किशोरीले ३० सेकेन्डमा २२ वटा मोजा लगाइन् !

मोन्ट्रियल । क्यानडाकी १४ वर्षीया किशोरी क्यारोलेना क्रुसले केवल तीस सेकेन्डभित्र बाइसवटा मोजा लगाएर नयाँ गिनिज वर्ल्ड रेकर्ड राखेकी छन् । क्याल्गरी निवासी उनले तीस सेकेन्ड भित्र सबैभन्दा बढी संख्यामा मोजा लगाउने प्रतिस्पर्धा (१६ वर्ष उमेर मुनिको समूहमा) जित्नका लागि लामो समयदेखि अभ्यास गर्दै आएको बताएकी छन् ।

उनले आफ्नो पहिलो प्रयासमै गत मे महिनामा भारतका आरिफ इब्न अब्दुल हलिमले राखेको १९ वटा मोजाको कीर्तिमान तोड्न सफल भएकी थिइन् । उनले सीबीसी रेडियोको ’क्याल्गरी आइओपनर’ कार्यक्रमलाई आफ्नो अनुभव यसरी सुनाएकी छन्, ‘तपाईंले बस आफ्नो सम्पूर्ण ध्यान मोजा लगाउनुमा केन्द्रित गरेर काम सुचारु राख्नु पर्दछ । यस प्रतिस्पर्धामा पहिल्यै एउटा मोजा लगाउन दिइने नियम राम्रो छ ।’

आफ्नी आमासामु २२ वटासम्म मोजा निर्धारित समयमा लगाउन सफल उनको प्रयास उपाधि जित्नका लागि काफी थियो । यसैसाता मात्र आफूलाई गिनिज वर्ल्डको आधिकारिक प्रमाण पत्र मेलमार्फत प्राप्त भएको उनले जानकारी दिएकी छन् । उनको भविष्यमा वयस्क समूहको २८ वटा मोजा लगाइएको कीर्तिमान तोड्ने पनि योजना रहेको छ ।

प्रतिक्रिया