ऊ बेलाको दसैँलाई सम्झँदा

विनोद पौडेल

कोरोना महामारीपछीको यो वर्षको दसैँ उल्लासमय रहेको छ । कोरोनाका कारण गएको दुई वर्ष राम्रोसँग दसैँ मनाउन नपाएका आमनेपालीका लागि यो दसैँ केही फरक अनि उल्लासमय बन्ने निश्चित छ । यतिबेला दसैँको चहलपहल बढ्दो क्रममा छ । राजधानी उपत्यका छोडेर बाहिरी गृह जिल्ला जानेको संख्या बिस्तारै बढ्दै छ । विदेशबाट मातृभूमि फर्किनेको पनि उत्तिकै चहलपहल बढ्दै गइरहेको छ ।

बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो । बडादसैँलाई छिमेकी देश भारतमा दशहरा, विजयादशमी आदि नामले पनि चिनिन्छ । यो पर्व विशेषगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यस चाडलाई नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाडका रूपमा लिइन्छ । जसमा विजयादशमीको दिनलाई मुख्य दिनका रूपमा लिइन्छ ।

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दसैँका दिनमा रावणमाथि विजय हासिल गरेको भएर दसैँलाई बडादसैँको नामले पुकारिन्छ । दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रूपमा मनाउने चलन वैदिक सनातन् धर्माबलम्बीहरूमा परापूर्वकालदेखि चलिआएको छ । जुन कुरा धार्मिक पुस्तकहरूमा पढ्न सकिन्छ ।

वैदिक सनातनीहरूको महान् चाडको रूपमा दसैँ हर्सोल्लासका साथ मनाउने गर्दछौँ । बडादसैँ पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देशविदेश वा टाढाटाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटादिएको हुन्छ । जसको बेग्लै रमाइलो छ । दसैँमा दक्षिणा, टीका, जमरा र पिङको मज्जालाई विशेष अर्थका रूपमा महत्वका साथ लिइन्छ ।

बास्तवमा १० दिनसम्म मनाइने हुनाले पनि यो महान पर्वलाई दसैँ भनेको या १० दिनसम्म मनाइएको हुनुपर्छ । यो नेपालीको लामो पर्वका रूपमा पनि लिइन्छ । दसैँमा नवदुर्गा (शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीको विशेष पूजा तथा आराधना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्ल प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । १०औँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट रातो टीका र जमरा लगाएर र आशीर्वाद थापेर मनाइन्छ । टाढा टाढादेखि आउने पाउनाहरूले पूर्णिमासम्मै टीका लगाएर आशीर्वाद लिने दिने प्रचलन रहेको छ ।

कोरोना महामारीपछीको यो वर्षको दसैँ उल्लासमय रहेको छ । कोरोनाका कारण गएको दुई वर्ष राम्रोसँग दसैँ मनाउन नपाएका आमनेपालीका लागि यो दसैँ केही फरक अनि उल्लासमय बन्ने निश्चित छ । यतिबेला दसैँको चहलपहल बढ्दो क्रममा छ । राजधानी उपत्यका छोडेर बाहिरी गृह जिल्ला जानेको संख्या बिस्तारै बढ्दै छ । विदेशबाट मातृभूमि फर्किनेको पनि उत्तिकै चहलपहल बढ्दै गइरहेको छ । आफूभन्दा ठूला मान्यजनको हातबाट टीका जमरा, प्रसाद, आशीर्वाद ग्रहणगरी मनाइने यो पर्व घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने हुँदा मानिसहरूमा पर्याप्त समय पनि हुन्छ भने उता सरकारले पनि लामै बिदा दिने गरेको छ ।

सामान्यतया दसैँ भन्ने बित्तिकै केटाकेटीमा मनाइएको दसैँको विशेष सम्झना आउने गर्दछ । बालापनमा नयाँ लुगा लगाएको अनि त्यही लुगा लगाएर मामाघर गएको पिङ खेलेको मञ्जा नै बेग्लै हुन्थ्यो । थानका लुगा सहरबाट किनेर बुबाले ल्याएपछि घरघरमा दर्जी (लुगा सिलाउने व्यक्ति) बोलाएर लुगा सिलाउने चलन थियो । घरमै नापेर सिलाएका ती थानका लुगा निकै बास्नादार हुन्थे अहिलेका महँगा अत्तरले के भ्याउँथे र त्यस्तो सुगन्ध ती कपडाबाट आउँथ्यो । नयाँ लुगा हाले पनि प्रायःजसो उही विद्यालयका पोसाक नै हुन्थ्ये । त्यो चलन पछिसम्म नै रहिरह्यो । रेडिमेड कपडा लगाउन प्रायः कमै मात्रामा हुन्थे ।

दसैँ यस्तो चाड थियो जसले परिवारको वाचा पूरा गर्दथ्यो । घरमा केही नयाँ ल्याउनुप¥यो भने दुई÷तीन महिनापछिको दसैँलाई देखाएर दसँैैमा ल्याउँला नि भन्ने चलन पनि नभएको भने होइन, त्यो एउटा वाध्यता थियो भने अर्कोतर्फ अवसर (बजारको कमी) पनि कम थियो । तर, आजभोलि समय फेरिएको छ, आवश्यक परेका सामान तुरुन्तै लिन सकिन्छ, चाहे त्यो गाउँ होस् या त सहर नै । अझ सहरमा त स्मार्ट फोनको माध्यमबाट एक क्लिकको भरमा घर बसीबसी सामान आइसक्छ । प्रविधि र परिवेशले समाजलाई एक खुड्किलो अगाडि बढाइदिएको छ । त्यसै कारण चाडपर्वमा मादकता छाउनै छोडिसकेको छ । यति बेला ऊ बेलाको दसैँमा त यस्तो हुन्थ्यो भन्दै रमाइलो किस्सा हजुरबाले नातीलाई सुनाउनुको अर्को विकल्प छैन जुन पहिलेको जस्तै दसैँको आभास खोज्न ।

उति बेला हर्षोल्लासका साथ मनाइने दसैँको रौनक विस्तारै कम हुँदै गइरहेको छ । यो पंक्तिकारको घर काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपलिका, कानपुरमा हो । त्यो भेगमा उतिबेला (२० वर्ष अगाडि) दसैँको अवसरमा गाउँघरका घरआगँन चोक टोल सरसफाइ गरिरहँदा बेग्लै मञ्जा आउँथ्यो । उता घर सिगार्न सिमको फेदिदेखि जुकाले टोकीटोकी बोकेर ल्याएको कमेरो माटोसँग जोडिएको किस्साको बेग्लै आनन्द थियो । त्यो भन्दा बढी मञ्जा घरलाई सेतो कमेरोले सिंगारेर रातोमाटो नलगाएसम्म दसैँ आएको अनुभूति नै गर्न सकिँदैनथ्यो ।

०७२ सालको महा–विनाशकारी भूकम्पको तहसनहसपछि गाउँमा अहिले अधिकांशका घर पक्की भएका छन् सहरका जस्ता चमक दिन रंगहरूको प्रयोग गरेका छन् । छोरा नाति सहर अनि विदेशमा हुनेहरूका त प्रायः फुस्का घर नै छैनन् भन्दा नै हुन्छ । प्रायका सरकारी अनुदानका घरहरू निर्मित भएका छन् । समय फेरिएसँगै संस्कृति पनि फेरिँदै जाँदा चिन्ताको विषय बनेको छ । टोलभरीका मानिसहरू जम्मा भएर मनाउने अनि रमाइलो गर्ने पर्व अहिले घरभित्रको एक कोठाको सीमिततामा बाँधेको छ । घरघरमा इन्टरनेटको पहँुच हुने हुनाले एउटा मोबाइलले परम्परालाई संकट निम्त्याउँदै आएको देखिन्छ । परिवारका सदस्यहरूबिच छलफल नै हुन छोड्यो । मोबाइलमा संसार हेर्न पाउँदा बाहिर वातावरणमा घुलमिल हुनै नपाउँदा पर्वप्रतिको रौनक कम हुँदै गएको छ ।

वास्तवमा दसैँको मज्जा लिने हो भने उही बालापनलाई फर्केर हेर्नुपर्ने हुन्छ । त्यो बालापनका पललाई, जिन्दगीभर पाएका भौतिक सुखलाई क्षणभरमै बिर्साइदिन्छ । पहिला पहिला हामीलाई दसैँ आउँदै छ भनेर सम्झिँदा मात्रै पनि रमाइलो लाग्थ्यो । महिनौँ दिन अगाडीदेखि दसैँको रौंनक छाइसक्थ्यो । अझ गाउँघरमा पिङ हाल्ने बाबियो जम्मा पार्ने, मियोमा (पिङ बाट्दा बिचमा बस्ने मानिस) बस्ने बाबियो दिँदै अनि कोयो समात्नेलाई आलो पालो दिँदाको रौनक नै बेग्लै हुन्थ्यो । जानीनजानी आफैँले बनाएको चंगा उडाउने कार्यले दसैँलाई राम्रै स्वागत गरिरहेको हुन्थ्यो । खेतमा धानका बाला झुल्दै गरेका अनि धानका बास्नाले मात्रै पनि दसैँलाई उन्मातले स्वागत गरिरहेको झँै लाग्दथ्यो । वास्तवमै भन्ने हो भने दसैँका क्रियाकलापले र त्योसँग जोडिएका विभिन्न पक्षले पनि उत्तिकै रमाइलो हुन्थ्यो । वर्षांै नभेटेका साथीहरूलाई भेट्दा मनै फुरुंग हुन्थ्यो । सहरबाट कोही कसैले केही कोसेली ल्याइदियो भने त हर्षका आँसु नै झर्ने गर्दथ्यो । अब त्यो समय रहेन आज, समयसँगसँगै परिवर्तनका संवाह पनि बढ्दै गइरहे जसले दसैँलाई फिक्का बनाउन खोजिरहेको अनुभूति हुन्छ ।

उतिबेला गाउँघरतिर दसैँको आवश्यक सामग्री खरिद गर्ने बजारको अटसमटस भिड पनि रमाइलो लाग्थ्यो । बुबासँगै पुच्छर लागेर टाढाको बजार (दाप्चा, फूलबारी, धुलिखेल यी पुराना बजार हुन् अहिले पनि छ) एक÷दुई दिन माया मारेर कुम्लो पारेर दसैँको किनमेल ल्याउँदा बेग्लै सान हुन्थ्यो । अझ दसैँको लागि भर्खरै मिलबाट कुटेर ल्याएको तातो तातो चिउराको स्वादको बेग्लै आभास हुन्थ्यो । दसैँको पिङ त मुख्य नै हुन्थ्योे । दसैँको नयाँ लुगाले रमाइलोपनलाई झन ताजकी बनाइदिन्थ्यो ।

दसैँको खसीको मासु अनि पोलेको कान खान पाउनुलाई युद्ध जितेभन्दा कम हुन्थेन । वर्षभरिको मासुको तिर्सना मेटाउन दसैँ कुर्नुको अर्को विकल्प नै थिएन । दसैँको लंगुरबुर्जा उफारेको देख्दा मागेर पैसा राख्न पाउँदाका ती क्षणलाई सम्झदा पनि छुट्टै अनुभूति गराउँदथ्यो । ती र त्यस्ता खेल दसैँका बेलामा मात्र खेले झैँ लाग्दथ्यो । त्यसको झल्को यो वर्षको दसैँमा अनुभूति गर्न पाइने सम्भावना बढ्दै गइरहेको छ । बास्तवमा भन्ने हो भने दसैँका हरेक क्रियाकलाले रमाइलो अनुभूति गराउँदथ्यो । झन् दसैँमा मामाघर सबैभन्दा रमाइलो लाग्थ्यो रमाइलोकै लागि टाढाटाढासम्म पनि निकै कष्टकर यात्रा गरेर मामाघर गएको सम्झना आज झैँ लाग्दछ । यो पंक्तिकार आफ्ना घर काभ्रेको कानपुरदेखि सिन्धुलीको दुम्जासम्म बिहान हिँडेर मध्यरातमा मामाघर पुगेर टीका लगाउँदाको पल सम्झँदा त्यत्रो दुःख गरेर किन गएछु भन्ने अहिले लाग्दछ । तर त्यो बेला त्यसरी नगएको भए आज पक्कै यो मानसपटमा आउने थिएन । अहिले आफनै सवारीमा बिहान गएर बेलुका फर्कंदाको क्षणलाई हेर्दा समय कति परिवर्तन भएछ, पत्याउनै गाह्रो भएर आउँछ । त्यति मात्र होइन् दसैँ मामाघरमा मामाले दिने दक्षिणा सबैभन्दा प्यारो अनि रमाइलो लाग्थ्यो अब ती पल फर्केर नआए पनि सम्झना मात्र रहिरहेको छ ।

गत वर्षका दसैँलाई हेर्ने हो भने रौनकै हराउँदै जाने हो कि भन्ने चिन्ताले सताउँदथ्यो । किनकी कोरोनाले गर्दा दसैँको रौनक मासिने अवस्थामा पुगे झैँ लाग्दथ्यो तर यो वर्ष भने त्यस्तो नहुने पक्का छ । यो वर्ष दसैँको चहलपहल निकै बढ्दै गएको छ । दसैँ भन्ने बित्तिकै सकीनसकी मान्नै पर्छ भन्ने छैन । घाँटी हेरेर हाड निल्नुपर्छ भने झैँ दसैँलाई मान्नु उपयुक्त हुन्छ । बडादसैँको सम्पूर्णमा शुभकामना ।

प्रतिक्रिया