नविल फोन लोनको दायरा बढ्यो

काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्युनतम सीमा र डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २ लाख रुपैयाँ पु¥याइएको बैंकले जनाएको छ । यसका अतिरिक्त फोनलोन लिने योग्य समूहको दायरा पनि बढाइएको पनि बैकले जनाएको छ ।

नबिल बैंक फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक भएको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्ट पनि फोनलोनका लागि योग्य हुने बैंकले जनाएको छ । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यो सुविधा उपलब्ध थियो ।

बैंकले फोनलोनको अफरलाई पनि अपग्रेड गरेको छ । फोनलोनका लागि योग्य ग्राहकले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्ने बैंकले जनाएको छ । बैंकले ग्राहकको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने स्पष्ट पारेको छ ।
ग्राहकहरूले वस्तु वा सेवा खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्ने बताएको छ । खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पे लेटर’ को विकल्प रोज्न सक्ने बैंकले जनाएको छ ।
बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूलाई एपबाटै अग्रिम भुक्तानी गर्न मिल्ने विकल्प छ । यस अन्तर्गत बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने बताइएको छ ।

‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ। यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेतले भनेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया