भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गरेका छन् । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उनले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गरेका छन् । ‘यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन’, उनले भने । केरा उत्पादक संघ चितवनका पूर्वअध्यक्षसमेत रहेका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताए । ‘यो समयमा मेरो मात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडौं भित्र्याइने गरेको छ’, उनले भने ।
सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटकपटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक÷दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताए । नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गरे ।
‘छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छाँै,’ उनले भने, ‘नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।’ केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए । यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन’, अध्यक्ष पन्तले भने ।
केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताए । ‘सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिनाएलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्’, उनले भने, ‘यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।’ यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको उनले बताए । ‘चाडपर्वमा पनि धेरै पानी प¥यो, यसकारण यस वर्ष केराको खपत पनि कम भयो,’ उनले भने ।
चितवनमा ६ सय बिघामा मात्रै हरियो (जिनाइन) केरा लगाएको घिमिरेले बताए । यो केरा एकैपटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उनले सुनाए । उनका अनुसार केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको छ । चितवनमा मात्रै सात सय किसानले व्यावसायिकरूपमा केराखेती गरिरहेका छन् ।
उत्पादन भएको केराको बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । स्वदेशमै धेरै उत्पादन भएको समयमा आयात रोकिनुपर्ने माग उनीहरूको छ । साथै उत्पादित वस्तु बिक्री नभए सरकारले किनिदिनुपर्ने उनीहरू बताउँछन् । उनीहरूले केराको मूल्य तोकेर कार्यान्वयन गराउनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् ।
चितवनमा मात्रै वार्षिक दुई अर्बको केराको कारोबार हुने गरेको छ । ‘राज्यले किसानलाई मल र बिउ समयमै उपलब्ध त गराएको छैन । किसानले जेनतेन उत्पादन गरेको वस्तुको पनि बजारको व्यवस्था गर्न सकेको छैन’, घिमिरेले भने । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । महँगो बिउ, मल, सिँचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी छ ।
भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले चितवनमा भारतीय केरा नआएको बताए । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उनले सुनाए । केराको मूल्य प्रतिकोसा तीनदेखि चार रुपैयाँमा किसानको बारीबाट बिक्री हुने गरेको छ । नेपालको उत्पादन ३ लाख ८ हजार ३ सय ८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । उनका अनुसार ४० प्रतिशत केरा भारतबाट आयात हुँदै आएको छ । ‘चितवनमा उत्पादन भएको केराकोे मुख्य बजार काठमाडौं हो,’ उनले भने, ‘भारतबाट दैनिक आयात हुँदा किसान मर्कामा पर्ने नै भए ।’ काठमाडौंसँगै चितवनमा उत्पादन भएको केरा पोखरा, बुटवल र दाङमा समेत जाने गरेको छ ।
देशभर केराको कुल माग ५ लाख १४ हजार ५० मेट्रिक टन रहेको छ । यहाँ २१ हजार ६ सय ३३ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । त्यसमध्ये चितवनमा मात्रै २ हजार ७६ हेक्टर क्षेत्रमा केराखेती हुन्छ । त्यसमा ४३ हजार १ सय ९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको छ । यस्तै भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ ।
प्रतिक्रिया