खोलामा सुदूरपश्चिम प्रदेश सरकारका पाँच योजना

खोलाको नाम फेरेर लाखौँ रकम दुरुपयोग

बझाङ । स्थानीयहरूले औलिगाड भनेर चिन्ने एउटै खोला (गाड) को नामाकरण सुदूरपश्चिम प्रदेश सरकारको बजेट सिलिङमा पाँच किसिमले नामकरण गरेको पाइएको छ । फरकफरक नाम राखेर उक्त खहरे खोलामा तटबन्धनका नाममा लाखौँका योजनाहरूमा रकम विनियोजन गरेको पाइएको छ । जिल्लाको सदरमुकाम चैनपुर नजिकै जोडिएको जयपृथ्वी नगरपालिका–७ अन्तर्गत पर्ने औलिगाडमा सुदूरपश्चिम प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजनामा रकम विनियोजन गरेको पाएको हो । औलिगाड सो वडाको खानी पहिरादेखि कचाली खोलामा मिसिने खहरे खोलाको लम्बाइ करिब एक किलोमिटर जति छ । तर, सुदूरपश्चिम प्रदेश सरकारको आार्थिक वर्ष ०७९÷८० को बजेटमा बाख्रा खानीपहिरा, औलिगाड तटबन्धन, कालाढुंगा तटबन्धन, खानीपहिरो औलिगाड तटबन्धन, बोर्या खानीपहिरो औलिगाड तटबन्धन र सेती नदी सेटेडी तटबन्धन शीर्षक राखेर बजेट विनियोजन गरेको पाइएको हो ।

प्रदेश सरकारबाट उक्त खहरे खोलामा बजेट आए पनि कार्यान्वयन गर्ने जलस्रोत तथा सिँचाइ विकास कार्यालय सिमखेत भने साइड अनुगमन गरेर मात्र योजना कार्यान्वयन गर्ने पक्षमा छ । तर, अहिलेसम्म कोही पनि योजना सम्झौता गर्न भने नआएको प्रमुख नवराज जोशीले बताए ।
बाख्रा खानीपहिरा औलिगाड तटबन्धनमा २० लाख, कालाढुंगा तटबन्धनमा १५ लाख, खानीपहिरो औलीगाड तटबन्धनमा २५ लाख, बोर्या खानीपहिरो औलिगाड तटबन्धनमा १५ लाख र सेती नदी सेटेडी तटबन्धनमा १० लाख बजेट छ । स्थानीय तहले उपभोक्ता समिति गठन गराएर योजना कार्यान्वयन गर्ने प्रचलन छ । योजनाको नाम अनेक अनेक आएको भए पनि सोही खोलामा नै योजना कार्यान्वयन गर्ने वडाध्यक्ष शिवराज जोशीले जानकारी दिएका छन् ।

अध्यक्ष जोशीले भने, ‘प्रदेश सरकारबाट रकम खर्चेर योजना हालेका हुन्छन् त्यसैले पनि उनीहरूले चाहकै अनुसारको उपभोक्ता समिति गठन गरिदिनुपर्ने बाध्यता छ ।’ प्रदेश सरकारबाट बिचौलियामार्फत योजना हालेका हुन्छन् उपभोक्ताहरूलाई न बजेट आएको जानकारी हुन्छ न सार्वजनिक रूपमा उपभोक्ताहरूको भेला भएर समिति गठन भएको हुन्छ उपभोक्ता जानकार नभएको स्थानीय सीताराम रतालाले बताए । त्यस्तै अर्का स्थानीय प्रयागराज जोशी पनि योजनासँग जानकार नभएको तर खोलाले आफ्नो खेतबारी भने वर्षैपिच्छे कटान भने गर्ने गरेको र नाम नै खानीपहिरो छ, खोलाले कटान गरेर ठूलो पहिरो नै बनेको छ । तर त्यहाँ तटबन्धन गर्नका लागि ढुंगा पर्याप्त नभएकोले अघिल्ला वर्षहरूका योजना अर्कै खोलामा तटबन्धन गरेको पाइने गरेको बताए ।

कालाढुङा तारामण्डल सामुदायिक बनसँग जोडिएको क्षेत्र हो जहाँ खोला पनि छैन पहिरो पनि छैन । त्यहाँ तटबन्धन गर्नका लागि उपयुक्त छैन तर पहँुचका आधारमा रकम आएको छ । अब सो रकमले कुन खोलामा तटबन्धन गर्ने हुन कालाढुङा जमिन भएका उपभोक्ता गोरखराज जोशीले बताए । जोशीले विगतका वर्षहरूमा खोलाको नाम नै फरक राखेर योजना हालेर रकम दुरुपयोग गर्ने गरेको छ प्रदेश सरकारबाट योजना हालेर ल्याएका हुन्छन्, उता रकम (निश्चित प्रतिशत) लेनदेन गर्न सक्ने मान्छेहरूले आफू अनुकूल समिति चयन गर्ने गरेको बताए । प्रचलित खोलाको नाम राखेर योजना हाल्दा आमउपभोक्ताहरू चासो राख्न सक्ने भएकाले व्यक्तिले आफू अनुकूलको नाम राखेर रकमको दुरुपयोग गर्ने गरेको स्थानीय उपभोक्ताहरू बताउँछन् ।

योजनाको नाम नै हजारौँ हुने भएकाले कुन ठाउँ के भएको छ सबैकुरो आफूलाई थाहा नहुने भौतिक पूर्वाधार विकास मन्त्रालय धनगढीका प्रदेश सचिव तुल्सिराम भट्टराई बताउँछन् । जुन खोलामा ढुंगा छ त्यहा तटबन्धनको नाममा योजनाको रकम दुरुपयोग गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया