हस्तकलाको विकास र विस्तार आवश्यक : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र विस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रवार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९औँ हस्तकला व्यापार मेलामा बोल्दै उनले हस्तकलाको क्षेत्रमा देखिएका समस्या समाधान गरी हस्तकलाको विकास र विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपाली बेरोजगार युवाहरूलाई हस्तकलाको सीप सिकाएर नेपालमा नै व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले युवाहरूलाई नेपालमा नै हस्तकलाको व्यवसाय गर्ने वातावरण बनाउँदा रोजगारी मात्रै नभएर अबौंँ रुपैयाँको विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताए । उनले हस्तकलाका सामग्री विदेशमा निर्यात हुँदा मुलुकको व्यापार घाटा न्यूनीकरण गर्नको लागि हस्तकला क्षेत्रले ठूलो योगदान गरिरहेको बताए । उनले ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिन आवश्यक रहेको बताए ।

‘ग्रामिण क्षेत्रका युवालाई हस्तकला सीप सिकाएर हस्तकलाका वस्तु उत्पादनमा वृद्धि गर्नेतिर ध्यान दिनुपर्छ । विभिन्न जातजाति विशेषका हस्तकलाहरूको सीप प्रवद्र्धन गर्न जरुरी छ । हस्तकलाको विकास र विस्तार गर्न तथा हस्तकला क्षेत्रका समस्या समाधान गर्नको लागि काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु’, मन्त्री श्रेष्ठले भने, ‘नेपाली हस्तकलासम्बन्धी व्यापार मेला क्यालेण्डरमा राखेर नेपालमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्नसक्ने हो भने पर्यटनलाई समेत प्रबद्र्धन गर्नसक्छ । त्यसको लागि नेपाल पर्यटन बोर्डले वार्षिक रूपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला मेला आयोजनाका लागि सहकार्य गर्न आग्रह गर्दछु ।’

मन्त्री श्रेष्ठले नेपाली क्यालेण्डरमा राखेर वर्षमा एक पटक अन्तर्राष्ट्रियस्तरको हस्तकलासम्बन्धी व्यापार मेला आयोजना गर्नसके पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले नेपाल पर्यटन बोर्डलाई वार्षिक रूपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला मेला आयोजनाका लागि महासंघसँग सहकार्य गर्न आग्रह गरे ।

प्रतिक्रिया