चुनौतीको घेरामा गृहमन्त्री

सुरक्षाफौजमा आशा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले सरकारमा पुगेको एक महिना नपुग्दै प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण गरिसके । उनले दुवै फौजको मुख्यालय निरीक्षणका क्रममा आशालाग्दो अभिव्यक्ति दिएका थिए । सुरक्षाकर्मीको समयानुकूल तलब वृद्धिलगायत सेवासुविधा, स्रोत साधन, प्रविधिमैत्री, सरुवा बढुवा पारदर्शिता र संगठनको सुदृढीकरणलगायत विषयमा आफूले सरकारमा रहुन्जेल नतिजामूखी काम गर्ने आश्वासन दिएका लामिछानेलाई सरकारमा काम गर्न त्यति सजिलो देखिँदैन ।


विगतमा सरकार जुन दलको नेतृत्वमा बन्थ्यो, उसकै पार्टीका नेता गृहमन्त्री बनाइथ्यो । गृह मन्त्रालयलाई ‘पावर सेन्टर’ का रूपमा प्रयोग गर्दै आएका विगतका सरकार र अहिलेको सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामिछानेलाई स्वतन्त्र ढंगले काम गर्न दिन्छन् वा हस्तक्षेपकारी निर्देशन दिन्छन्, दाहालका आगामी कार्यदिशाले बताउनेछ । लामिछानेको नागरिकता विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधिन छ । विचाराधिन मुद्दा हुँदाहुँदै उनले गृह मन्त्रालय रोजेर जानुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । उपप्रधान एवं गृहमन्त्रीको सपथ खाएपछि लामिछानेले आफूलाई संविधान र कानुनी परिधिभित्र रहेर स्वतन्त्र ढंगले काम गर्न दिने सर्तमा मात्रै सरकारमा आएको जिकिर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता र राहदानी विभागबाट जारी हुने राहदानीलाई सजिलो ढंगले छिट्टै सर्वसाधारणलाई वितरण गर्न निर्देशन दिएपछि लामिछानेले आफू ‘एक्सन’ मा गएको सन्देश दिएका थिए । तर, त्यसलाई कतिपयले ‘स्टनबाजी’ को रूपमा बुझे ।

सरकार बाहिर रहँदा ‘संघीयता राज्यलाई अनावश्यक भार होे’ भन्ने अभिव्यक्ति दिएका गृहमन्त्री लामिछानेको कार्यभारमा संघीय प्रहरी ऐन जारी गर्नुपर्नेछ । प्रदेश ऐन ल्याएको प्रदेशहरूले आफैँ प्रहरी भर्ना गर्न पाउनुपर्छ भनेपछि उक्त मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । प्रदेश संरचना खारेज वा परिमार्जनको एजेन्डा बोकेर सरकारमा गएका लामिछानेले त्यसलाई कसरी बुझ्छन्, त्यो आगमी कार्यदिशाले निक्र्यौल गर्नेछ ।

सपथ खाएलगत्तै लामिछानेले ०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिने निर्णय गरे । उनले प्रहरी मुख्यालयलाई निर्देशन दिँदै एउटा टोली कञ्चनपुर पठाउन भने । डिआइजी दुर्गा सिंहको नेतृत्वमा अहिले एउटा अनुसन्धान टोली कञ्चनपुर पुगेर पुराना फाइलको अध्ययन तथा विश्लेषण गरिरहेको छ । तर, पहिलो वाचामै लामिछाने सफल भएनन् भने उनीमाथि यो प्रश्न बारम्बार तेर्सिरहनेछ ।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘गृहमन्त्रीज्यूले गरेका वाचाअनुसार काम भयो भने संगठन सुदृढीकरण र नीति निर्माण तहमा एउटा मियो सावित हुनेछ । तर, व्यवहारमा कति लागू हुन्छ त्यो हेर्न बाँकी छ ।’

गलत निर्देशन नमान्ने आँट हुनुपर्छ : बमबहादुर भण्डारी – पूर्व एआइजी, नेपाल प्रहरी

लामो समयपछि गृह प्रशासन हाँक्ने नेतृत्वमा स्वतन्त्र व्यक्ति रबि लामिछाने आएका छन् । गृह मन्त्रालय आन्तरिक सुरक्षाको मेरुदण्ड हो । अहिले गृहमन्त्रीले हाट्टहुट्टभन्दा पनि नीति र थिति बसाउने काम गर्नुपर्छ । कानुनी राज्यको स्थापना गर्न उहाँले रणनीतिक योजना र कार्यनिति बनाउनुपर्छ । बनाएका रणनीतिक र कार्यनीतिलाई स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले कार्यान्वयनमा लैजानुपर्छ । गृह मन्त्रालयको जिम्मेवारी धेरै छन् । प्रत्यक्ष सर्वसाधारणले अनुभूत गर्ने शान्ति सुरक्षा मुख्य जिम्मेवारी भए पनि अन्य कामहरू छन् । सामान्य नागरिकले पनि अनुभूत गर्ने काम गर्नुपर्यो । सेवा प्रवाह र कानुन कार्यान्वयलाई ठूलो र सानो, मेरो र तेरो नभनी कार्यान्वयन गर्न सकियो भने त्यो ठूलो काम हुन्छ ।

बमबहादुर भण्डारी – पूर्व एआइजी, नेपाल प्रहरी

सरुवा, बढुवा, निर्देशनसँगै दण्ड र पुरस्कारका कुराहरूमा संगठन भित्र ‘आन्तरिक न्याय’ दिने काममा गृहमन्त्री चुक्नु हुँदैन । पहुँच र शक्तिकेन्द्रबाट भएका गलत निर्देशन वा आदेशलाई उहाँले रोक्नसक्नुपर्छ वा ‘म गलत निर्देशन मान्दिनँ’ भन्न सक्नुपर्छ । काम गरेर पनि सरुवा बढुवामा पछि परेका व्यावसायिक सुरक्षाकर्मीलाई ‘राइटम्यान राइट प्लेस’ को अवधारणा अनुसार खटनपटन गर्न सक्नुपर्छ । चाकडीमा लाग्नेलाई बढुवा र राम्रो ठाउँमा सरुवा गर्दिन भने पनि व्यवहारमा कार्यान्वयन गर्नु गृहमन्त्रीको ठूलो चुनौती छ । सबै मन्त्रालयको कोअर्डिनेटर प्रधानमन्त्रीले गर्ने भएकाले गृहमन्त्रीले समन्वयकारी भूमिकामा काम गर्नुपर्ने हुन्छ । सबै मन्त्रालयसँग गृह पनि जोडिने भएकाले लामिछानेलाई अन्य दलबाट पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब आउन सक्छ । तर, कानुनको परिधिभित्र रहेर मात्रै निर्देशनलाई मान्ने हो भने केही फरक पर्दैन । सत्तामा टिकिराख्न गलत आदेशलाई कार्यान्वयन गर्नतिर लागे उहाँ र अरूमा केही फरक पर्दैन ।

नेतृत्वमा नियत सफा र निःस्वार्थ हुनुपर्छ : गोविन्द कुसुम – पूर्व गृहसचिव

गृह मन्त्रालयको नेतृत्वमा जो गए पनि नियत सफा भयो भने काम गर्न सकिन्छ । बरु एक दिन पनि बस्छु वा बस्दिनँ तर, सफा नियतले काम गर्छु भन्ने सोच गृहमन्त्रीमा हुनुपर्छ । समग्र मुलुकको आन्तरिक सुरक्षामा असर पार्ने काम गर्नुभएन । आफू शुद्ध हुनुपर्छ । गृह मन्त्रालयलाई चलाउने भने प्रहरी र प्रशासनले हो । यी दुईको मनोबल बढाउने काम गर्नुपर्छ । सरुवा, बढुवामा हस्तक्षेप नगरी सुरक्षा निकायका नेतृत्वलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ । प्रहरी नियमावलीमा भएका विषयलाई ऐनमा समेट्नुपर्छ ।

गोविन्द कुसुम – पूर्व गृहसचिव

दुवै सुरक्षा नेतृत्वलाई ‘तिमी प्रहरीको सरुवा बढुवा गर्न स्वतन्त्र छौँ तर, त्यसमा स्वार्थ देखियो वा उसले राम्रो रिजल्ट दिन सकेन भने त्यसको जफावदेही तिमी आफैँ हुनुपर्छ’ भनेर गृहमन्त्रीले भन्नसक्नुपर्छ । र व्यवहारमा पनि कार्यान्वयन गर्न सक्नुपर्छ । प्रहरी ऐन र नियमावलीमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने काम प्रहरी र सशस्त्र प्रहरी नेतृत्वलाई दिनुपर्छ । तर, विगतमा जस्तो हरेक तहको सरुवा वा बढुवामा गृहमन्त्रीले हस्तक्षेप गर्ने परिपाटी दोहोरियो भने त्यसले संगठनमा दीर्घकालीन असर गर्छ ।

गृह मन्त्रालयमा नयाँ व्यक्ति ल्याएर सिडियो बनाउने वा प्रहरी अधिकृत बढुवा हुनेबित्तिकै जिल्लाको इन्चार्ज दिने परिपाटीलाई गृह नेतृत्वले रोक्नुपर्छ । पहिला अनुभवी बनाउनुपर्छ अनि मात्रै पोस्टिङ दिनुपर्छ । प्रहरीलाई निरन्तर अपराध अनुसन्धानमा लगाउनुपर्छ । अहिले प्रहरीमा अनुसन्धान अधिकृत धेरै कम छन् । प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्छ । यति गरेमा गृहमन्त्रीलाई काम गर्न चुनौती थपिँदैन । प्रहरीको दुरुपयोग रोक्नुपर्छ ।

प्रतिक्रिया