रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारी साधन आयात

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले ३ सय ५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो ।

यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार १ सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् ।
सवारी साधनको साथसाथै चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री ६ सय ३९, हाइड्रोका सामग्री ३ सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट १७, टेलिफोनका सामग्री सात, नस्पाती ११ टिपका साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् ।

ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग २ हजार ५ सय टिपभन्दा बढी रहेको बताइएको छ । कोभिड संक्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि माल सामग्री भने चिनियाँ ठूला टिफरद्वारा चिनियाँ सवारी चालकबाटै नेपाल भित्र्याई सहयोग हँुदै आएको छ ।

प्रत्येक दिन बिहान र दिउँसो दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुल्ला गरी रोग रोकथामका लागि औषधि छ्याप्ने चलन बसालिएको छ । केरुङबाट चिनियाँ माल सामग्री रसुवागढीमा ल्याउँदा जतिपटक माल सामग्री आउँछ उत्तिनैपटक रोग निर्मलीकरणसम्बन्धी औषधि छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मंसिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्यांकनबाट २ अर्ब ९० करोड भन्सार शुल्क बापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ ।

यसैगरी यही मंसिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने १ करोड ३१ लाख बराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । १० दिनको अन्तरालमा ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो । निकासी सामग्रीहरूमा बस्नका लागि बाँसका मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामग्री रहेको बताइएको छ । कोभिड संक्रमणको समस्यालाई गम्भीरतापूर्वक मनन गरी नेपाली भूभागको क्वारेन्टिनमा बसेका कामदारबाट आयात निर्यातका सामग्री एक आपसी पल्टी गर्ने व्यवस्था मिलाइएको छ ।

रसुवागढीबाट टिमुरेको भन्सार हातासम्म मालवाहक कन्टेनर डिब्बा ल्याउनका लागि १७ जना सवारी चालक र सामान पल्टीका लागि ३५ जना मजदुर क्वारेन्टिनमा रहँदै आएको सीमा सुरक्षाकर्मीले बताएका छन् । रोग निर्मलीकरणका लागि रसुवागढीमा औषधि छर्कन सुरु गरिएको जनाइएको छ । रसुवागढीदेखि भन्सार हाता टिमुरेसम्म दैनिक करिब तीन सय जना मजदुरले रोजगारी पाएका छन् ।

प्रतिक्रिया