काठमाडौं नेपाल टि२० लिगबाट बाहिरियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं गुर्खाज प्रतियोगिताबाट बाहिरिएको छ । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले नाम फिर्ता लिएको क्यानले आधिकारीक रुपमा जनाएको छ ।

प्रतियोगिता मंसिर २६ देखि पुष १६ (डिसेम्बर १२ देखि ३१) टियु क्रिकेट मैदानमा हुनुपर्ने हो । तर नेपाल टि२० लिग सुरु हुन दुई साता बाँकी रहेको अवस्थामा तयारी हेर्दा प्रतियोगिता नै नहुने उच्च सम्भावना देखिन्छ ।
क्यानका कार्यवाहक सचिव तथा नेपाल टि२० लिगका गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्लले एक साता सर्न सक्ने बताए । ‘हाम्रो प्रयास त्यही मितिमा गर्नेछ । हैन भने हामीले आइसिसीबाट एक हप्ता थप्छौं । अरु सबै तयारी भएको थियो । काठमाडौं आधिकारीक रुपमै बाहिरिएको हो’, प्रशान्तले भने ।

‘हाम्रो सबै तयारी भएको छ । काठमाडौंको ठाउँमा अर्को फ्रेन्चाइज आउँछ अनि हुन्छ । एक हप्तापछि सर्न सक्छ’, मल्लले भने ।

काठमाडौं फ्रेन्चाइजकी सिइओ भावना घिमिरेले यो मालिकहरुको कुरा हुँदा आफू बोल्न नमिल्ने बताइन् । नेपाल टि२० लिगमा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् । कान्तिपुर र पोखरा मात्रै नेपाली मालिकको स्वामित्वमा भएका फ्रेन्चाइज टोली हुन् ।

नेपाल टि२० लिग गत असोजबाट सरेको थियो । यसअघि गत असोजमा हुने भनिएपनि निर्वाचनको कारण सुरक्षाको कारण देखाउँदै स्थगित भएको थियो । क्यानले सुरक्षाको वहाना देखाए पनि कमजोर तयारीको कारण सरेको थियो ।
कान्तिपुरले विदेशी खेलाडी श्रीलंकाका थिसरा परेरा, कामिन्दु मेन्डिस, धनन्जय डि सिल्भा, दर्शनप्रिय विराकोडी र मलेसियाका विरनदीप सिंहलाई अनुबन्ध गरेको थियो । तर नेपाल टि२० सरेपछि कान्तिपुरले अन्य खेलाडीलाई अनुबन्ध गर्न प्रयास गरेको थियो ।

नेपाल टि२० लिग सुरु हुन दुई साता बाँकी रहँदा तयारी भने सुनसान जस्तै छ । नेपाल टि२० लिग विवादै विवादले घेरिएको छ । त्यसैको कारण फ्रेन्चाइज टोलीले नाम फिर्ता लिन थालेका हुन् ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) ले क्यान र भारतीय कम्पनीबीच भएको सम्झौता नेपालको कानुन विपरित रहेको र यो प्रक्रिया पारदर्शी नभएको जनाएको छ ।
यसैको विरुद्धमा इपिएल र सहभागी टोलीले प्रतियोगिता आयोजना गर्न दिएको निर्णय तत्काल रोक्का गर्न (स्टे अर्डर) को मागसहित गत जेठमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा फैसला यसै साता भित्र हुने इपिएल संचालक आमिर अख्तरले दाबी गर्दै आएका छन् । तर मुद्दाको पेशी भने ६ महिना पछि धकेलिएको स्रोतले बताउँछ । क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

प्रतिक्रिया