जापान, कोरिया र जर्मनी पुग्छ सिन्धुपाल्चोकको कफी

चौतारा । सिन्धुपाल्चोकमा उत्पादित अग्र्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने कफीका लागि विदेशीले ‘बुकिङ’ गरिरहेका छन् । १५ वर्षदेखि जिल्लाका केही भागमा सुरु गरिएको कफीखेती अहिले ३२ गाउँमा विस्तार भइसकेको छ । जिल्लाका विकट गाउँमा उत्पादित अग्र्यानिक कफीले अन्तर्राष्ट्रिय बजारमा उच्च माग पाएपछि व्यवसाय लागतअनुसार मूल्य पाउन सकिएको किसान सुदर्शन बोलखेले बताए ।

गत वर्ष १८ मेट्रिक टन पाचमेन्ट र पाँच मेट्रिक टन चेरीकफी जापान, कोरिया र जर्मनी निर्यात भएको जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए । प्रांगरिक प्रमाणीकरण गरी पठाइएको कफी विदेशी बजारमा गुणस्तरीय ठहरिएपछि माग बढेको हो । अन्तर्राष्ट्रिय बजार र नेपालका ठूला सहरमा निर्यात हुन थालेपछि किसानले ६४ कफी उत्पादन समूह गठन गरिसकेको संघका व्यवस्थापक मन्दु थापाले बताए । उनका अनुसार उत्पादित कफी जिल्ला कफी सहकारी संघले संयोजन गरी विदेश निर्यात गर्दै आएको छ । किसानले वार्षिक एक करोड रुपैयाँभन्दा बढी जिल्ला भित्र्याउँदै आएका छन् । कफीखेतीमा जिल्लाभरका दुई हजार १ सय ५० किसान आबद्व छन् । उत्पादित कफीको माग बढ्न थालेपछि उत्पादनस्थलमै प्रशोधन गर्न प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

विगत लामो समयदेखि कफीखेती गर्दै आएका मेलम्ची नगरपालिका–१० शिखरपुरका शंकर खनाल कफी व्यवसायकै भरमा परिवार पाल्न सक्षम भएका छन् । गाउँभरि कोदो र मकै रोप्ने बारीमा कफीका बिरूवा ल्याएर लगाउन थालेपछि खनालका छिमेकी अचम्मित भएका थिए । पछि कफी उत्पादन गरी बिक्री गर्न थालेपछि भने छिमेकीमा पनि कफी लगाउने रहर जाग्न थाल्यो । फलतः खनालका छिमेकीहरू पनि कफीखेती गर्न अग्रसर हुन थाले । गाउँलेले पनि कफी रोप्न मन लागेको बताएपछि आफूले नै बिरूवा उत्पादन गरेको उनले बताए ।

कफीखेतीमा प्रशस्त जानकारी हासिल गरिसकेका उनले सुरुमा काम गर्न कठिन भए पनि बिरूवाले उत्पादन दिन थालेपछि खुसी लागेर काम गर्न हौसला मिल्ने बताए । कफीका बिरूवामा रोग लाग्दासमेत सावधानीपूर्वक उपचार गरेर उत्पादन लिन सक्नुपर्ने खनालको अनुभव छ । उनले भने, ‘सकेसम्म रासायनिक विषादीभन्दा तितो, टर्राे, पिरो र कोक्याउने जातका वनस्पतिको प्रयोगबाट रोग र किरा निर्मूल गर्नुपर्छ ।’

अहिले शिखरपुरका खनाल र उनका छिमेकी मात्र होइन, हेलम्बु गाउँपालिकाको महाँकालका रेतनाथ लामिछानेले पनि आफ्ना बाँझा पाखामा कफीका बोटले हरियो बनाएका छन् । मुस्किलले कोदो फल्ने ती पाखामा कफी राम्रै उत्पादन हुने लामिछानेले बताए । बोटबाट टिपेर केजीको चार सयदेखि ५ सय ५० रुपैयाँसम्म कफी उद्योगमा पु¥याएर कफी बिक्री गर्दा पनि सामान्य बालीमा भन्दा फाइदा हुने उनकोे अनुभव छ ।

प्रतिक्रिया