दसैँमा स्वास्थ्यबर्द्धक मासुको खाँचो

काठमाडौं । दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्न खोज्दै हुनुहुन्छ भने सकभर खसीबोकासम्बन्धी सम्पूर्ण जानकारी लिएर किनमेल गर्दा उत्तम हुन्छ । आवश्यक जानकारी बिना खरिद गरिने खसीबोकाले दसैं पर्वको रमझमलाई बेस्वाद बनाउन सक्छ ।

उपत्यकाको कलंकीस्थित खसीबजार, टुकुचा बजार, बिजुलीबजारलगायतका दर्जनौं बजारमा अहिले भारतबाट आयात हुने र स्वदेशमै उत्पादन हुने खसीबोका बिक्रीका लागि राखिएका छन् । बजारमा अहिले कोही सेता छन् । कोही काला छन् । कोही खैरो छन भने कोही मधुरो रातो रंगका भुत्ला भएका खसीबोका बजारमा यत्रतत्र छन् ।

कुनै ह्ष्टपुष्ट छन् । कुनै निक्कै अग्ला छन् भने कुनै होचो जस्ता पनि छन् । झट्ट हेर्दा सबै खसीबोका किनौं किनौं जस्तो लाग्छ । लाग्छ ति सबै खसीबोका स्वस्थ्यकर नै छ । सबैको मासु एकनाश नै छ । सबैको मूल्य समान नै छ । यो सोचाई राखेर खसीबोका खरिद गर्दै हुनुहुन्छ भने तपाईको छनौंट गलत हुनसक्छ ।

बिज्ञहरुका अनुसार दसैंको समयमा बिक्रि हुने खसीबोका खरिद गर्दा केही आधारभूत बिषयबस्तुमा निक्कै ध्यान दिनुपर्ने हुन्छ । बिज्ञहरु भन्छन्, स्वादिलो मासुको उपभोग गर्न सकेसम्म स्वदेशमा उत्पादन भएका
‘लोकल’ जातका खसीबोका नै रोजौं । लोकल जातको खसीबोकाको तुलनामा भारतबाट आयात हुने खसीबोका भने व्यवसायिक नाफा प्रयोजनका लागि उत्तम मानिए पनि स्वाद र स्वास्थ्यका लागि लोकल जातको खसीबोका उत्तम मानिन्छ ।

चौपाया खरिद बिक्रि सेवा संघका पूर्व अध्यक्ष दीपक थापाका अनुसार स्वास्थ्यलाई ध्यानमा राखेर मिठो स्वाद भएको मासु खाने हो भने लोकल जातकै खरीबोका रोज्दा उत्तम हुन्छ । मूल्यमा लोकल जातका खसीबोका भारतीय खसीबोकाभन्दा केही महँगो भएपनि आफ्नै स्वदेशको उत्पादन राम्रो भएको उनले बताए । लोकल र भारतीय खसीबोका टाढाबाट हेर्दा उस्ता उस्तै देखिएपनि नजिकबाट हेर्दा फरक छुट्टयाउन सकिन्छ ।

दसैंमा बिक्रि हुने खसीबोकामा सबैभन्दा पहिले सिंहमा ‘हरियो’ र ‘रातो’ रंग लगाइएको आधारमा छनौट गर्नुपर्छ । हरियो रंग स्वस्थ्यवद्र्धक गर्छ भन्ने जनाउंछ भने रातो रंग अस्वस्थ्य छ भन्ने बुझाउछ । सरकारले दसैंको अवधीमा उपत्यकामा भित्रिने सम्पूर्ण खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य भेटिएको अवस्थामा सिंगमा हरियो रंग र अस्वस्थ्य भेटिएको खण्डमा सिंगमा रातो रंग लगाइदिन्छन् । खसीबोका खरिद गर्दा पहिलो छनौटको आधार यसैलाई मान्नुपर्छ ।

पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार त्यसपछि लोकल खसीबोका खरिद गर्ने वा भारतीय खसीबोका खरिद गर्ने हो, त्यो बिषयमा निक्र्यौल गर्नुपर्छ । स्वादिलो मासु र धेरै दिनसम्म मासु राख्नु छ भने लोकल जातकै खसीबोका खरिद गरेको जाति । सामान्य समयभन्दा यो समयमा झण्डै १० दोब्बर बढी मासुको उपभोग हुन्छ ।

यसका लागि खसीबोकाको शरीरमा दाग(खसीबोकाको शरीरमा रहेका भुत्ला कैंचीले टाटेपाटे गरी काटिएको छ वा छैन ) छ वा छैंन् भन्ने हेर्नुपर्छ । लोकल जातको खसीबोकाको शरीरमा दाग हुँदैंन् । अर्थात कैचीले शरीरको भुत्ला टाटेपाटे गरी काटिएको हुँदैंन् । भारतीय खसीबोकामा भने यस्तो गरी काटिएको हुन्छ । त्यस्तै लोकल खसीबोकाको शरीरमा भुत्ला निक्कै बढी हुन्छ ।

लोकल खसीबोका निक्कै फुर्तिला, ह्ष्ट पुष्ट, चञ्चले र स्याउला, घांसपात, मकैलगायत सबै चरण सामाग्री खाने हुन्छ भने भारतीय खसीबोका एकलकाटे, दुब्लो, पात्लो र टाढाबाट हेर्दा बिरामीजस्तो लाग्ने देखिन्छ । भारतीय खसीबोका गहुँ र चना चरण सामाग्रीमा बढी रुचाउछन् ।

‘लोकल जातको खसीबोकामा भारतीय खसीबोकाको तुलनामा मासु केही कम हुन्छ । बोसो पनि निक्कै कम हुन्छ । तर स्वस्थ्यकर र स्वादिलो मासु लोकलमै हुन्छ’, ढकालले भने । उनकाअनुसार लोकल खसीबोकाको मासु केही लामो दिनसम्म पनि जर्गेना गरी खान मिल्छ । मासु विग्रदैंन् । तर भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैंन् ।

भारतीय खसीबोका खरिद गरेर घरमा पनि धेरै दिनसम्म राख्न मिल्दैंन् । हावापानी र चरण सामाग्री अमिल्दो भएर केही दिनमै भारतीय खसीबोका बिरामी हुने खतरा हुन्छ । यसवाहेक स्वस्थ्य खसीबोका छनौट गर्न केही अन्य आधारभूत लक्षणमा पनि ध्यान दिनुपर्छ ।

यस्ता लक्ष्ण भएको खसीबोका नकिनौं

श्वास प्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट र्याल र सिगानजस्तो आएको र ज्वरो लागेको खसीबोका सकेसम्म खरिद गर्नुहुन्न् । यसैगरी टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिएका खसीबोका पनि खरिद गर्नुहुन्न् । मुखबाट ¥याल आउने, असामान्य रुपमा कराउने, ज्वरो आएको, छिनछिनमै दिसा गर्ने र खुट्टाले भुई कोट्याइ रहने खसीबोका पनि अस्वस्थ्य मानिन्छ । त्यसैगरी खसीबोकाको गिंजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त र झोक्राउनेजस्ता लक्षण देखिने खसीबोका पनि रोजाई हुन सक्छ ।

प्रतिक्रिया