सकेसम्म आफ्नै नेतृत्वमा सरकार

मओवादी केन्द्र बैठक

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने निष्कर्ष निकालेको छ । यसका लागि विभिन्न विकल्पहरू खुला रहेको उसले स्पष्ट पारेको छ । सत्तारूढ गठबन्धनभित्र प्रधानमन्त्रीका लागि दबाब बढाउन पनि सरकार गठनका सबै विकल्पमा छलफल गर्नुपर्ने मत नेताहरूले राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सत्तारुढ गठबन्धन नतोडी प्रधानमन्त्री पाए झन राम्रो नपाए अन्य विकल्पमा पनि प्रयास गर्नु पर्ने मत आएको एक नेताले बताए । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रस्ट्याएको हो । सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समिक्षा गरियो । अपेक्षा गरीए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । दोस्रो, बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।’

बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताएका थिए । बैठकमा उनले भने– ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक नतिजा आयो । हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’

प्रतिक्रिया