मेलम्चीबारे जनप्रतिनिधिको चासो

प्रधानमन्त्री समिति ब्युँताउन सकारात्मक

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै नेपाली कांग्रेसका नेताहरूले मेलम्ची खानेपानीको विषयमा चासो व्यक्त गर्न थालेका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि प्रकाशमान सिंह मेलम्ची खानेपानी आयोजनाको कामको बारेमा जानकारी लिन स्थलगत भ्रमणमै गएका थिए ।

काठमाडौंबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरूले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेलम्ची खानेपानी आयोजनामा सरकारले गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण पनि गराएका छन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्रीले जनप्रतिनिधिहरूलाई आश्वासन दिँदै भनेका छन्, ‘मेलम्ची खानेपानी विकास समिति आवश्यक छ भने त्यसलाई ब्युँताउन कुनै आपत्ति छैन । विकास समिति किन खारेज भयो त्यस विषयमा पनि बुझ्नुपर्ने हुन्छ । नयाँ बनाउनुपर्ने भए त्यस विषयमा पनि छलफल गरौँला ।’
सरकारले गत जेठ १५ गते ल्याएको बजेटमार्फत मेलम्ची खानेपानी आयोजना विकास समिति खारेजीको घोषणा गरेको थियो । उक्त समितिको काम खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत अगाडि बढाउने घोषणा सरकारले गरेको थियो ।

तर, हालसम्म सरकारले समिति खारेजको औपचारिक निर्णय भने गरेको छैन । समितिको कामलाई खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि सारेको छैन । त्यसैले यतिबेला मेलम्ची खानेपानी आयोजना विकास समिति अधिकारविहीन छ भने कर्मचारीहरूले दुई महिनादेखि तलबसमेत पाएका छैनन् ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउन प्रकाशमान सिंह पनि गएका थिए । यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदीप पौडेल, प्रदेशसभा सदस्यहरू सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, छिरिङ दोर्जे लामा र हरिप्रभा खड्गी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरू पनि ध्यानाकर्षणपत्र बुझाउन बालुवाटार पुगेका थिए ।
काग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेको थियो । नेता सिंहले मेलम्ची आयोजनाको मुहान क्षेत्रमा देखिएका समस्या समाधान गर्न र काठमाडौंवासीले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

हालसम्म ६५ अर्ब रुपैयाँभन्दा बढी राज्यको लगानी भइसकेको र काठमाडौंलाई खानेपानी उपलब्ध गराउने प्रमुख विकल्प रहेको आयोजना सञ्चालनका लागि छुट्टै प्रभावकारी संयन्त्र चाहिने सुझाव पनि नेता सिंहले दिएका छन् ।

यसैगरी नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का सांसद पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन प्रधानमन्त्रीसँग माग गरे । उनले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको बताए । उनले १२ महिना नै मेलम्चीको पानी काठमाडौंमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने माग गरे ।

‘केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायीरूपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँ,’ जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ध्यानाकर्षणपत्रमा मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुंगोमा पुग्नुपर्ने, सिएमसीले राखेका माग कानुनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गराउन आवश्यक निर्णय लिनुपर्ने र कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

यसैगरी दीर्घकालीन रूपमा गर्नुपर्ने कामको विषयमा पनि ध्यानाकर्षणपत्रमा चार वटा बुँदा समावेश गरिएको छ । बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरी पेस गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडि बढाउनुपर्ने, अहिले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए÷नभएको प्राविधिकबाट अध्ययन गरी असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुपर्ने, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने तथा मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट ०७७ साल फागुनमा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो । काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै निरन्तर वितरण गर्नसक्ने अवस्था छैन । यसअघि ०७८ साल असार १ गते आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठुलो असर पुगेको थियो । भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था रहेको बताइएको छ ।

सुन्दरीजल पुग्यो मेलम्चीको पानी

मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो । अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किलोमिटर सुरूङ छ । अम्बाथानबाट पठाएको आठ दिनमा पानी सुन्दरीजल आइपुगेको हो ।

पूर्वनिर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी कार्यकारी निर्देशक कमलराज श्रेष्ठले दिए । दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिनासम्म खानेपानी आपूर्ति हुने बताइएको छ । बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको उनले बताए ।
पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ । ०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो ।

गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौंमा पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको ढोका बन्द गरेर पानी पठाउन रोकिएको थियो । पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

प्रतिक्रिया