एमाले उम्मेदवारको मत माग्ने शैली– काममा बाधा पुर्याएँ माफ गर्दिनुस् है

बागलुङ । ‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो, मैले डिस्टब गरेँ, माफ पाउँ है’, धान उठाइरहेका किसानहरुको नजिकै पुगेर नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठकले भने, ‘चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरु व्यस्त भएर घरमा भेट्न पाइएन् ।’

बुधबार आसन्न निर्वाचनका लागि प्रचारमा रहेका एमाले उम्मेदवार पाठक जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा घरदैलो गर्दै थिए । मत माग्दै हिँडेका बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नवराज पौडेलसहितका नेताहरुको समूहले खेतबारीमै पुगेर मतदाता भेटेको थियो ।

मतदातालाई भेट्दै पाठकले बितेका पाँच वर्षमा आफूले गरेका कामलाई हेरेर मतदान गर्न आग्रह गरे । पाठकले पहिलो कार्यकाल अनुभव बटुल्ने समय भएको भन्दै जनताका सम्बोधन नभएका बाँकी मुद्दा आगामी कार्यकालमा सम्बोधन गर्ने बताए ।

‘मैले नगरेको होइन, तीन वर्ष हाम्रो सरकार थियो काम भएकै थिए, त्यसपछि सरकार ढल्यो काम रोकिए’, पाठकले भने, ‘हिजो मैले प्रयास गरेका कयौँ काम अधुरा छन्, पूरा गर्नुपर्ने छ ।’ प्रदेशसभाका उम्मेदवार नवराज पौडेलले दक्षिण बागलुङको मुहार फेर्न आफ्नो उम्मेदवारी भएको बताए ।

निश्चित घेराभित्र रहेको राजनीतिलाई तोड्न र जनताको सेवा गर्ने प्रतिनिधि प्रदेशसभामा पुर्याउन एमालेलाई जिताउनुपर्ने पौडेलले बताए । क्षेत्र नं. १ प्रदेशसभा ‘क’ का उम्मेदवार हिराबहादुर केसीले बागलुङ नगरपालिकाका विभिन्न वडामा पुगेर जभेटघाट गरेका छन् ।

केसीले यसपटक युवा उम्मेदवार छानीछानी जनताले जिताउनुपर्ने बताए । उर्जा र अनुभव भएका युवा नेताहरु चुनावी मैदानमा रहेकाले मतदान गर्न मतदातालाई सहज रहेको दाबी केसीले गरे ।

क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार मञ्जु शर्मा चालिसे र प्रदेशसभा ‘क’का स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले बडिगाड गाउँपालिकाका विभिन्न वडामा घरदैलो गरेका छन् । घरदैलोका क्रममा चालिसेले आफूले सधैं यस क्षेत्रका जनताको सेवा गरिरहेको भन्दै संसदमा पश्चिम बागलुङको आवाज पुर्याउन आएको बताइन् ।

प्रदेशसभा उम्मेदवार घर्तीले कुरा गर्नेभन्दा काम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताए । एमालेका समानुपातिक उम्मेदवार बाबुराम नेपालीले सत्ता गठबन्धन स्वार्थ बोकेर जनताको माझमा आएकाले राष्ट्रियताको रक्षाको अभिभारा बोकेर आएको एमालेलाई जिताउनै पर्ने बताए ।

प्रतिक्रिया