भरतपुर । भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुन सकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।
तत्काल सडक बनाउन स्थानीयले पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न ‘फिल्ड’मै गए । सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी संघ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचि सांसदले बाटो निर्माणको सार्वजनिक प्रतिबद्धता गर्न लगाए । ‘यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु’, सांसद लामिछानेले भने ।
उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए । ‘तपाईंहरू मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईंहरू सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु’, तपाईंहरूका लागि अब म लड्ने हो तपार्ईंहरूले मलाई भोट हालिसक्नुभा’छ’, उनले भने ।
उनले जितपश्चात अब बधाइ खाने समय नभएको भन्दै अब काम गर्ने बेला आएको बताए । त्यहीअनुसार औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले जनताको काममा लागिपरेको उनको भनाइ छ । ‘मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझक्याउँदै गर्दा कसैले मिडियाबाजी, स्टन्ड ग¥यो भने भन्लान्, त्यो मतलब भएन तर यहाँको बाटो बन्नुप¥यो, स्थानीयवासी ढुक्कले बस्न पाउनुप¥यो’, नवनिर्वाचित सांसद लामिछानेले भने । ‘मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईंहरूको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला’, उनले सबैलाई अनुरोध गर्दै भने ।
अध्यक्ष लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इञ्जिनियर रञ्जन ठाकुरलाई काम गराउने प्रतिबद्धता गराए । ठेकेदार कम्पनीका व्यवस्थापक थपलियाले भने, ‘विभिन्न समस्याले सडक निर्माणमा ढिलाइ भएको हो, अब हामी ढिला नगरी भोलिबाटै काम अगाडि बढाउँछौँ’, उनले आइतबारदेखि निर्माण सामग्री ल्याउन सुरु गर्ने र पिच निर्माणको काम तत्काल अघि बढाइहाल्ने बताए । ‘यो मंसिरभित्र सबै काम सकिन्छ, निर्वाचन लगायतका विभिन्न कारणले ढिलाइ भएको हो, अब हुँदैन’, उनले भने ।
यस्तै इञ्जिनियर ठाकुरले प्राविधिक कारणले सडक निर्माणको काम ढिलाइ भएको बताए । विद्युत्को पोल समयमै नसार्नु, ढल निर्माणको कामपछि मात्रै समावेश हुनुले कामलाई असर परेको बताए । अब सबै काम सकिएकाले निर्माण काम नरोकिने प्रतिबद्धता जनाए ।
स्थानीय यमलाल कँडेलले भने, ‘यस्ता प्रतिबद्धता उहाँहरूले धेरै गर्नुभयो तर बाटो बनेन, अहिले फेरि प्रतिबद्धता जनाउनुभयो अबचाहिँ काम होस् ।’
करिब ३ हजार १ सय मिटर उक्त सडकखण्डमा २ हजार ६ सय मिटर कालोपत्र निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ । अब धर्मचोक क्षेत्रका पाँच सय मिटर सडक पक्की गर्न मात्र बाँकी भएकाले छिट्टै काम सकिने कम्पनीले जनाएको छ । सो क्रममा निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनका कुनै पनि अधुरा निर्माणका काम तत्काल सक्ने गरी काम अघि बढेको बताए ।
प्रतिक्रिया