काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् ।
कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको संख्या यस पटक उच्च छ । राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल ओलीले नेकपा (एमाले) बाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनी प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहेकी छन्छ ।
अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दर्ता गराएकी उनी घरदैलोमा पुग्दै आफ्नो गृह जिल्लामा मत मागिरहेकी छन् ।
केही वर्षयता अभिनेत्री थापा कलाकारिता भन्दा पनि राजनीतिमा सक्रिय छन् । ‘यो मेरो गृह जिल्ला हो, मैले यहाँको भू–भाग बुझेकी छु, यहाँको सेवा गर्दै राजनीति सुरु गरेकी हुँ’, उनले भनिन् ।
फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यको लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दासढुङ्गा, बधशाला, ग्रेटर नेपाल जस्ता फिल्म र डकुमेन्ट्री निर्देशन गरिसकेका पण्डितले विगत ६ महिनादेखि नै तयारी गरिरहेका थिए ।
‘अहिले जनताले स्वतन्त्रलाई पनि विश्वास गर्न थाल्नुभएको छ, यसैले उम्मेदवारी दिएको हुँ, किनकि मैले स्थानीय विकास गर्न कसैको निर्णय पर्खिनु पर्दैन, स्वतन्त्र छु’, उनले भने ।
प्रतिनिधिसभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका उनले समाज परिवर्तनका लागि आफू स्वतन्त्र रुपमै चुनावमा होमिएको बताए ।
निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ । कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ ।
फिल्म निर्माता तथा अभिनेता रोज राणाले पनि नेपाली कांग्रेसका तर्फबाट प्यूठानको क्षेत्र नं १ को २ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन् । ‘मलाई पार्टीले विश्वास गरेर अवसर दिएको छ, यसको पूर्ण सदुपयोग गर्नेछु’, उनले भने ।
फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवारी दिएका छन् । केही समययता सक्रिय राजनीतिमा रहेका श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट उम्मेदवारी दिएका हुन् ।
‘मेरो उम्मेदवारी युवालाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो, परिवर्तनका लागि अगाडी बढ्नै पर्छ’, उनले भने । श्रेष्ठले सम्झिदिए पुग्छ, दुई दुना पाँच, ह्याप्पी न्यू इयर, पल्टन, जङ्गली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गरेका छन् ।
चुनावी मैदानमा देखिएका कलाकारको उपस्थितिले कला क्षेत्रलाई टेवा पुग्ने विश्वास हाँस्य कलाकार शिवशंकर रिजालको छ । ‘कलाकारहरूलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलले अझैँ संख्या बढाउनु जरुरी छ, यद्यपि सुरुवात राम्रो छ, म लगायत धेरै साथीलाई यसले चुनावी मैदानमा आउन हौसला मिलेको छ’, उनले भने ।
प्रतिक्रिया