स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्छ : श्रम मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आइतबार नेपाल एफएम नेटवर्कको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन् ।

उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरूको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरू खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरूमा काम गर्ने नेपाली मजदुरहरुभन्दा विदेशीहरु बढिरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए ।

उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताए । उनले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरूका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकहरूको नियमन गर्न नसकेको बताए । उनले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरू विदेश गएको बताए । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताए ।

उनले भने– ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरूको आकर्षण पनि छैन । मजदुरहरूको अवस्था हेर्दा विदेशी धेरै छन् । नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरूमा काम गर्ने । हामी खाडीमा गइरहेका छौं । हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजदुर छैनन् । केही पैसा आउने ठाउँमा हाम्रा मजदुरहरू छैनन् । गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ, नेपाली श्रमिकहरू छैनन् । हाम्रा श्रमिकहरुलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने ? यस बारेमा सोच्नुपर्छ ।’

उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको बताए । ‘भिजिट र लुकेर गएकाको संख्या कति हो एकिन छैन । हामी भिजिट भिसा नलिनुस् भन्दैछौँ, नेपालको श्रम ऐनले भिजिट भिसा लिएर गएकाहरूलाई केही पनि सुविधा दिँदैन । श्रम स्वीकृति लिएकोलाई मात्रै बीमाको सुविधा छ, अरु अरु सुविधा छ । यो कुरालाई सञ्चारमाध्यमले ल्याउनुपर्छ । यस्ता कुराको नियन्त्रण गिरोहले गर्ने हो । अध्यागमनले हो, त्यो भइरहेको छैन । त्यसैले कहाँ कहाँ कमजोरी भएका छन्, कहाँ समस्या छन्, सञ्चारमाध्यम त्यहाँ पुग्नुपर्छ । भिजिट भिसाबाट जानेहरूको नियन्त्रण गर्न नै गाह्रो छ । श्रमसँग मिडिया जोडिनु आवश्यक छ । ३ वर्षको डेटा लिने हो भने ४६ लाख नेपाली नागरिकहरु विदेशमा जानुभएको छ । परिवारका सदस्यको त हिसाब नै छैन । झन्डै नेपालको आधा जनसंख्या विदेशी श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’

मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गरे । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया