सिक्लेस हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपिओ मंगलबार बिहान बाँडफाँट भएको छ । बिक्री प्रवन्धक बिओके क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ५ हजार ८०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

उक्त आइपिओमा कुल १५ लाख १३ हजार ७८८ जना आवेदकले आवेदन दिएकोमा १ हजार २५१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले भदौ २९ गतेबाट असोज २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गरेको हो । उक्त सेयरमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको छ । यी बाहेक १० लाख ५८ हजार कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा आएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया