बर्षाका कारण धानवालीमा क्षति

काठमाडौं । अघिल्लो साता आएको अविरल बर्षाका कारण विभिन्न जिल्लामा धानवाली प्रभावित भएको छ । खासगरी लुम्बिनी, प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण उठाउन थालेको धानमा क्षति पुगेको हो ।

बर्दियाको राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ । बुधबारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार चार सय ९४ बिघा धान बालीमा क्षति पुगेको छ ।

३ सय ९ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने १ सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए । गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यो वर्ष पाकेको धानबाली ढालेर क्षति गरेको छ ।

यस्तै बागलुङ्गको दक्षिणी क्षेत्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा लगातार परेको वर्षाका कारण हिउँदे बालीमा क्षति पु¥याएको छ । अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पु¥याएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पु¥याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

त्यसैगरी अविरल वर्षाले सिन्धुपाल्चोकको धानबालीमा पनि क्षति पुगेको छ । दसैँको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो ।
हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको थियो । किसानले दसैँ लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् ।

प्रतिक्रिया