दशैंमा खानपिन : सचेत भएर उपभोग गरौं मासु

काठमाडौं । दशैंंमा सचेत भएर मासु उपभोग गर्नुपर्ने बिज्ञहरुले सुझाव दिएका छन् । यो वेला सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने उनीहरुको सुझाव छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० दोब्बर बढी मासुको उपभोग हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य विज्ञ हस्तवहादुर राईकाअनुसार मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्न हुँदैन् ।


उनकाअनुसार बोसो भएको मासु पनि सकेसम्म खरिद गरी उपभोग गर्नुहुन्न् । नेपाली बजारमा उत्पादन हुने मासुमध्ये करिब ८० प्रतिशत मासु अस्वस्थ्यकर छन् । मासु उत्पादन हुने मूल स्रोत बद्यशाला नै अव्यवहारिक भएकाले शुद्ध मासुको अपेक्षा गर्न नसकिने उनको ठहर छ । ‘मासुको ओसार पसार र भण्डारण बैज्ञानिक छैंन्’, बिज्ञ राईले भने,‘तथापी उपभोक्ताले आफै सचेत भएर सकेसम्म स्वच्छ मासु उपभोग गर्न सक्छन् । सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन् ।’

वंगुरको हकमा भने बोसो नभएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज (रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ । ‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरी आवश्कताअनुसार काटेर पकाउने,’ राईले भने,‘बचेको मासु फेरी फ्रिजमा राख्ने र फेरी निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहिन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खानलाई अयोग्य मानिन्छ ।’

यस्तै पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने वेलामा तताउने फेरी फ्रिजमा राख्ने र फेरी खाने वेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यको लागि निक्कै घातक हुनसक्ने उनको ठहर छ । यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन सक्छ । मासुमा अम्लियपनाको मात्रा ५.७ पिएचभन्दा कम र ६.३ पिएचभन्दा बढी हुनुहुँदैन् । यस्तो भयो भने मासु कालो र पिक्का जस्तो देखिन्छ । यस्ता मासु सेवन गर्नुहुँदैन् ।

विभागका पूर्व महानिर्देशक जीवनप्रभा लामाकाअनुसार डिप फ्रिजमा राखिएको मासु पनि तापक्रम नमिलेर मासुभित्र पानी जम्ने सम्भावना हुन्छ । यस्तो मासु पनि मानव स्वास्थ्यका लागि खान अयोग्य हुन्छ । प्रति दिन १०० ग्रामसम्म मासु सेवन गर्नुपर्छ । कतिपय मासुमा पहिलेदेखि किटाणु यथावत हुन्छ । उक्त किटाणुले मासुमा बिष छोडेको अवस्थामा त्यस्ता मासु पनि खान हुँदैन् । मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खादा उत्तम मानिन्छ ।

अझ उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । रातो मासु अर्थात् खसी, भैंसी, सुँगुर आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयस्क तथा वृद्धहरूमा साधारणतया बढी स्वस्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु सेतो हुन्छ । यस्ता चराचुरुङ्गीको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको साटोमा चिल्लो पदार्थ कम हुन्छ । यस्ता चराचुरुङ्गीको मासुमा कम मात्रामा चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खाने समयमात्र छाला निकाल्दा राम्रो हुन्छ ।

कुखुरा र टर्कीको मासुमा झण्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै प्रकारको चराको मासुमा चिल्लो बढी हुन्छ । तर अष्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको साटोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्नसके स्वास्थ्यका लागि फाइदाजनक सावित हुन्छ । पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो मानिन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन, खनिज र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रशस्त मात्रामा हुन्छ । साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।

माछामा पाइने चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ । ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटुसम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

दसैंको स्वच्छ मासुसँगै ताजा शुद्ध मसला र खानेतेल पनि उत्तिकै महत्व राख्छ । मासु शुद्ध हुने तथा मसला र खानेतेल अशुद्ध परेको अवस्थामा फुड प्वाइजन, वान्ता आउने, झाडा पखाला लाग्ने र आउलाग्ने जस्ता समस्या आइपर्छ । सकेसम्म दसैंको लागि मसला आफै तयार पार्नुपर्छ । खानेतेल पनि निक्कै सोचविचार गरी खरिद गर्नुपर्ने उनको तर्क छ । स्वास्थ्यका लागि मासुमा धेरै मसला र बोसो प्रयोग गर्न नहुने लामाले सुझाव दिइन् ।

खान अयोग्य मासु

प्रतिग्राम मासुमा एक लाखभन्दा तलको संख्यामा जीवाणु भेटिए त्यस्ता मासु पनि खान योग्य मानिन्छ । यस्तै प्रतिग्राम मासुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिसलगायतका जीवाणु भेटिए खान अयोग्य मानिएको छ । बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर पुर्याउनेलगायतका समस्या देखापर्ने लामाले जानकारी दिइन् ।

रोग निम्त्याउँछ गुणस्तरहिन मासुले

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको खाद्य विज्ञहरुको भनाई छ । ‘धेरै दिन पुग्ने गरी एकै दिन मासु पकाएर खाँदा विभिन्न प्रकारका फुड प्वाइजन हुने खतरा हुन्छ,’ लामाले भनिन ।

उनकाअनुसार रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रवल सम्भावना हुन्छ । मधुमेह र क्यान्सरजन्य रोगबाट प्रभावित भएकाले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न नहुने लामाको सुझाव छ ।

सन्तुलित रुपमा सेवन गरौं

लामाका कारण चाडपर्वको समयमा सकेसम्म ताजा र सन्तुलित रुपमा मासु सेवन गर्नुपर्छ । ‘खसीबोकाको मासुसँगै कुखुराको मासु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा पचाउन पनि सजिलो हुन्छ,’ लामाले भनिन,‘यसरी सन्तुलित खाना खाँदा शरीरमा बोसो पनि जम्मा नहुने अनि फायदा पनि गर्छ ।’ उनकाअनुसार एक पटकमा अधिकतम तीन चार टुक्रा खाँदा फायदा गर्छ मासुले ।

९० प्रतिशत पसलको मासु अस्वस्थ्यकर

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही बर्षअघि काठमाडौं, भक्तपुर र ललितपुरमा गरेको एक सर्वेक्षणअनुसार मासु पसलहरुबाट उत्पादित मासु स्वास्थ्यका लागि अस्वस्थ्यकर रहेको अवस्थामा भेटिएको थियो ।

अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित मिट सेन्टर सञ्चालनमा आएपनि मासुको गुणस्तरमा अझै कमी रहेको मन्त्रालयको भनाई छ । अध्ययन प्रतिवेदनअनुसार एक सय दुई पसलबाट बेचिने मासुको जीवाणुसम्बन्धी (माइक्रोबियल लोड) र एन्टिबायोटिक औषधिसम्बन्धी दुईखाले परीक्षण गरिएको थियो ।
उपत्यकाको एक सय दुई पसलमध्ये ६२ वटा पसलबाट बेचिने मासुमा कम परिमाणमा एन्टिबायोटिक औषधिको अवशेष भेटिएको प्रतिवेदनमा उल्लेख छ । बाँकी पसलबाट बेचिने मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक भेटिएको मन्त्रालयको प्रतिवेदन छ ।

प्रतिवेदनले करिब १० प्रतिशत पसलको मासुमात्रै खान योग्य देखाएको छ । बाँकी ९० प्रतिशत पसलबाट उत्पादित मासु खान अयोग्य भेटिएको छ । १ सय दुईवटा मासु पसलमध्ये ५५ वटाले सरकारी मापदण्ड पूरा नगरेको, ३९ वटाले आंशिक रूपमा मापदण्ड पूरा गरेको र आठ पसलले मात्रै न्यूनतम सरकारी मापदण्ड पूरा गरेको फेला परेको थियो ।

लोकल खसीमै छ स्वाद !

दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्न खोज्दै हुनुहुन्छ भने सकभर खसीबोकासम्बन्धी सम्पूर्ण जानकारी लिएर किनमेल गर्दा उत्तम हुन्छ । आवश्यक जानकारी बिना खरिद गरिने खसीबोकाले दसैं पर्वको रमझमलाई बेस्वाद बनाउन सक्छ ।

उपत्यकाको कलंकीस्थित खसीबजार, टुकुचा बजार, बिजुलीबजारलगायतका दर्जनौं बजारमा भारतबाट आयात हुने र स्वदेशमै उत्पादन हुने खसीबोका बिक्रीका लागि राखिएका छन् । बजारमा अहिले कोही सेता छन् । कोही काला छन् । कोही खैरो छन भने कोही मधुरो रातो रंगका भुत्ला भएका खसीबोका बजारमा यत्रतत्र छन् । कुनै ह्ष्ट पुष्ट छन् । कुनै निक्कै अग्ला छन् भने कुनै होचो जस्ता पनि छन् । झट्ट हेर्दा सबै खसीबोका किनौं किनौं जस्तो लाग्छ । लाग्छ ति सबै खसीबोका स्वस्थ्यकर नै छ । सबैको मासु एकनाश नै छ । सबैको मूल्य समान नै छ । यो सोचाई राखेर खसीबोका खरिद गर्दै हुनुहुन्छ भने तपाईको छनौंट गलत हुनसक्छ ।

बिज्ञहरुका अनुसार दसैंको समयमा बिक्रि हुने खसीबोका खरिद गर्दा केही आधारभूत बिषयबस्तुमा निक्कै ध्यान दिनुपर्ने हुन्छ । बिज्ञहरु भन्छन्, स्वादिलो मासुको उपभोग गर्न सकेसम्म स्वदेशमा उत्पादन भएका ‘लोकल’ जातका खसीबोका नै रोजौं । लोकल जातको खसीबोकाको तुलनामा भारतबाट आयात हुने खसीबोका भने व्यवसायिक नाफा प्रयोजनका लागि उत्तम मानिए पनि स्वाद र स्वास्थ्यका लागि लोकल जातको खसीबोका उत्तम मानिन्छ ।

चौपाया खरिद बिक्रि सेवा संघका पूर्व अध्यक्ष दीपक थापाका अनुसार स्वास्थ्यलाई ध्यानमा राखेर मिठो स्वाद भएको मासु खाने हो भने लोकल जातकै खरीबोका रोज्दा उत्तम हुन्छ । मूल्यमा लोकल जातका खसीबोका भारतीय खसीबोकाभन्दा केही महँगो भएपनि आफ्नै स्वदेशको उत्पादन राम्रो भएको उनले बताए । लोकल र भारतीय खसीबोका टाढाबाट हेर्दा उस्ता उस्तै देखिएपनि नजिकबाट हेर्दा फरक छुट्टयाउन सकिन्छ ।

त्यसपछि लोकल खसीबोका खरिद गर्ने वा भारतीय खसीबोका खरिद गर्ने हो, त्यो बिषयमा निक्र्यौल गर्नुपर्छ । स्वादिलो मासु र धेरै दिनसम्म मासु राख्नु छ भने लोकल जातकै खसीबोका खरिद गरेको जाति । यसका लागि खसीबोकाको शरीरमा दाग (खसीबोकाको शरीरमा रहेका भुत्ला कैंचीले टाटेपाटे गरी काटिएको छ वा छैन ) छ वा छैंन् भन्ने हेर्नुपर्छ ।

लोकल जातको खसीबोकाको शरीरमा दाग हुँदैंन् । अर्थात कैचीले शरीरको भुत्ला टाटेपाटे गरी काटिएको हुँदैंन् । भारतीय खसीबोकामा भने यस्तो गरी काटिएको हुन्छ । त्यस्तै लोकल खसीबोकाको शरीरमा भुत्ला निक्कै बढी हुन्छ ।

पशु सेवा विभागकाअनुसार लोकल खसीबोका निक्कै फुर्तिला, ह्ष्ट पुष्ट, चञ्चले र स्याउला, घांसपात, मकैलगायत सबै चरण सामाग्री खाने हुन्छ भने भारतीय खसीबोका एकलकाटे, दुब्लो, पात्लो र टाढाबाट हेर्दा बिरामीजस्तो लाग्ने देखिन्छ । भारतीय खसीबोका गहुँ र चना चरण सामाग्रीमा बढी रुचाउछन् । लोकल जातको खसीबोकामा भारतीय खसीबोकाको तुलनामा मासु केही कम हुन्छ । बोसो पनि निक्कै कम हुन्छ । तर स्वस्थ्यकर र स्वादिलो मासु लोकलमै हुन्छ ।

उनकाअनुसार लोकल खसीबोकाको मासु केही लामो दिनसम्म पनि जर्गेना गरी खान मिल्छ । मासु विग्रदैंन् । तर भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैंन् । भारतीय खसीबोका खरिद गरेर घरमा पनि धेरै दिनसम्म राख्न मिल्दैंन् । हावापानी र चरण सामाग्री अमिल्दो भएर केही दिनमै भारतीय खसीबोका बिरामी हुने खतरा हुन्छ ।

लक्षण हेरी खरिद गरौं

श्वास प्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट ¥याल र सिंगानजस्तो आएको र ज्वरो लागेको खसीबोका सकेसम्म खरिद गर्नुहुन्न् । यसैगरी टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिएका खसीबोका पनि खरिद गर्नुहुन्न् । मुखबाट ¥याल आउने, असामान्य रुपमा कराउने, ज्वरो आएको, छिनछिनमै दिसा गर्ने र खुट्टाले भुई कोट्याइ रहने खसीबोका पनि अस्वस्थ्य मानिन्छ । त्यसैगरी खसीबोकाको गिंजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त र झोक्राउनेजस्ता लक्षण देखिने खसीबोका पनि रोजाई हुन सक्छ ।

प्रतिक्रिया