विषय प्रवेश
नेपाली सामाजिक तथा सांस्कृतिक परम्परा पनि विविधताले भरिपूर्ण छ । यस्ता क्षेत्रहरूमा साहित्य, सङ्गीत, चित्र, मूर्ति, वास्तुकला तथा विविध हस्तकलाको उपयोग पनि उत्तिकै भइरहेको पाइन्छ । मानिसका आवेग, संवेग तथा मनोदशालाई कहीँ लोकसाहित्यका रूपमा त कही लोकसङ्गीतका रूपमा स्वाभाविक रूपमा प्रस्तुत गर्दै आएको छ । त्यस्तै कही चित्र तथा मूर्तिका रूपमा प्रस्तुत गर्दै आएको पाइन्छ । चित्र तथा मूर्तिलाई मानिसले धार्मिक, सांस्कृतिक, सामाजिक तथा संस्कारजन्य कार्यमा प्रतीकात्मक रूपमा समेत प्रयोग गर्दै आएको पाइन्छ । वास्तुकला भन्नाले मानिसको आवास अर्थात् बासस्थानको कलालाई बुझिन्छ । मानिसले जब खेतीपातीको युगमा प्रवेश ग¥यो त्यहीवेलादेखि बस्नका लागि अर्थात् ओत लाग्नका लागि उसले झुप्रा, टहरा अर्थात् कटेरो बनाएर बस्न थाल्यो । त्यहीबाट वास्तुकलाको विकास सुरु भयो । पछि वास्तुकला धार्मिक, राजकीय तथा लोकजीवनमा आधारित भएर निर्माण गर्न थालियो ।
हस्तकला विशेषतः दैनिक उपभोगका रूपमा मानिसले पाषाणयुगदेखि नै उपयोग गर्दै आइरहेको छ । मानिसको दैनिक कार्यलाई सहज रूपमा सम्पन्न गर्नका लागि मानिसले बनाएका सामानलाई हामीले हस्तकलाका रूपमा बुझ्छौँ । यो नितान्त उपयोगसँग अन्तरसम्बन्धित हुन्छ । यसरी कलाको उपयोगलाई मानिसले दैनिक जीवन, आवश्यकता, मनोरञ्जन, आवेग, संवेग, संस्कार तथा संस्कृतिका रूपमा गर्दै आयो । यही परिदृश्यमा नेपाल तथा बौद्ध धर्म मान्ने विभिन्न स्थानमा विकास भएको एउटा कला परम्परालाई थाङ्का अर्थात् पौभाका रूपमा चिनिन्छ । लामो ऐतिहासिक परम्परा भएको थाङ्का कलामा विगत पाँच दशकदेखि लागेका लालमान तामाङ लामाले सयौं चित्र बनाइसकेका छन् ।
पाँच दशकदेखि निरन्तर कलाकर्ममा सक्रिय लालमानले नेपालको परम्परागत मौलिक थाङ्काको विकास, प्रवद्र्धन र व्यवसायमा विशिष्ट योगदान दिएका छन् । नेपाली कला परम्परामा उनले थाङ्का कलाको प्रतिनिधित्व गर्दै देशलाई चिनाएका छन् । यस अवधिमा उनले अपनाएको कला धारले नेपालको बौद्ध आदर्श र परम्परालाई जीवन्त राख्न र यसको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सघाउ पुगेको छ
कलाकार परिचय
लालमान तामाङ लामा ‘दीपक’ नेपाली परम्परागत ‘थाङ्कु’ अर्थात् थाङ्का चित्रकला क्षेत्रमा परिचित नाम हो । वि.सं. २०१८ भदौ २९ गते जगतराम तामाङ र साइँली तामाङको सन्तानका रूपमा लालमानको जन्म सुनापति गाउँपालिका बेथान–४ डहुँ रामेछापमा भएको थियो । गाउँले परिवेशमा हुर्किएका कलाकार लालमानले घाँसदाउरा, खेतीकिसानी, गोठालो गर्दै कलाक्षेत्रमा लागे । बाँच्ने आधार भनेकै परम्परागत कृषि पेसा भएकाले उनी पनि सुरुमा खेतीकिसानी कर्ममा संलग्न भए । गाउँमा विद्यालय जाने र पढ्ने त्यति चलन नभएकाले उनी त्यसबाट वञ्चित रहे पनि साक्षार भने भए ।
हाल काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा बसेर कलाकर्म गरिरहेका लालमान सामान्य पारिवारिक अवस्थाबाट नेपाली कला क्षेत्रमा उदाएका होन् । बौद्धधर्मी भएको कारणले उनी यस क्षेत्रमा लागेका हुन् । एकातिर गाउँघरमा संस्कार तथा संस्कृतिका रूपमा समेत थाङ्काको प्रयोग गर्ने प्रचलन भएकाले उनलाई कला क्षेत्रमा लाग्ने आधार बन्यो भने अर्कातिर व्यवसायका रूपमा गाउँका केही व्यक्तित्वले थाङ्कालाई पेसाको रूपमा अङ्गीकार गरेकाले उनलाई यस कामले आकर्षित समेत ग¥यो ।
नेपालमा पर्यटन क्षेत्रको विस्तारै प्रवद्र्धन कार्य भइरहेकाले थाङ्का कलाको माग विस्तारै बढिरहेको थियो । फरक शैली र परम्परामा आधारित रहेर बनाइने थाङ्काको मौलिकतालाई पर्यटकले सङ्ग्रहका रूपमा लिन थालेपछि यसले आयस्रोतमा पनि भूमिका खेल्न थाल्यो ।
यसअघि पनि सांस्कृतिक, सामाजिक तथा संस्कारका रूपमा समेत यो कलाको महत्त्व रहँदै आएको थियो । जन्म तथा मृत्युका विभिन्न संस्कारमा थाङ्का कला बनाउन लगाई घर, गुम्बा तथा सार्वजनिक स्थलमा राखिन्थ्यो । तसर्थ यसको सामाजिक रूपमा समेत निकै महत्त्व थियो र यसको निर्माण गर्ने कार्यलाई गरिमायुक्त कार्यका रूपमा लिइन्थ्यो । यसैगरी गाउँका केही व्यक्तित्वले थाङ्कालाई व्यवसायका रूपमा अँगालेर राम्रो आम्दानी गर्न थालेको देखेपछि लालमानले आफ्नो रुचिको थाङ्का कलालाई पेसाको रूपमा अङ्गीकार गरेको सुनाए ।
वि.सं.२०२५ सालबाटै थाङ्का कलासाधनामा लागे पनि लालमानले पहिलो पटक २०२८ सालमा १ महिना लगाएर शाक्यमुनि बुद्धको पूर्ण चित्र बनाएका थिए । अहिले परिवारमा उनलाई श्रीमती र छोराछोरीले यस पेसामा साथ दिँदै आएका छन् । त्यस्तै काठमाडौं ठमेल नजिकै रहेको श्रीघः बिहार परिसरमा भृकुटी टिबेटिन एन्ड जापानी थाङ्का आर्ट ग्यालरी खोलेर थाङ्का कलाको व्यापारलाई प्रवद्र्धन गरिरहेका छन् ।
यसै क्रममा उनी कला प्रदर्शनी तथा कार्यशालाका लागि चीन, अमेरिका, भारत, भुटान, अस्टे«लिया लगायतका देश पुगिसकेका छन् । उनी सन् २०१० मा पहिलो पटक कला प्रदर्शनीका लागि चीन पुगेका थिए । त्यसयता उनी दर्जनौ पटक चीन पुगिसकेको जनाए । उनी कला प्रदर्शनी र कार्यशालाका लागि दुई पटक अमेरिका (२०१४ र ०१६), भुटान २०१२ (दुईपटक) पुगेका छन् । त्यस क्रममा नेपालको मौलिक कलाको शैली, शिल्प र विषयबाट उनीहरू निकै प्रभावित भएको सुनाउँदै कलाकार लालमानले थाङ्का कलाको प्रशंसा गरेर विदेशीहरूले आफूमा सकारात्मक ढङ्गले उत्साह भरेको बताए ।
कलायात्रा
गाउँमा काका पर्ने लामागुरु काइँला लामा थिए । उनले थाङ्का लेखेको देखेपछि सानैमा लालमानलाई त्यसको प्रभाव पर्यो । ८–९ वर्षको उमेरमै उनमा थाङ्का सिक्छु भन्ने आत्मविश्वास पलायो । सानै भए पनि लालमानले लामागुरुसँग थाङ्का सिक्ने कुरा राखे । १० वर्षका लालमानको आत्मविश्वास र लगाव देखेर ‘हुन्छ नि छोरा’ भनेर काइँला लामाले सिक्ने स्वीकृति दिए । त्यहीबाट उनको थाङ्का कलाको औपचारिक सिकाइ सुरु भयो । लामागुरु काइँलासँग उनले एक महिना जति सिकेपछि गुरुकहाँ जान छोडे र त्यहीबीचमा घरायासी काम बढेपछि एक वर्षजति थाङ्का बनाउन पनि छोडे । बाआमालाई कामधन्दामा सघाए पनि मनमा भने थाङ्काप्रति गइरहन्थ्यो । घरमा अलिक दुःख थियो । खेतीपाती नगरी दैनिक गुजारा चल्दैन्थ्यो । उनका ठूलोबुबा कृष्णराम तामाङ गाउँबाट केही पर कुरानटारको गोठमा बस्थे ।
एकदिन गाईबाख्रा चराउँदै जाँदा उनले लालमानलाई किन थाङ्का लेख्न छोडेको भनेर सोधे । उनले फ्याट्टै बाले गर्दाखेरी यो काम छोडेको सुनाए । त्यसपछि ठूलोबाले बा जगतरामलाई गाली गरेको लाममान सम्झिन्छन् । ‘तिम्रो बुद्धि छैन, यसले राम्रो थाङ्का बनाउँछ । यसलाई यसै काममा लगाउनुपर्छ,’ भनेर ठूलोबाले भनेपछि लालमानका बुबाले फेरि थाङ्का बनाउने स्वीकृति दिए । यसरी लालमानलाई ठूलोबाले थाङ्का क्षेत्रमा लाग्ने वातावरण मिलाइदिएर उत्प्रेरणा भरिदिए । त्यसपछि उनले फेरि गाउँले छोइसाङ लामागुरु र नरबहादुर तामाङकहाँ काम गर्न थाले । त्यहाँ उनले केही समय काम गरे ।
लामागुरु काइँलासँग थाङ्का कलाका आधारभूत कुरा सिकेपछि उनको आत्मविश्वास बढेको थियो । सुरुमा उनले थाङ्काका लागि चाहिने चित्रपट (कपडा) बनाउन सिके । सानैदेखि मिहिनेती स्वभावका लालमानले ब्रुस÷कुची (तुलिका) पनि बनाएको सुनाउँदै चित्रका लागि चाहिने सामग्री बनाउन सिकेको बताए । उनले टिनको पाता, बाख्राको रौँ र निगाँलो÷काठबाट ब्रुस बनाएर चित्र बनाएको सुनाए । त्योवेला ब्रुस तथा चित्र बनाउने कपडा सहजै पाइदैन्थ्यो । राजधानी काठमाडौंतिर व्यापार गर्ने गाउँकै एक व्यापारीले लालमानले बनाएका चित्र किनेर लगे । ती व्यापारीले त्यसवेला १०–१२ रूपैयाँ तिरेर ती चित्र लान्थेँ । पछि अरूले पनि लान थाले । १०–११ वर्षका उनलाई काठमाडौंमा थाङ्काको व्यापार हुन्छ भन्ने पनि थाहा थिएन । बेला बेलामा ती व्यापारीले रङ पनि ल्याइदिन्थें । यसरी सानैमा राम्रै आम्दानी हुन थालेपछि उनी यही कलाकर्मको पेसालाई अँगालेर अगाडि बढे ।
राज्यले कलालाई अनुत्पादक क्षेत्र भन्दै कलाकारलाई राम्रो दृष्टिकोणले हेरेको पाइँदैन । तर, यस क्षेत्रमा दशौं हजार मानिसले काम गरिरहेको जनाउँदै कलाकार लालमानले रोजगारी, आर्थिक उपार्जनसँगै कलाकारले संस्कृतिको जर्गेना गरिरहेको बताए
थाङ्कामा मुहार राम्रो बनाउने कलाकारलाई निकै राम्रो मानिन्छ । यसमा दक्षता देखेरै व्यापारीले उनका कला किन्थे । फेस खोल्ने अर्थात् मुहारलाई आकर्षक तथा पूर्णता दिन उनी निकै मिहिनेत गर्थे । वास्तवमा थाङ्काको मुख्य विशेषता नै यसैमा रहेको हुन्छ । २०२८/०२९ सालतिरै उनले मासिक ३० रूपैयाँभन्दा बढी कमाइ गर्न थाले । १२–१३ वर्षको उमेरमै पैसा कमाउन थालेपछि लालमानको लगाव थाङ्कामै हुन थाल्यो । ०३७ सालमा लालमानको माया तामाङसँग विवाह भयो । बिहेपछि उनी काठमाडौं आए र डल्लुमा बसेर थाङ्का बनाउन थाले । उनी र भाइले सँगै बसरे काम गरे । केही समय सँगै काम गरेपछि उनीहरू दुवैजना छुट्टिए । केही समयपछि उनी गाउँ फर्किए । घरमा उनले थाङ्का बनाउने कामलाई तीब्रता दिएको सुनाए । गाउँमै पुगेर केही व्यापारीले लालमानका कला किने । फेरि एक जना व्यापारीले मासिक १२ सय दिने, श्रीमतीलाई खान दिने र एउटा कोठा दिने भनेपछि उनी काठमाडौं आए । एक वर्ष बसेपछि फेरि उनी गाउँ नै फर्किए ।
यसरी गाउँ आउने जानेक्रम २०४२ सालसम्म चलिरह्यो । ०४२ सालदेखि भने उनी काठमाडौंमै अड्डा जमाएर बस्े । दैनिक १५–१६ घण्टा काम गर्न थाले । कामको चाप पनि बढ्दै गयो । चित्र बनाउने काममा उनलाई श्रीमती मायाले दिनरात साथ दिइन् । क्यानभास (तेन) बनाउने, रङ लगाउने लगायतका काममा मायाले सघाएको लालमानले सुनाए ।
त्यसवेला काठमाडौंको राजनीति माहोल निकै चलायमान थियो । २०३६ सालपछिका प्रायः आन्दोलन देखेको र सहभागी भएको उनी सुनाउँछन् । गाउँ आउजाउ गरे पनि राजनीतिक प्रभाव उनमा परेको थियो । अन्याय, अत्याचार, विभेदका सामाजिक जञ्जिरबाट मुक्ति पाउनुपर्छ भन्ने मान्यताका साथ उनी कलाकर्मसँगै राजनीतिमा पनि चासो दिन थाले । कतिसम्म भने कलाकारले बनाएका कला किन्ने व्यापारीको व्यवहारले उनलाई आजित बनाएको थियो । कलाको अवमूल्यन गर्ने, बनाएको थाङ्का च्यातिदिने, हेपेर बोल्ने, बेलामा पैसा नदिने लगायतका व्यवहारले कलाकारमा विस्तारै विद्रोहको भावना जागृत भएको थियो । यसमा राजनीतिक दलले साथ पनि दिए ।
थाङ्का कलाको व्यापार भने त्यतिवेला मखन, हनुमानढोका, जोँछे लगायतका स्थानमा हुन्थ्यो । उनी त्यहाँ बेलाबेलामा थाङ्का बेच्न जाने गर्थे ।
कला व्यापारी र क्रेताको त्यतिवेलाको रुचि भने धेरै देवता भएका थाङ्कामा हुन्थ्यो । उनले पनि बढी देवता भएका थाङ्का बनाएर बेच्न थालेको सुनाए । यसरी नेपालमा थाङ्का कलाको माहोल विस्तारै जान थालेको थियो र कलाकर्मीका लागि पनि आर्थिक उपार्जन गर्दै अगाडि बढ्ने वातावरण बन्दै थियो ।
लालमानका नेपाल तथा विदेशका विभिन्न मुलुकमा सामूहिक कला प्रदर्शनी भएका छन् । थाङ्का कलाको एकल प्रदर्शनीको तयारीमा रहेका उनले विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्यमा समेत आफूलाई सक्रिय बनाउँदै आएका छन् । त्यस्तै उनले कला सिकाएका शिष्यले नेपाल तथा विदेशमा ख्याति समेत कमाएका छन् ।
कलाकृतिका विषय
नेपालमा ठूलो सङ्ख्यामा बुद्ध अनुयायी रहेकाले थाङ्का कलाको महत्त्व अधिक रहिआएको छ । यस कलाको गरिमा र महिमाको ऐतिहासिक विरासत दुई हजार वर्ष पुरानो छ । हुन त थाङ्का कलाको सुरुवात बुद्धकालमै भएको भनाइ पनि छ । बुद्ध धर्मको प्रसार प्रचार र उपहारका रूपमा कलाको आदानप्रदान हुने प्रचलन बढेपछि थाङ्का कलाले व्यापकता पाउँदै जान थालेको लालमानले बताए ।
कलाकार लालमानले आलङकारिक, रूपभेदिक, वर्णनात्मक तथा प्रतीकात्मक थाङ्का बनाएका छन् । उनका कलामा चित्रलाई आकर्षक र कलात्मक बनाउन अलङ्करण अर्थात् बुट्टाको प्रयोग गरेको पाइन्छ । आलङ्कारिक रूपमा तयार पारिएका यस्ता थाङ्काले उनको शैली निर्माणमा सघाउ पु¥याएको देखिन्छ । त्यस्तै, उनका रूपभेदिक कलामा बुद्ध तथा बोधिसत्त्व, लोकेश्वर, रिन्पोछे, तारा, कुवेर लगायतका चित्र रहेका छन् । यस्ता चित्रमा देवतालाई प्रमुखता दिइन्छ । उनले बनाएका वर्णनात्मक थाङ्कामा बुद्ध जीवन कथा, जातक कथा आदि रहेका छन् । यस्ता चित्रमा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न कथालाई प्रस्तुत गरिएको पाइन्छ ।
यस्तै, लालमानले बनाएका प्रतीकात्मक कलामा मण्डला लगायत रहेका छन् । यिनमा खासगरी साङ्केतिक ढङ्गले धर्म र संस्कृतिका विषयलाई जीवन र जगतसँग जोडेर बनाएको पाइन्छ । कलाकार लालमानले शान्त बुद्ध, कालचक्र मण्डला, लोकेश्वर मण्डला, बुद्ध मण्डला, मन्त्र मण्डला, सेतो तारा, हरियो तारा, शाक्यमुनि बुद्ध, मेडिसिन बुद्ध, कुवेर ज्याम्बाला, छेपाने, अमिताभ बुद्ध, मञ्जुश्री जापानिज वैरोचन बुद्ध, बुद्ध जीवनीसँग सम्बन्धित चित्र, जीवन चक्र, जापानी सरस्वती, लोटस मण्डला लगायतका दर्जनौ बौद्ध तथा हिन्दु देवदेवीका थाङ्का चित्र बनाएका छन् ।
कलाप्रतिको धारणा
हिमाली बौद्ध ‘थाङ्कु’ कलाबाट प्रभावित लालमानले थाङ्कामा बुद्धको वचन र सन्देशलाई समावेश गर्ने र विभिन्न देवीदेवताहरूको जीवनी चित्रण गरिने बताए । परम्परागत रूपमा शास्त्रीय ढङ्गले बनाइने थाङ्का कलामा जीवन र जगतका शाश्वत सत्यलाई केलाइने बताउँदै लालमान भन्छन्, ‘बुद्धले मानव कल्याणका निम्ति दिनुभएका सन्देश र मार्गलाई थाङ्का कलामा उतारिन्छ ।’ उनले थाङ्काको परम्परित मान्यतालाई नबिगारीकन बनाउनुपर्नेमा जोड दिँदै कलाकारले आधुनिकताका नाममा विकृतिलाई अङ्गीकार गर्न नहुने जिकिर गरे । लालमानले मौलिकताका ध्यान दिँदै बनाएका कलाले मात्रै नेपाललाई चिनाउने भएकाले कलाकार बढी सजग हुनुपर्ने विचार व्यक्त गर्छन् ।
अहिलेको परिस्थितिमा आधुनिकताको नाममा जे पनि गर्ने प्रचलन बढ्न थालेको प्रति चिन्तित हुँदै उनले मौलिकता भएन भने परम्परागत कलाको महत्त्व हराउने बताउँछन् । उनी भन्छन्, ‘कलाकारले थाङ्काको मौलिकता जोगाउँदै काम गर्नुपर्दछ । त्यस्तै, समयापेक्ष ढङ्गले थाङ्काको मूलमर्मलाई नबिगारीकन नयाँपन दिनुपर्ने चुनौती पनि कलाकारमा आएको छ ।’
हिमाली धार्मिक बौद्ध दर्शन अनुसार समाजमा थाङ्काले एकता र सद्भावको भावना जगाउने उनको तर्क छ । कलाकार लालमानले समाजमा भावनात्मक एकतालाई बलियो बनाउनका लागि पनि कलाको महत्त्व विशिष्ट रहँदै आएको जिकिर गर्छन् । देशको संस्कृति, सभ्यता र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न कलाको भूमिका नै विशिष्ट रहने भएकाले यसले देश विकासमा समेत टेवा दिने लामाको तर्क रहेको छ । लालमानले थाङ्कामा देवतालाई आधार मान्दै जन्मदेखि मृत्युसम्मका विविध परिवेश र घटनाको बयान गरिएको बताउँछन् ।
कला क्षेत्रमा गर्नुपर्ने कार्यहरु
परम्परागत कला मौलिक संस्कृतिको जग भएकाले सरकारले यथोचित ढङ्गले नीतिगत काम गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म राज्यले खासै केही नगरेको बताउँछन् । राज्यले कलालाई अनुत्पादक क्षेत्र भन्दै कलाकारलाई राम्रो दृष्टिकोणले हेरेको पाइँदैन । तर, यस क्षेत्रमा दशौं हजार मानिसले काम गरिरहेको जनाउँदै कलाकार लालमानले रोजगारी, आर्थिक उपार्जनसँगै कलाकारले संस्कृतिको जर्गेना गरिरहेको बताए ।
नेपालमा प्रचलित थाङ्का कलालाई देशभित्र मात्रै नभएर उनले विदेशमा समेत निकै महत्त्वका साथ लिने गरेको सुनाउँदै राज्यले नीतिगत रूपमा काम गरेमा हजाराँैले रोजगारी पाउने र वार्षिक अर्बौको आय हुने जिकिर गर्छन् ।
उनले कला तथा संस्कृति नीति समयापेक्ष ढङ्गले सरकारले बनाउँदै स्वदेशमै रोजगारको अवसर खोज्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनी भन्छन्, ‘कलाकार र राज्य मिलेर यस क्षेत्रको विकासमा योगदान दिनुपर्छ । यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि खोज अनुसन्धानका कामलाई गति दिनुपर्छ । साथै यस कार्यका लागि हामीले सङ्गठित रूपमा काम गर्नुपर्छ । सबै कलाकार एकजुट भएर मिलेर काम गरेमा नेपाली कला समृद्धिको दिशामा अगाडि बढ्छ ।’
निचोड
पाँच दशकदेखि निरन्तर कलाकर्ममा सक्रिय लालमानले नेपालको परम्परागत मौलिक थाङ्काको विकास, प्रवद्र्धन र व्यवसायमा विशिष्ट योगदान दिएका छन् । नेपाली कला परम्परामा उनले थाङ्का कलाको प्रतिनिधित्व गर्दै देशलाई चिनाएका छन् । यस अवधिमा उनले अपनाएको कला धारले नेपालको बौद्ध आदर्श र परम्परालाई जीवन्त राख्न र यसको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सघाउ पुगेको छ ।
प्रतिक्रिया