सल्यानमै पहिलोपटक व्यावसायिक पुष्पखेती सुरु

सल्यान । ढकमक्क फूलेका सयपत्री फूल देख्दा कसको पो मन लोभिँदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरी फूलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहलसमेत बढाएको छ । सल्यानमै पहिलोपटक गरिएको सयपत्री फूलको खेतीले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल अर्डर, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ ।

जिल्लाको श्रीनगर क्षेत्रमा गरिएको फूल खेतीले सबैको मन लोभ्याउनुका साथै आर्थिक उर्पाजनको गतिलो माध्यमसमेत बनेको छ । शारदा नगरपालिका–२ जोगिदेउखोलामा पुष्पखेती गर्दै आएका मोहन वलीले आफूले गरेको सयपत्री र मखमली फूलको खेतीले यतिखेर सबैको मन लोभ्याएको बताए ।

‘जिल्ला बाहिरबाट पनि फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग आइरहेको छ’ उनले भने । ओ.जी. एग्रो एन्ड टुरिजम प्रालि खोलेर उनले आठ रोपनी जमिनमा करिब सात हजार सयपत्री र दुई हजार मखमलीका बोट रोपेका छन् ।

‘तिहारलाई लक्षित गरेर फूलखेती गरिएको हो, दसैँमा मात्रै करिब एक लाख रुपैयाँका माला बिक्री भएका हुन्’, उनले भने । ‘एक बिघा जमिनमा तरकारी खेती पनि सुरु हँुदै छ, अहिलेसम्म करिब १० लाख रुपैयाँ लगानी भएको छ, जिल्लामा फूलखेतीको सम्भावना धेरै भएकाले व्यावसायिक रूपमा लाग्ने योजना छ ।’

शारदा नगरपालिका–१ पटनेरीमा सयपत्री फूलको खेती गर्दै आएका खग्रेन्द्र हमालले तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाएका छन् । एक किलो फूलको मूल्य पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ ।
जिल्लाबाटभन्दा जिल्ला बाहिरबाट फूलको माग धेरै आएको उनले बताए । हालै मात्र बागेश्वरी मन्दिर नेपालगञ्जमा ५० किलो फूल पठाइएको उनको भनाइ छ । ‘पहिले तरकारी र मकैँ, गहुँ खेती गर्ने बारीमा यस वर्ष फूल खेती गरेका छौँ, यो हाम्रो पहिलोपटक हो, जिल्लामा फूलको सम्भावना देखेर नै खेती गरेका छौँ’, उनले भने ‘यो पटकको तिहारसम्म कति बिक्री हुन्छ, त्यही आधारमा अर्को वर्ष पनि खेती सुरु गर्छौं ।’

साथी पुष्प तथा तरकारी फार्म नै सञ्चालन गरेका उनले ग्राहकको आकर्षण र माग बढेमा अर्को वर्ष थप धेरै जमिनमा फूल खेती गरिने बताए ।

घर वरिपरि जताततै फूलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको उनको भनाइ छ । उनले करिब तीन लाख रुपैयाँको लागतमा फूलखेती गरिएको बताए । ‘यो सयपत्री फूलको आधुनिक जात हो, यसलाई कर्णा–५५५ ओरेन्ज भनिन्छ, यसको बिउ विदेशबाट आयात गरेर रोपिएको हो, अहिले हामीसँग करिब पाँच हजार सयपत्रीका बोट छन्, एउटा बोटबाट दुई केजीसम्म फूल उत्पादन हुन्छ’, उनले भने, ‘सामान्यतया यो फूल टिपेको एक हप्तासम्म सुक्दैन ।’

जिल्लामा गरिएका पुष्प व्यवसायले सबैको आकर्षण बढाउन थालेपछि यतिखेर पुष्प व्यवसायले चर्चा पाएको छ । उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुले पछिल्लो समय जिल्लामा कृतिम माला आयात घटेको बताए । विगतका वर्षहरूमा तिहारमा मात्रै २५÷३० लाख बढीका कृत्रिम माला आयात हुने गरेको भए पनि पछिल्लो समय जिल्लामा नै पुष्पखेती गर्न थालिएकाले नागरिकले स्थानीय रूपमा उत्पादित सयपत्री, गोदावरी, मखमली मालाको प्रयोग गर्ने गरेको बताए ।

‘अहिले पनि जिल्ला बाहिरबाट सयपत्री मालाको आयात गर्ने क्रम रोकिएको छैन्, तर कृत्रिम माला प्रयोग गर्नेको संख्या भने घट्दै गएको छ’, उनले भने, ‘यसपालिकाको तिहारमा गत वर्षको भन्दा कम कृत्रिम माला भित्रिने आँकलन गरेका छौँ ।’ उनले स्थानीयस्तरमा उत्पादित माला अर्गानिक हुने भएकाले आर्कषक देखिने बताए ।
तिहारमा मखमली तथा सयपत्री फूलको माला लगाउँदा दाजुभाइहरूको जीवन पनि फूल जस्तै औलाउँदैन भन्ने भनाइ छ । तर पछिल्लो समयमा भने फूल लोप हुँदै जाने र कृतिम फूलले बजार लिँदै आएको थियो ।

प्रतिक्रिया