सुदूरपश्चिम महोत्सवको तयारी पूरा

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यही २२ मंसिरदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पूरा भएको जनाएको हो । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना गर्न लागिएको महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ । महोत्सवमा चार सय जतिको स्टलहरूको सहभागिता रहने तथा महोत्सवलाई करिब पाँच लाख व्यक्तिहरूले अवलोकन गर्ने आयोजकले जनाएको छ ।


कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवबाट सुदूरपश्चिमको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सिर्जित आर्थिक, सामाजिक प्रतिकूलता र विषम परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई आशावादी बनाई पुनःस्थापित गर्न महोत्सव उपलव्धिमूलक हुने बताए ।


महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दूधजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।


यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरूलाई स्टेजमा प्राथमिकता दिइने जनाइएको छ । महोत्सव अनुमानित दुई करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने र महोत्सवबाट उद्योगी व्यवसायको पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए ।


महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यावसायिक रूपमा सफलता प्राप्त गरी जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुने उनले बताए ।


महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर राखिएको छ भने सर्वसाधारणलाई सय रुपैयाँ र फरक क्षमता र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिने जनाइएको छ । महोत्सव २ पुससम्म सञ्चालन हुनेछ । ०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको सुदूरपश्चिम महोत्सवको यो १६ औँ संस्करण हो ।

प्रतिक्रिया