चुनावका बेला नेताहरूका महिला द्वेषी टिप्पणी

चमिना भट्टराई

ओलीको अभिव्यत्तिमा मौन रहनु भनेको सामन्तवादी सोच र अभिव्यक्तिलाई स्वीकार गर्नु पनि हो । के एमाले भित्रका महिला नेतृले सामन्तवादी सोचलाई स्वीकार गरेकै हुन् ? प्रश्न उठन थालेको छ । होइन भने महिलाप्रति ओलीले गरेको अपमानजनक शब्दको बारेमा केही बोल्नुपर्ने हो । राजनीतिक नेतृत्वमा रहेको कुनै पनि व्यक्तिले यसरी महिलाप्रति अपमान गर्नु घोर समान्तवादी चिन्तन हो भने त्यसलाई टुलुटुलु हेर्नु त्यसको साक्षी बन्नु हो

राजनीतिमा पार्टीको मुख्य नेताले जे बोल्छन्, मूलतः पार्टीको दृष्टिकोण त्यही हुन्छ । मुख्य नेताको सार्वजनिक अभिव्यक्ति व्यक्तिगत धारणा हो भनेर पन्छिन सकिन्न । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभाकी निवर्तमान सदस्य दुर्गा पौडेललाई ‘कान्छी भाउजू’ भन्दै कटाक्ष गरे । पौडेलले च्याँखे थापेको भन्दै ओलीले उनको आलोचनासमेत गरेका थिए । दुर्गा पौडेलप्रति केपी ओलीले बोलेका शब्द सामन्तवादी सोचको बिम्ब हो । ओलीको सो अभिव्यक्ति सामाजिक सञ्जालमार्फत धेरैले विरोध जनाए । ‘यस्तो लैंगिक विभेदी लाञ्छनाप्रति निर्वाचन आचारसंहिता आकर्षित हुँदैन ?’ भन्दै निर्वाचन आयोगको समेत ध्यानकर्षण गरेको पाइयो ।

काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पौडेलप्रति टिप्पणी गर्दे भनेका थिए, ‘एउटा पार्टी छ मोहनविक्रम जीको । हामीले भोट खसाएर कान्छी भाउजूलाई संसद्मा ल्याइदियौँ, भरे त भष्मासुर भएर हाम्रै टाउकोमा हात राख्दै एमालेको सरकार ढाल्न च्याँखे खेलिन् ।’ एमालेकै भोटका आधारमा जितेको दाबी गर्दै उनीप्रति व्यंग्य गरे । उनका सो भनाइमा पौडेल एमालेकै कारण सांसद भएकी थिइन् । ‘च्याँखे प्रवृत्ति निकै खराब हुन्छ । राजनीतिलाई सुदढ बनाउनका निम्ति एक सिटे र च्याँखे प्रवृत्तिलाई हटाउनुपर्छ,’ ओलीले अगाडि भने ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि व्यंग्यात्मक टिप्पणी गरे । ‘अस्ति सुन्नुभयो नि एकजना नेताले हामी तेस्रो तर निर्णायक शक्ति हुन्छौँ भनेको । यो भनेको बीचमा उभिने डाँक बढाबढ गर्ने भनेको हो’, उनले भने । ओलीको स्वभाव भनेकै मान्छेलाई होच्याउने र नकारात्मक टिप्पणी गर्नमा अगाडि छ । उनी आफँै सकिन समान्य ठान्छन्, तर अरूको अस्तित्व स्वीकार गर्देनन् । त्यो विगतले पनि देखाएको छ ।
पौडेल प्युठानबाट प्रतिनिधिसभा सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार भएर चुनावी मैदानमा छिन् । ओलीले ०७४ को निर्वाचनमा एमालेको भोटले जितेकी पौडेलले आफ्नो सरकार ढाल्न भूमिका खेलेको भन्दै कटाक्ष गरेको प्रति पौडेलले जवाफमा भनिन, ‘आफू एमालेका कारण जितेको नभई एमालेका उम्मेदवारले प्रदेशसभामा आफ्नो भोटले जितेको नबिर्सनु ।’ मोहनविक्रम र आफ्नो विवाह भएको दुई दशकभन्दा बढी भइसकेको भन्दै उनले ‘कान्छी भाउजू’ शब्दले आफ्नो नारी चरित्रमा आँच पु¥याएको टिप्पणी गरेकी छन् । पौडेलप्रति ओलीले गरेको टिप्पणी सामाजिक सञ्जालका साथै सञ्चार माध्यममा समेत ट्रोल भएको थियो । सामाजिक अभियन्ता र विभिन्न राजनीतिक दलका महिला नेतृले त्यसको विरोध गरे । यद्यपि एमालेका महिला नेतृले भने ओलीको टिप्पणीप्रति टिप्पणी गरेनन् । सायद उनीहरूले आफ्नो अध्यक्षको भनाइलाई समान्य रूपमा लिए ।

– एउटा पार्टी छ मोहनविक्रम जीको । हामीले भोट खसाएर कान्छी भाउजूलाई संसद्मा ल्याइदियौँ, भरे त भष्मासुर भएर हाम्रै टाउकोमा हात राख्दै एमालेको सरकार ढाल्न च्याँखे खेलिन्, काठमाडौंमा केपी शर्मा ओली

आफूलाई कम्युनिस्ट भन्ने ओलीको उक्त अभिव्यक्तिमा समान्तहरूले महिलाप्रति राख्ने हेयभाव प्रष्ट झल्किन्छ । महिलाहरूको अपमान गर्ने कुरामा समकालीन नेताहरूमध्ये ओली निकै अगाडि देखिए । उनको भनाइपछि एक खालको तरंग पनि पैैदा भयो । ‘यस्ता सामन्ति नेतालाई जीवनभर जनताले पाल्नुपर्ने ?’ यस्तोसम्म शब्दले उनको आलोचना भयो । हुन पनि उनी नाम मात्रैका कम्युनिस्ट देखिएका छन् । यो उनको भनाइ र गराइले पनि प्रष्ट पार्छ । कम्युनिस्टका नाममा यस्ता सामन्ति सोच भएकालाई चुन्नु भनेको लैंगिक अपमानलाई स्वीकृति जनाउनु पनि हो । त्यसैले निर्वाचनमार्फत कस्तालाई चुन्ने भन्ने कुरामा विचार पु¥याउनुपर्ने देखिन्छ । त्यसका लागि निर्वाचन अवसर पनि हो ।

ओलीको अभिव्यक्तिमा मौन रहनु भनेको सामन्तवादी सोच र अभिव्यक्तिलाई स्वीकार गर्नु पनि हो । के एमाले भित्रका महिला नेतृले सामन्तवादी सोचलाई स्वीकार गरेकै हुन त प्रश्न उठ्न थालेको छ । होइन भने महिलाप्रति ओलीले गरेको अपमानजनक शब्दको बारेमा केही बोल्नुपर्ने हो । राजनीतिक नेतृत्वमा रहेका कुनै पनि व्यक्तिले यसरी महिलाप्रति अपमान गर्नु घोर समान्तवादी चिन्तन हो भने त्यसलाई टुलुटुलु हेर्न त्यसको साक्षी बन्नु हो । अर्को कुरा महिला अधिकारका कुरा गर्ने कसैले पनि त्यसलाई सहज रूपमा लिन सक्दैनन् । आज दुर्गाप्रति गरिएको सो हेपहा अभिव्यक्तिमा मौन रहनु भनेको एमालेभित्र रहेका महिला नेतृहरूको पनि अपमान हो । तर, त्यसलाई उहाँहरूले सहज रूपमा लिनुभएको छ । हेरौँ भोलि फेरि उहाँहरू महिला अधिकारका कुरा कसरी गर्नुहुन्छ !

केही दिनअघि एमाले सचिवसमेत रहेका गोकर्ण विष्टले पनि ओलीको पद पछ्याउँदै नेकपा (एकीकृत समाजवादी)को सचिव तथा गुल्मी–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी रामकुमारी झांक्रीप्रति अराजनीतिक टिप्पणी गरे । कुनै बेला विष्टका लागि मरिमेटेर सहयोग गर्ने झांक्री यति बेला फरक राजनीतिक पार्टी भएका कारण उनैको चुनावी प्रतिस्पर्धी बनेकी छन् । फरक फरक पार्टीमा एकै प्रकारको जिम्मेवारीमा रहेका उनीहरूको बीचमा चुनावी प्रतिस्पर्धा कस्तो छ भन्ने कुरा विष्टले झांक्रीप्रति गरेको टिप्पणीले प्रष्ट्याउँछ । यो उनको हतास मनस्थितिको अभिव्यक्ति हुन सक्छ । गुल्मेली जनता यस्ता कुरामा सचेत छन् भन्ने लाग्छ ।

उनीहरू दुवै पूर्व मन्त्री हुन् । तर, निर्वाचनमा आफ्नै प्रतिस्पर्धी बनेकी चेलीलाई विष्टले केही दिनअघि भनेका थिए, ‘जनजातीका छोरी चेलीलाई घर पठाउँदा सोलीभरी सेलरोटी र रक्सीको कोसेली बोकाएर पठाउने हो, भोट दिने होइन ।’ उनको यो अभिव्यक्ति जातीय र लैंगिक रूपमा पनि अपमानजनक छ । विष्टको यो अभिव्यक्ति सामन्तवादी सोच नै हो । एकातिर जनजाति र अर्कोतर्फ महिला भन्दै उनले हेप्ने प्रयास गरेका छन् । विष्टको यो अभिव्यक्तिले जनजाति र महिला मात्रै होइन गुल्मीका जनताले मतदान गर्नु अघि सोच्न वाध्य पारेको छ ।


नेपालको संविधानले कुनै पनि नागरिक देशका कुनै पनि क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बन्न प्रतिस्प्रर्धा गर्न सक्ने व्यवस्था गरेको छ । यो कुरा विष्टलाई जानकारी हुनपर्छ । अर्को कुरा रामकुमारी गुल्मीमा जन्मी त्यही माटोबाट राजनीति सुरु गरेकी व्यक्ति हुन् उनको त्यहाँ हक लाग्छ । राजनीतिमा आफ्ना प्रतिस्पर्धीलाई राजनीतिक रूपमा नै प्रहार गर्नु वेश हुन्छ, यस्ता बेतुकका कुरा गर्ने विष्टलाई जनताले पक्कै जवाफ दिनेछन् । त्यसका लागि धेरै दिन कुर्नु पर्दैन ।

जनजातिका छोरी चेलीलाई घर पठाउँदा सोलीभरी सेलरोटी र रक्सीको कोसेली बोकाएर पठाउने हो, भोट दिने होइन – गुल्मीमा गोकर्ण विष्ट

ओलीकै दलका अर्का नेता केशव स्थापितले स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर उम्मेद्वार दिएका बेला महिलाका बारेमा त्यस्तै स्तरहीन टिप्पणी गरेका थिए । उम्मेद्वार भएका बेला स्थापितलाई प्रश्न गर्ने एक महिलालाई ‘यू आर ब्युटीफुल लेडी तर थुतुनो भएन’ भन्ने अभिव्यक्ति दिँदा उनले पनि चर्को आलोचना खेपेका थिए । बेला बेला यस्तै अभिव्यक्तिका कारण आलोचना खेप्ने गरेका स्थापितले हुँदाखादाको प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएर मेयरमा गरेको प्रतिस्प्रर्धालाई जनताले ठाडै अस्वीकार गरेका थिए । यसअघि दुईपटक काठमाडौंका मेयर भएका उनले तेस्रो स्थानमा थन्कनु परेको थियो ।

पछिल्लो समय ओली र उनका यस्तै अभिव्यक्तिका कारण एमालेमा चरम सामन्तवादी सोच विकास भएको देखिन्छ । पार्टीमा रहेका पुरुषले महिलालाई अपमान गरिरहने र त्यही रहेका महिला नेतृहरू टुलुटुलु हेरेर बस्ने गरेका छन् । होइन भने खोइ त त्यसको खण्डन वा प्रतिवाद गर्न सकेको ! विभिन्न राजनीतिक आन्दालनले सामन्तवाद अन्त गरे पनि त्यसको अवशेष एमाले पार्टीका नेतामा जीवितै रहेछ भन्ने कुरा माथिका केही उदाहरणहरूले देखाउँछ । यी यस्ता अभिव्यक्तिले एमाले पार्टीको महिलाप्रतिको देष्टिकोण के रहेछ भन्ने बुझ्न सजिलो हुन्छ ।


त्यसलै अहिलेको युगमा कसैलाई पनि जात, लिंग, वर्ग वा अन्य कारणले हेपिन्छ वा त्यस्तै प्रकारका व्यवहार गरिन्छ भने त्यो आफैँका लागि घातक बन्नेछ । यी माथिका उदाहरण मात्रै हुन्, यस्ता सोच, प्रवृद्धि र चिन्तन भएका जो कोहीलाई सचेत नागरिकले चिनेर त्यसको उचित जवाफ दिनुपर्छ । यति बेला हामीसामु यस्तै सोच भएकालाई चोटिलो जवाफ दिने समय आएको छ । त्यस बारेमा सबै सचेत र चेतनशील नागरिकले सोच्नुपर्छ । यस्ता तल्ला स्तरका टिप्पणी गर्नेहरूको दबाब थेग्ने होइन, जवाफ दिने हो । त्यसका लागि चर्को आवाज मात्रै होइन, सोच विचार सहितको निर्णय चाहिन्छ । त्यो पूरा गर्ने दिन हामीसामु छ सोच विचार गरी सामन्तवादी सोच र चिन्तन भएकाहरूलाई वहिष्कार गरौँ ।
[email protected]

प्रतिक्रिया