पिपुल्स हाइड्रोपावरको आईपीओ खुल्याे

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले २५ कात्तिक २५ बिहीबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन खुला गरेको हो ।

कम्पनीले आयोजन प्रभावितका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तासहित कुल ५६ लाख ६ हजार ३९० कित्ता साधारण सेयर निष्कासन खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाा बराबरको साधारण सेयर जारी गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ छिटोमा २९ कात्तिकमा बन्द हुनेछ भने उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद ९ मंसिरसम्म थप हुनेछ ।

प्रतिक्रिया