म र हामी ठीक, बाँकी सबै बेठिक

आज पनि दुई घण्टा लगाएर स्वदेशी तथा विदेशी संस्थाबाट पस्किएका समाचार हेरेँ । अन्त अरूका कुरा गर्नु र सपनामा सुपारी चपाउनु उस्तै हुँदो रहेछ । कुनै समाचार पढ्दा रिस उठ्छ, कुनै पढ्दा डाह लाग्छ । कुनैले अचम्मित बनाउँछ कुनैले दिगमिग पार्दछ, उल्टी आउला जस्तै हुन्छ । देशभित्र खुम्चने प्रयास गरेँ । उही मूलाको सिन्की उही मूलाको चाना मेरो उमेर पचपन्न नाघिसक्यो, मैले नेपालीको सोचमा फरक आएको पाएको छैन । लेख्ने र पढ्ने सबैको एउटै किसिमले भित्तामा दिमाग पोतिएको देखिन्छ ‘म र हामी ठीक बाँकी सबै बेठिक’ ।


लागुऔषधिका दुव्र्यसनीजस्ता भनौँ वा औषधिका भरमा जीवित भएका जस्ता भनौँ वा नसाले लठ्ठ भएका जस्ता भनौँ, के भनौँ भनौँ, सबै आआफ्नै धुनमा मस्त छन् । परिवर्तन र संक्रमणकालका नाममा हामीले आधा शताब्धी खेर फालिसक्यौँ । अझै हामीमा चेत आएको देखिन्न । हरेक प्रमुख राजनीतिक संगठन र तिनका प्रमुख व्यक्तित्वहरू स्खलित भएका छन् । तिनमा एउटा राजनीतिज्ञमा हुनुपर्ने अलिकति पनि गुण देखिन्न, ती ब्याट्री सकिन लागेको रेडियोजस्ता देखिन्छन् । न बोलीको ठेगान छ न शरीरको, लरबरिँदै बोल्छन्, लरबरिँदै हिँड्छन् । मात लाग्न नशालु पदार्थ नै खानुपर्दछ भन्ने नहुँदो रहेछ, अरू थोकले पनि नशा लाग्दो रहेछ । कोही कसैलाई घर भत्केको वा भत्काइएकोमा पछुतो छैन । नयाँ घरका लागि जग खन्न कोही तयार देखिँदैनन्, धुरी मार्ने तयारी भने अचम्मसँग गरिरहेका छन् । कोही चोया, कोही डाँडा र कोही भाँटा बटुलिरहेका छन् त कोही खर जम्मा गरिरहेका छन् । कस्तो घर बनाउन लागिएको हो थाहा छैन, सब हावामा कुदिरहेका छन् ।

हरेक विगत दयनीय भयो, जनता आजित भए, विकल्प खोजे खोज्दै आए, सबैलाई सम्हालेर र मिलाएर लैजान सक्ने शक्तिको कल्पना गरे । विचरा जनता, कहिल्यै तिनको चाहना पूरा भएन, जो जो आए निषेधकै राजनीति लिएर आए, जनताको इच्छालाई माटोमा मिलाए । कार्यकारी प्रमुखलाई आफ्ना आलोचकलाई ओठे जवाफ दिँदैमा फुर्सद छैन । स्वदेशी विदेशी कुन औषधिको प्रभाव हो भगवान् जानुन् । ‘बच्चा जन्माउनु नै सबैभन्दा ठूलो योगदान हो’ भनेर बाउआमाले सोचे भने परिवार पनि राम्ररी चल्दैन भनिन्छ, तर यति सामान्य कुरा पनि नेपालको राजनीतिले कहिल्यै स्वीकारेन । परिवर्तनका लागि गरिएका त्याग र तपस्याको मूल्य खोजेर अघि बढ्ने राजनीति देशको हितमा समर्पित नहुँदो रहेछ । पृथ्वी नारायण शाहदेखि सुशील कोइरालासम्म निषेधको राजनीति टिक्दैन भन्ने कुराका प्रमाण थिए, तर पनि निषेधको राजनीतिको अन्त भएन । यति घोचेर भन्न मन थिएन तर अब भन्नै पर्ने भएको छ कि ‘कलुषित विगत भएका र त्यही शारीरिक एवं मानसिक रोगले ग्रस्त रोगीहरूले चलाएको देश कहिल्यै उँभो लाग्दैन’ । चाहे ती राजावादी हुन् वा प्रजातन्त्रवादी वा साम्यवादी नै किन नहुन् ।

सिद्धान्त आफैँमा कुनै पनि खराब हुँदैन, सिद्धान्त चलाउनेको नियतको शुद्धताका आधारमा सिद्धान्तहरू असल र खराब बन्ने र देखिने गर्दछन् । यो मामिलामा राजतन्त्रदेखि गणतन्त्रसम्मका विशेष भूमिकामा रहने सबै व्यक्ति खराब छन् । तिनले जे को लागि बैना लिए वा लिइरहेका छन् त्यो काम नबनुञ्जेल ती राजनीतिबाट हट्ने छैनन् । भोलि कट्टर साम्यवाद वा सैनिक शासन आए पनि यी बैना लिनेहरू नै त्यतिखेर पनि नेतृत्व तहमा देखिने छन् । नपत्याउन सक्नुहुन्छ, । यो देशमा परिवर्तनका लागि भनेर हामीलाई लडाइयो, भिडाइयो । हामी लड्यौँ, भिड्यौँ । तर ती परिवर्तन नेपाल र नेपालीका लागि गरिएकै थिएनन् । जुन देशमा सरकारलाई साधारण खर्च चलाउन धौ धौ छ, त्यो देशमा यतिविघ्न गोप्य धन कहाँबाट, कसरी ओइरिरहेको छ र किन ? यो सबै हाम्रो अन्धभक्तिको परिणाम हो । आफ्नाको गुदद्वार बास्ना आउने र विरोधीको मुख गनाउने गरी हामीले सिकेको राजनीतिक संस्कारको प्रतिफल हो

परिवर्तनहरू चर्पीजस्ता भए । पहिला खुला आकाशमुनि दिशापिसाब हुन्थ्यो, गरिन्थ्यो । अहिले घरभित्रै सुत्ने कोठासँगै टाँसेर चर्पी बनाइन्छन् । तर जतिसुकै विकास भएपनि चर्पीले भान्छाको काम नदिँदो रहेछ, दिनसक्ने बनाउन मनले नमान्दो रहेछ । राजतन्त्र र हिन्दूवादीहरू अति उग्ररुपमा प्रस्तुत भइरहेका देखिन्छन् । धर्मबाट च्यूत राजा र पथभ्रष्ट एवं मतिभ्रष्ट हिन्दूहरू बढेकै कारण राजतन्त्र र हिन्दू राष्ट्रको अस्तित्व सकिएको हो भन्ने सत्य कुरा ती स्वीकार्न तयार देखिँदैनन् । विदेशी पूरा खान थालेकै कारण पञ्चायत ढलेको थियो भन्ने कुरा पञ्चहरू अझै पनि स्वीकार्न तयार छैनन् । ती राजतन्त्रको वकालत त गर्दछन् तर आफैँ राजा भएको जसरी उधूम मचाउँछन् । उता कांग्रेस विचरा, विदेशीको बुईं चढ्यो चढ्यो, हिँड्ने बानी हरायो, निर्जन जंगलमा लगेर विदेशीले फालिदिए, अहिले इन्तु न चिन्तु भएर एक्लै बरबराइरहेछ । साथमा न गतिला सर्वमान्य नेता छन् न भरपर्दा जनता र कार्यकर्ता, न गन्तव्य छ न दिशा । सत्तामा बस्नेको छिद्रान्वेष गरेर आत्मरतिमा रमाउनुबाहेक उसको अरू कुनै दैनिकी देखिन्न । सत्तामा बस्नेहरू सडक राजनीतिबाट सत्ता चलाउन पुगेका अनुभवहीन जमात जस्ता देखिएका छन् । न बोलीको ठेगान छ, न नीतिमा स्थिरता छ । अघिल्लो दिन गर्धन फुलाएर बोल्छन् र भोलिपल्ट बुहारी झार खुम्चे जसरी खुम्चिन्छन् । अनि दोष जति सबै लगेर विगतलाई थोपार्दछन् । सबैको साथ लिउँ, सबैको हामी अभिभावक हौँ भन्ने भावना कम से कम अघिल्ला दुई पुस्तामा अब पलाउने लक्षण देखिन्न । अब तेस्रो पुस्ताले यथार्थपरक राजनीति गर्ला, आश गरौँ ।

को छ चोखो यहाँ ? कोही छैन । नमिता सुमिता, नैना र निर्मला हाम्रा यी तीन राजनीतिक चरित्रका प्रतिविम्व हुन् । प्रतिशोध र विरोधको संस्कारमा हुर्केको राजनीतिले देशलाई विकासको बाटोमा एकोहो¥यान सक्दैन । त्यो संस्कार नसिकेकाको हातमा राजनीति जानु पर्दथ्यो तर जान दिइएन ।

राजनीति नालीमा डुबिरहेछ । अहिले जो उग्र विरोधी भएर विगतमा प्रतिपक्षमा बस्दथे, वा जो अहिले रुझेको बिरालो जसरी प्रतिपक्षमा छन्, तिनले ती सबैले कहिल्यै देशको भ्रष्टाचार र बेथितिको अन्तका लागि जनतालाई सडकमा उरालेनन् न त जनता नै स्वस्फूर्तरूपमा बेथितिको विरुद्ध सडकमा ओर्लिए । भरी गाग्रीको नसारिकन सकिन्छ भने प्वाल कता छ भनेर देखाउन र हेर्न पर्दैन, चुहिने रहेछ भनेर त्यत्तिकै थाहा हुन्छ ।

भ्रष्टाचार पनि त्यस्तै चुहिने गाग्री जस्तै हो । थपिएको ऋणको तुलनामा देशको आर्थिक अवस्था झन्झन् दयनीय हुनु भ्रष्टाचार नै एक मात्र कारण हो । सबै कुराको प्रमाण देखिन्न, प्रमाण नभए भ्रष्टाचार हुँदैन वा भएन भन्नु मूर्खता हो । पञ्चायतकाल अझ भनौँ राणाकालदेखि अहिलेसम्म भित्रभित्रै सबै संयन्त्र भ्रष्टाचारमा संलग्न छन् । हुने गर्दछन् । घुस लिनु मात्र भ्रष्टाचार हो भनेर जेजसरी विगत लामो समयदेखि नेपालीहरू उल्लू भइरहेका छन्, बनाइरहिएका छन्, त्यो क्रम नेपालीहरूको सोचमा परिवर्तन नभएसम्म अझै चल्नेछ । गाग्री त सद्दे छ, महँगो छ, तर के गर्नु अडिँदैन ।
परजीवी सन्तान परिवारका लागि र परजीवी सरकार देशका लागि बोझ हुँदो रहेछ । न माया मार्न सकिने न भरपर्न सकिने । विदेशीले दिएको ढोडको लौरो टेकेर कतिञ्जेल विकासको उकालो उक्लिन सकिन्छ थाहा छैन ।

अन्धभक्त भएर कहिले कसैलाई विष्णुको अवतार, कहिले कसैलाई समाजवादेश्वरको अवतार अनि कहिले कसैलाई साम्यवादेश्वरको अवतार मान्दै आयौँ । तिनका वचनलाई महावाणी र आचरणलाई धर्म बनाउँदै आयौँ । हाम्रो त्यही अन्धभक्तिले गर्दा हाम्रा ईश्वरहरूले हामीलाई पाहा पछारे जसरी पछारेका छन् । मैले आजदेखि होइन फेसबुकमा सदस्य बनेदेखि भन्दै आएँ, लेख्दै आएँ अन्धभक्तिले भोलि नभरिने घाउ दिन्छ । यो देशमा कुनै पनि तन्त्र र वाद अनि तिनले चलाउने गतिविधि वास्तविकरूपमा नेपाल र नेपालीको लागि हुने गरेको छैन भने । कसैले उडाए, कसैले खिस्याए । ३५ सालदेखि ४२ सालसम्मको सक्रिय तर निरीह राजनीतिक संलग्नताको अनुभवका आधारमा मैले यी कुरा भनिरहेको थिएँ र छु ।

मैले ‘जहाँ गर्भाधानदेखि मृत्युपर्यन्त अरूको आश गरिन्छ, अरूले दिएको खाइन्छ त्यहाँ स्वतन्त्रताका, मौलिकताका र सार्वभौमिकताका कुरा नक्कली हुन्छन्’ भनेँ । ‘सतहमा जे जे देखिएका छन् ती सत्य होइनन्’ भनेँ । कसैले यस्ता कुरालाई गम्भीर रूपमा लिएनन् । १९ साल अगाडिका राजनीतिक वा सामाजिक गतिविधिलाई मैले जोड्न सकिरहेको छैन । तर त्यसपछिका हरेक राजनीतिक, सामाजिक र आर्थिक गतिविधिको मात्र होइन आन्दोलन र घटाना एवं दुर्घटनाको सम्बन्ध अहिलेको तातो प्रतिफलसँग गाँसिएको पाइन्छ । राजपरिवारको अन्तरकलह, पञ्चहरूका बीचको अन्तरकलह, कांग्रेसको अन्तरकलह र कम्युनिस्टहरूको अन्तरकलहको रहस्य यही वर्तमानमा उजागर भइरहेका तस्बिर सहितका सत्य हुन् । अझै हाम्रो प्रतिस्थापित राजनीति र कर्मचारी तन्त्र यस्तो होइन भनिरहनेछ, हामी खेमामा विभाजित भएर बेकारको बहस गरिरहनेछौँ ।

लगाम नै अरू कसैका हातमा हुन्थ्यो हामी नजानिँदो किसिमले घोडा बनेर दौडी रह्यौँ । किन सिद्धान्तका लागि यहाँ कहिल्यै बहस हुँदैन, किन पद्धति बसाउन कहिल्यै कसैले पहल गर्दैनन्, किन सत्ता बाहिर हुँदा गलत लाग्ने कुरा सत्तामा पुग्नासाथ सही किन हुने गर्दछन्, यी र यस्तै अनेक प्रश्न प्रबुद्ध नेपाली नागरिकले उठाइरहे, समस्याको जड के हो अब बताइरहन परेन ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि विकासका कुरामा देशभरी बहस हुँदा पनि मैले लेखेको थिएँ ‘किङ मिदासको जस्तो आत्मा बिनाको सुनै सुनको विकास देशमा हुने वाला छ, नेपालीले विवेक नगुमाउन्’ । अब हगिसकेपछि दैलो देखेर के गर्नु । हरेक घर र हरेक विद्यालयमा केक काटेर जन्म दिन मनाइन्छ । खानपिनका आधारमा, संस्कृतिका आधारमा र रहनसहनका आधारमा अब नेपालमा कुनै धर्म र जात बाँकी छैनन् । भत्केको मन्दिर र गुम्बा बनाउन क्रिश्चियनसँग चन्दाका लागि लम्पसार पर्ने पूजारीहरू सामरिक महत्वका र अत्यन्त विवादास्पद एवं समवेदनशील स्थानमा लगेर फेरी विदेशीलाई चेकपोष्ट बनाउन दिने वातावरण बनाइरहेछन् । बिहान बेलुकीको छाक जसले दिएको हण्डी खाएर चलिरहेको हुन्छ, हामी तिनैको उग्र विरोध गरेको नाटक देखाउँदै र भोग्दै आयौँ ।

सिद्धान्त आफैँमा कुनै पनि खराब हुँदैन, सिद्धान्त चलाउनेको नियतको शुद्धताका आधारमा सिद्धान्तहरू असल र खराब बन्ने र देखिने गर्दछन् । यो मामिलामा राजतन्त्रदेखि गणतन्त्रसम्मका विशेष भूमिकामा रहने सबै व्यक्ति खराब छन् । तिनले जे को लागि बैना लिए वा लिइरहेका छन् त्यो काम नबनुञ्जेल ती राजनीतिबाट हट्ने छैनन् । भोलि कट्टर साम्यवाद वा सैनिक शासन आए पनि यी बैना लिनेहरू नै त्यतिखेर पनि नेतृत्व तहमा देखिने छन् । नपत्याउन सक्नुहुन्छ, । यो देशमा परिवर्तनका लागि भनेर हामीलाई लडाइयो, भिडाइयो । हामी लड्यौँ, भिड्यौँ । तर ती परिवर्तन नेपाल र नेपालीका लागि गरिएकै थिएनन् । जुन देशमा सरकारलाई साधारण खर्च चलाउन धौ धौ छ, त्यो देशमा यतिविघ्न गोप्य धन कहाँबाट, कसरी ओइरिरहेको छ र किन ? यो सबै हाम्रो अन्धभक्तिको परिणाम हो । आफ्नाको गुदद्वार बास्ना आउने र विरोधीको मुख गनाउने गरी हामीले सिकेको राजनीतिक संस्कारको प्रतिफल हो ।

अहिले पनि कुनै घटना घट्दछन् । हामी अपवादमा बाहेक सहीलाई सही र गलतलाई गलत भन्न सकिरहेका देखिँदैनौँ । यो वाद ऊ वादका कुरा नगरौँ । सबै उही ड्याङका मूला हौँ । सबैको विकसित संस्कार गलत छ । बलात्कार हुन्छन्, हत्या हुन्छन्, महँगी बढ्छ, अहिलेका जस्तै नांगा नाचहरू बेलाबेलामा भइरहन्छन्, तस्करीका अनेक घटना बाहिर आइरहन्छन्, अनी हामी नागरिक जोसँग रित्तो खोपडी हुन्छ त्यो सलबलाउँछ र भन्छ ‘यि र यस्ता घटना त पहिले पनि हुन्थे, अरूले पनि गरेका थिए’ । ‘उसले पनि त त्यतिखेर गू खाएको थियो, कसैले चुइँक्क बोलेनन्, अहिले मैले वा हामीले वा हाम्राले गू खाँदा यत्रो रडाको किन ?’ भनेर सामाजिक सञ्जाल भरी प्रश्न गर्दछ खोप्रो दिमागको हाम्रो बौद्धिकता । पिपा बनेर हामी त्यसलाई सेयर गरेर गर्व गरिरहेका हुन्छौँ । हामी जुनसुकै आस्था र विचारधाराका भए पनि धिक्कार छ हामीलाई र हाम्रो दरिद्रतम सोचलाई ।

कसले के गरे गरेनन् ?

जब सत्ताधारीको कुनै गलत गन्तव्यको विरोध हुन्छ तब सत्तामा बस्नेहरू आफ्नो हिँडाइको विरोध गर्नेजति सबैलाई विपक्षी बनाइदिन्छन् र समर्थक जतिलाई जनता । कुरो नौलो होइन । वीरेन्द्र वा पञ्चेले त्यही गरे, ज्ञानेन्द्रले पनि त्यही गरे, कांग्रेसले पनि त्यसै गरेकै हो, एमाले पनि त्यही गरेको हो । त्यसैले अमुक धर्मको कुनै कार्यक्रममा भएको सहभागितालाई लिएर धेरै थरी नेताका तस्बिरहरू अरूसँग हुँदै नभए जसरी सार्वजनिक गरिरहेका हुन्छन् ।

हामीलाई सात सालदेखिकै परिवर्तनका नाममा सत्तामा बस्नेहरूले यो देशको विकास के गरि गरिरहेका छन्, एक एक थाहा छ । ३६ सालपछि कुन दलको कुन नेताले कतिखेर के बोले र के गरे वा अहिले के गरिरहेका छन् त्यो पनि थाहा छ । दन्त्यकथाका ‘तैँ चूप मै चूप’ हुने बाँदरका कथाहरू हरेक कुकुत्यका लागि उदाहरण बनाउने कार्य अविलम्ब बन्द गरियोस् । आफूले गू खाएको सही सावित गर्न अरु कसैले गू खाएको उदाहरण दिन बन्द गरियोस् । त्यसले झन् दलील कमजोर हुन्छ ।

पहिले सत्तामा बस्नेहरूले गल्ती गरे त्यसैले पाखा लागे । पाखा लागेकालाई आदर्श र उदाहरण बनाएर अघि बढे वर्तमान पनि पाखा लाग्छ । कुनै पनि गलत कुरा अरूको दृष्टान्त दिएर सही हुन सक्दैन । मैले बच्चा बेलामा कमिजको बाहुला टोक्थेँ, त्यसलाई उदाहरण दिएर मेरा सन्तानले कमिजको फेर टोक्लान्, के मैले त्यतिखेर उनीहरूको कार्यलाई सही मानिदिनु नै पर्ने हो ?

थाहा छ देश धर्म निरपेक्ष भएको छ । सबै धर्मलाई समान व्यवहार गर्नै हुति हामीसँग छैन । धर्म निरपेक्षताको औचित्य पुष्टि गर्ने आधार पनि हामीसँग छैन । यति भनिरहँदा पनि धर्म व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्ने कुरा भुल्नु हुँदैन । जुनसुकै धर्म मान्न पनि जोसुकै स्वतन्त्र छन्, नमान्न पनि स्वतन्त्र छन् । तर धर्मको नाममा देशको इज्जत लिलाम गर्ने छुट कसैलाई पनि छैन, न त धर्मको व्यापार गर्ने छुट नै कसैलाई छ ।
कसैले प्रशंसा गरे वा पैसा दिए हामी नांगै हिँड्न पनि सक्दछौँ, जान्दछौँ । त्यसैले रगत र पसिना जति विदेशमा बहन्छन् र हावा गफ र लुट्ने कलाचाहिँ देशभित्र बहन्छ । कसले के सर्तमा कसरी सहयोग दिन्छ थोरबहुत जनतालाई पनि थाहा छ । प्रष्टरूपमा अरू देशमा जस्तै बहस चलाए हुन्न र ? गूपचूप सबै थोक गर्नु नै पर्दछ र ?

चाहे त्यो मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा होस् वा बेलाबेलामा हुने तामझाम सबै गलत हुन् । यस्ता तामझामबाट कसले के पाए वा कसले के पाएनन् त्यो पाटोलाई छोडेर हेर्दा, देश भने अत्यन्त निरीह देखिएको छ । आमनागरिक देशको यो निरीहताप्रति चित्त दुखाइरहेछन् । कुनै धर्मप्रति नेपाली असहिष्णु हुन्थे त ०१९–२० सालदेखि नै यहाँ धर्मयुद्ध सुरु भइसकेको हुन्थ्यो । ०७ सालदेखि ७५ सालसम्म आन्दोलन नेपालीले गरे, हरेक चुनावमा मत नेपालीले हाल्दै आए तर जहिले पनि विदेशीले नै जिते, हो यो कटुसत्यप्रति नेपालीको चित्त दुखाइ छ ।

नेपाली चाहन्छन्, हरेक राजनीतिज्ञको दोहोरो चरित्रको अन्त होस् । कागको बथानमा गएर काँ काँ गर्ने अनि कोइलीको बथानमा गएर कुकु गर्ने हाम्रा नेताहरूको बानीबाट अब जनता आजित भइसकेका छन् । सबै दलका सबै नेताले यसलाई गम्भिरतापूर्वक लिउन् र सुध्रियुन्, नेपाली जनता हृदयदेखि नै अनुरोध गर्न चाहन्छन् । विगतमा ‘मेरा वा हाम्रा गोप्य गतिविधि जनतालाई थाहा हुन्न’ भन्नेहरू जनताबाट दण्डित भएको देख्दादेख्दै, फेरी यस्तै भ्रम वर्तमानमा कसैले नपालुन्, १०÷१० वर्षमा मात्र रगत तात्ने सोझा नेपालीहरू वर्तमानका प्रभूहरूलाई यही बिन्ती बिसाउन चाहन्छन् ।

गजबको छ मेरो देश

पाँच जना मिल्छन् र पैसा कमाउन सडकमा निस्कन्छन् । पाँच जना पाँचतिर छरिन्छन् । पाँच थरी मत प्रचार गरेर पाँथै थरीको जमात बनाउँछन् । त्यसबाट कमाउँछन् । एक अर्काप्रति ईष्र्या घोल्छन् । त्यसबाट पनि कमाउँछन् । अनि यी पाँच जना बेलाबेलामा चौतारामा भोज खाएर बस्छन् तल चउरमा पाँच थरी समूह बेलाबेलामा भिडिरहन्छ । त्यो समूह भिड्दा भिड्दा थाक्दछ । कोही मर्छन्, कोही घाइते हुन्छन् । फेरी चौताराका पाँच जना पाँचतिर छरिएर आआफ्ना समूका लाश तह लगाउँछन् र घाइतेलाई उपचार गर्न संलग्न हुन्छन् । लाश तह लगाउँदा र घाइतेलाई उपचार गर्दासमेत फेरी अर्को भिडन्तका लागि आआफ्ना समूहलाई उचालेर विष घोल्न छाड्दैनन् । गजब भए नेपालका क्रान्ति र परिवर्तनहरू ।

प्रतिक्रिया