दसैँमा डेंगुको महामारी

यतिबेला राजधानी काठमाडौंमा कुनै घर बाँकी छैनन् होला जहाँ ज्वरोले थलिएको बिरामी नभएका हुन् । राजधानी काठमाडौं उपत्यकामा मात्रै होइन, अरू मुख्य सहर तथा कतिपय गाउँघरको पनि हालत यस्तै छ । बिरामी मध्ये जति जना परीक्षणका लागि डाक्टर कहाँ गएका छन्, ती सबैलाई डेंगु पुष्टि भएको छ । सिटामोलबाहेक औषधि उपचारको खासै व्यवस्था नभएका कारण बेस्सरी थला नपरेसम्म बिरामीहरू अस्पताल तथा डाक्टर कहाँ जाने गरेका छैनन् । थला परेका बिरामी जे जति अस्पताल गएका छन्, तिनीहरूको मात्रै तथ्यांक सरकारले सार्वजनिक गर्ने गरेको छ । सरकारले यसरी सार्वजनिक गरेको तथ्यांकअनुसार पनि ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिइसकेको छ । यो दुई महिना यता २४ हजार ५ सय डेंगुका रोगी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा डेंगुका कारण २९ जनाको मृत्यु भएको सरकारी रेकर्डमा छ । तर लाखौँ मानिस डेंगुबाट संक्रमित भएको र सयौ“को मृत्यु भइसकेको सहज अनुमान लगाउन सकिन्छ । किनकी सरकारले डेंगुको समस्याबारे चासो दिएकै छैन । न लामखुट्टे नियन्त्रणमा सरकारले ध्यान दिएको छ, न त डेंगु रोगको लक्षण नियन्त्रणका लागि अत्यावश्यकीय तथा एक मात्रै औषधि सिटामोलको व्यवस्था सरकारले गरेको छ । अझै पनि बजारमा सिटामोलको अभाव छ ।

डेंगु सरुवा रोग हो । विशेष जातको लामखुट्टेको टोकाइबाट यो रोग मानिसको शरीरमा प्रवेश गर्छ । डेंगु संक्रमितलाई टोकेको जुनसुकै जातको लामखुट्टेले पनि अन्य मानिसलाई टोक्यो भने यो रोग सर्छ । त्यसैले डेंगु फैलन नदिनका लागि मुख्य उपाय भनेको लामखुट्टेको नियन्त्रण हो । सरकारको इच्छा शक्ति हुने हो भने लामखुट्टे नियन्त्रण असंभव छैन । तर सरकार उदासीन छ । सरकारी तथ्यांकअनुसार पनि बागमती प्रदेशमा १९ हजार, प्रदेश–१ मा ७ सय ५३, मधेस प्रदेशमा ३ सय २३, गण्डकी प्रदेशमा ५ सय ३७, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ७२, कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७७ जना डेंगुका बिरामी भेटिएका छन् । अस्पतालहरू बिरामीले भरिएका छन् ।

डेंगु रोग नियन्त्रण कोरोना नियन्त्रण जस्तो जटिल पनि होइन । संक्रमित व्यक्तिको रगत पिएको लामखुट्टेले तत्कालै अर्को व्यक्तिलाई टोक्यो भने मात्रै सर्ने रोग हो । यति हुँदाहुँदै पनि डेंगुले महामारीको रूप धारण गर्नु भनेको सरकारी तहमा बस्नेहरूको हदैसम्मको लापरबाही हो । यसका लागि संघीय सरकारको मुख ताक्न पनि पर्दैन । लामखुट्टे मार्ने औषधि छर्ने काम त स्थानीय सरकारले पनि मज्जाले गर्न सक्थे । यसका लागि खासै ठूलो बजेट तथा जनशक्ति पनि आवश्यक पर्दैन । तर स्थानीय सरकारहरूले आफ्नो दायित्व, औचित्य तथा भूमिका बिर्सेको जस्तो देखिएको छ । १० असोजदेखि बडादसैँ सुरु भइसकेको छ । मानिसहरू दसैँ मनाउन आफ्नो गाउँघरमा फर्किसकेका छन् ।

लक्षण समाप्त भइसकेपछि पनि कैयौँ दिनसम्म शरीरमा डेंगुको अवशेष रहिरहने चिकित्सकहरू बताउँछन् । शरीरमा डेंगु बोकेका हजारौँ व्यक्तिहरू दसैँ मनाउन गाउँघरमा गइरहेका छन् । जसका कारण गाउँघर तिरका अन्य जातका लामखुट्टे पनि डेंगुका संवाहक हुने संभावना देखिएको छ । जुन घरको सदस्य बिरामी हुन्छ त्यो घरमा दसैँ हुँदैन । जुन गाउँमा कसैको मृत्यु हुन्छ, त्यो गाउँमा पनि दसैँ हुँदैन । यस हिसाबले भन्नुपर्दा यो वर्ष पनि मुलुकका उल्लेख्य घरपरिवारहरू दसैँ मनाउने अवसरबाट वञ्चित भएको र अझै ठूलो संख्यामा वञ्चित हुने देखियो ।

प्रतिक्रिया