भ्रष्टाचारविरुद्ध राजेन्द्रको गीत, ‘मत बोल्ने हो’

काठमाडौं । लोक तथा दोहोरी गायक राजेन्द्र कँडेलले ‘मत बोल्ने हो’ नामक गीत बजारमा ल्याएका छन् । ‘नेपाली मेलोडिस’ नामक युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

देशमा भइरहेको महँगी र नेताहरुले गरेको नेताहरुले गरेका भ्रष्टाचारविरुद्ध ‘मत बोल्ने हो’ नामक गीत ल्याएको गायक कँडेलले बताए । उक्त गीतमा गायक कँडेलाई अन्य कलाकारहरु गायक गोविन्द पराजुली, राजेन्द्र बाजुराली, गायिका रुपी सिंजाली र प्रेमा रानाले आवाजमा साथ दिएका छन् ।

रमेश लुइटेलले शब्द रचना गरेको गीतमा गायक कँडेल आफैंले संगीत भरेका छन् भने विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा गायक कँडेलको आफ्नै निर्देशन रहेको छ ।

राजेश घिमिरेले छायांकन गरेको भिडियोमा हास्य कलाकार कमल गाउँले लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् । नविन घर्तीमगरले उक्त भिडियो सम्पादन गरेका हुन् ।

देशमा आकासिँदै गएको महँगी, नेताहरुले गरिरहेको चरम भ्रष्टाचार र लाखौँ नेपालीहरु स्वदेशमा जागीर नपाएर विदेश होमीन बाध्य भएका घटनाका विषयहरु शब्दमा समावेश गरेर सचेतनामूलक गीत बजारमा ल्याएको गायक कँडेलले जानकारी दिए ।

उनले भने, ‘हामी आम नागरिक आफ्नै देशमा जागीर नपाएर विदेश जान बाध्य छौँ, नेताहरु भने एस आरामको साथ कुर्सीमा बसेर भ्रष्टाचार गरिरहेका छन्, यसै लाई आधार बनाएर यो गीत ल्याएको हुँ ।’ साथै, उनले यस गीत आफ्नो व्यक्तिगत मात्रै नभइ सम्पूर्ण नेपाली जनताको आवाज भएको जिकिर गरे ।

‘सुन्नुहोला नेपालीजन यो मनको बह, युवा विदेश पलायन हुने चलेको छ लहर, राम्रो लाउन मिठो खान कसलाई हुन्न रहर, त्यही रहरले गाउँ छोडी पस्न पर्यो शहर, बोल्ने हो, बोल्ने हो मत बोल्ने हो, भ्रष्टाचारी जतिको पोल खोल्ने हो’ जस्ता शब्द उक्त गीतमा सुन्न सकिन्छ ।

आफूले यसभन्दा अघि पनि दार्जनौँ मौलिक र मायाप्रेमका गीत बजारमा ल्याइसकेको गायक कँडेलले बताए ।

प्रतिक्रिया