम्पेरियर फाइनान्सियल एकेडेमी र उक्त कार्यालयभित्र मेक्स नेपाल र हिमालय क्लियरिङ कर्पोरेट प्रालिमार्फत कारोबार गर्दै आएको अवस्थामा पाँच थान ल्यापटप, तीन थान सिपियु र मोबाइललगायत सामग्री बरामद गरेको छ । अनुसन्धान अधिकृतका अनुसार विभिन्न बैंकमा खोलिएका खाताको स्टेटमेन्टमात्रै तीन सय पेजभन्दा बढी छन् । तिनीहरुलाई केलाउँदा करिब पाँच अर्बभन्दा बढीको कारोबार भएको देखिन्छ ।

परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पक्राउ परेकामाथि बिस्तृत अनुसन्धान भइरहेको छ । उनले भने, ‘हामीले बैंकिङ कारोबार, सेयरलगायत हेर्ने विशेषज्ञ टोलीसँगै अनुसन्धान गरिरहेका छौं । कमोडिटी व्यापारको नाममा अदृश्य कारोबारको पाटो खुलाउँछौं ।’

के हो कमोडिटी कारोबार

सुन, चाँदी, तामा, तेल, ग्यास, क्रुड आयल लगायतका वस्तुको कारोबार हुने बजार वस्तु विनिमय बजार हो । यस्तो बजारमा बैना राखेर वस्तुहरु भविष्यमा डेलिभरी हुने गरी कारोबार गर्नसक्ने देखिन्छ । विश्वप्यापी रुपमा कमोडिटी मार्केट लामो समयदेखि सञ्चालनमा आए पनि नेपालमा भने सन् २००८ देखि सुरु भएको देखिन्छ । कमोडिटी बजार सञ्चालन गर्न एक्सचेन्ज क्लियरिङ हाउस, मार्केट मार्कस, ब्रोकर, सब–ब्रोकर, ट्रेडर्स लगायतको आवश्यकता पर्छ ।


नेपालमा कानुनी व्यवस्था नभएका कारण सेल्फ रेगुल्याटरी अर्गनाइजेसन (एसआरओ) माध्यमबाट बजार सञ्चालन हुँदै आएको देखिन्छ । सन् २०१७ पछि नेपालमा वस्तु विनिमय बजारसम्बन्धी ऐन २०७४, वस्तु विनिमय बजारसम्बन्धी नियमावली २०७४ र वस्तु विनिमय सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७८ आएपछि नीतिगत व्यवस्था आएको देखिन्छ ।

नीतिगत व्यवस्था निर्देशिका आएपछि भने सञ्चालनमा आएका एक्सचेन्ज, क्लियरिङ हाउस, मार्केट मार्केस, ब्रोकर, सब–ब्रोकर निस्क्रिय भएको देखिन्छ । उक्त कानुन अनुसार कमोडिटी व्यापारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले गर्दै आएको छ । तर, नीतिगत व्यवस्था आए पनि एक्सचेन्जको नाममा मेक्स नेपाल, क्लियरिङ हाउसको नाममा हिमालयन क्लियरिङ कर्पोरेट, तीनदेखि चार वटा मार्केट माकेर्स र २० देखि २१ वटा ब्रोकर कम्पनीहरु गैरकानुनी रुपमा कानुनको धज्जी उडाएर सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया