नैरोबी । केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ । केन्याली वाइल्डलाइफ सर्भिस (केडब्लुएस) ले चारै जनालाई ‘बायो पाइरेसी’मा संलग्न भएको आरोप लगाएपछि यो मुद्दाले निकै चर्चा पाएको छ ।
बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन् । राजधानी नैरोबीबाट करिब १६० किलोमिटर टाढा रहेको नाकुरु काउन्टीमा दुई हजार २४४ वटा ट्युबमा प्याक गरिएका पाँच हजार रानी कमिलासहित लोर्नोय र लोडेविजक्क्सलाई पक्राउ गरिएको हो ।
एएफपीले देखेको आरोपपत्र अनुसार दुह र एनगाङ्गामा कपासको ऊनले भरिएको १४० वटा सिरिन्ज र दुई कन्टेनरमा कमिलाहरू राखिएको अवस्थामा फेला परेका थिए। यी दुई मुद्दा छुट्टाछुट्टै थिए तर चारै जनाविरुद्ध एकसाथ मुद्दा चलाइएको थियो ।
बेल्जियममा लोर्नोयलाई ‘कमिला प्रेमी’ को रूपमा वर्णन गरिएको छ भने उनले घरमा कमिलाका समूहहरूको भण्डारण गरेका छन् । उनी ‘कमिला र कमिला पालन’ नामक फेसबुक समूहको सदस्य हुन् । उनले अनुसन्धानकर्ताहरूलाई कमिलाको ओसारपसार गैरकानुनी हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
नैरोबीको प्रहरीले बेल्जियनहरूले लगेको कमिलाको मूल्य १० लाख शिलिङ (सात हजार ७४० अमेरिकी डलर) मूल्य बराबरको रहेको बताएको छ । अदालतको प्रतिवेदन अनुसार उक्त चोरीमा दुर्लभ ‘मेसोर सेफालोट्स’ प्रजातिको कमिला पनि समावेश छ, जसमध्ये एक रानी कमिला हाल कम्तीमा ९९ अमेरिकी डलरमा बिक्री भइरहेको छ ।
अनुमति बिना कुनै पनि वन्यजन्तुको नमूना वा ट्रफी राख्नुलाई केन्याको कानुनले एक आपराधिक घटना मान्छ । घटनामा संलग्न व्यक्तिहरूलाई सामान्यतया १० हजारसम्म जरिवाना र पाँच वर्ष वा त्यो भन्दा बढी जेल सजाय हुन सक्छ ।
अदालतले अन्ततः चारै जनालाई १० लाख शिलिंग (सात हजार ७४० अमेरिकी डलर) जरिवाना वा भुक्तानी गर्न नसकेमा एक वर्षको जेल सजाय सुनाएको छ । अदालतले लोर्नोय र सेप्पेलाई सामान्य शिकारीको रूपमा नदेखिने तर उनीहरू कानुनबारे अनभिज्ञ रहेको पाइएको पनि बताएको छ ।
केडब्लुएसले उनीहरूको कार्य ‘वन्यजन्तु अपराध मात्र नभई जैविक चोरी’ पनि भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । ‘उनीहरूले कमिलालाई दुर्लभ कीराप्रजातिको माग बढिरहेको युरोप र एसियाका उच्च मूल्यका विदेशी घरपालुवा जनावरको बजारमा तस्करी गर्ने उद्देश्य राखेको थिए,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया