विभिन्न ३५ विधामा १०औँ म्युजिक खबर म्युजिक अवार्ड प्रदान गरिने

काठमाडौं । दशौं म्युजिक खबर म्युजिक अवार्डको आवेदन खुलेको छ । विगत ९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको म्यूजिक खबर म्युजिक अवार्डको १०औँ संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुल्ला गरिएको म्युजिक खबर डटकमका सञ्चालक सुमन पण्डितले जानकारी दिए ।

‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानीलगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गरिँदै आएको उनले बताए । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको उक्त अवार्डलाई यसभन्दा पहिला म्युजिक खबर डटकमले प्रस्तुत गर्दै आएको छ ।

विभिन्न ३५ विधामा आयोजना हुने सो अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको सुमनले जिकिर गरे ।
उनका अनुसार उक्त अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कम्पनीलगायतका विभिन्न विधाहरुमा अवार्ड आयोजना गरिने पण्डितले जानकारी दिए ।

त्यसैगरी एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिँदै आएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिँदै आइएको छ भने एक जना युवा प्रतिभालाई म्युजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिँदै आएको छ ।

त्यस्तै एकजना वरिष्ठ पत्रकारलाई म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिन्छ भने बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आएको पण्डितले बताए ।

प्रतिक्रिया