यू –१९ राष्ट्रिय क्रिकेट : प्रदेश एक ५१ रनमा अल आउट

काठमाडौं । तीव्र गतिका बलर हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता प्रदेश एकलाई २ सय १३ रनको फराकिलो जित हात पारेको छ । लगातार चौथो जितसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जितको लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १६.३ ओभरमा ५१ रनमा अल आउट भयो ।

प्रदेश एकका भुपाल दंगालले ३२ बलमा १० रन बनाए । प्रदेश एकका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । टियु एण्डबाट आएका तीव्र गतिका बलर हेमन्त धामीले शीर्षक्रमका पाँच ब्याटर आउट गरेपछि सुदूरले सानदार जित हात पारेको हो । सुदूरका हेमन्तले पहिलो ओभरको अन्तिम बलमा आइस्टान रिजाललाई शून्यमा बोल्ड गरे । तेस्रो ओभरको चौथो बलमा हेमन्तले सोनु अन्सारीलाई तीन रनमा बोल्ड गरे । लगत्तै फैजल रहमान शून्यमा बोल्ड भए । हेमन्त त्यतिमा रोकिएनन् ।

सुभन गहतराजलाई नौं रनमा क्याच गराउँदै सुरुवात चार विकेट लिँदै १६–४ को दयनीय अवस्थामा पुर्याए । हेमन्तले कप्तान दीपेश कंडेललाई सेकेन्ड स्लिपमा ५ रनमा क्याच गराउँदै पाँच विकेट पूरा गरेका थिए । सुदूरका हेमन्त धामीले ७ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए । आकाश चन्दले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । मिलन बोहराले १.३ ओभरमा १ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । सुदूरको लागि कप्तान अनुराग सिंहले १ सय १२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ७६ बलमा ८ चौकार १ छक्कासहित ६४ रनमा आउट भए ।

तेस्रो विकेटका लागि मिलन र अनुरागसिंहले १ सय ३ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । मिलन दीपेश कंडेलको बलमा बोल्ड भएपछि शतकीय साझेदारी तोडिएको थियो । अनुराग अभिनय राजवंशीको बलमा कट एण्ड बोल्ड आउट भएपछि शतक बनाउन चुकेका थिए ।

दीपक बोहरा ३५ बलमा ३ चौका र १ छक्कासहित ३२, विशाल ऐर १३, ओपनर दीपक बोहरा १, सुनिल चन्द ४ र हेमन्त धामी २ रनमा आउट भए । गजेन्द्र बोहरा १६ बलमा २ चौका र १ छक्कासहित २४ र आकाश चन्दले १४ बलमा २ छक्कासहित २० रनमा आउट भए ।

प्रदेश एकका अभिनय राजवंशीले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए । आषिश मगरले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । दीपेश कंडेलले १० ओभरमा १ मेडन राख्दा ३३ रन खर्चेर २ विकेट लिए ।

सुदूरपश्चिमले अव बुधबार मधेश र शुक्रबार बागमतीसँग खेल्नेछ । दुई मध्य एक खेलमा जितले फाइनलमा पुग्नेछ । सुदूर ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । बागमती ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । ७ प्रदेश सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया