‘यारी’ सार्वजनिक

काठमाडौं । कवि भूपाल राईद्वारा लिखित कवितासंग्रह ‘यारी’ बजारमा आएको छ । थापागाउँस्थित मण्डला थिएटरमा कवि विमल निभा, विप्लव ढकाल, विमला तुम्खेवा, केवल बिनावी, रिमा केसी र कवि राईले उक्त कृतिमा रहेका कविता वाचन गर्दै पुस्तकको विमोचन गरे । कार्यक्रममा भावनाटिका शैलीमा कृतिमा रहेका कवितावाचनसँगै संग्रह सार्वजनिक गरिएको थियो । रंगमञ्चमा नाटकीय स्वरुप दिँदै परम्परागत शैलीभन्दा फरक ढंगमा कविहरुले संग्रहलाई सार्वजनिकीकरण गरेका थिए ।
‘सार्वजनिक’ र ‘यारी’ गरी दुई खण्डमा विभाजन गरिएको कृतिमा समुदाय, समय र राज्यसँग लडिरहेको समाजलाई चित्रण गरिएको छ । कवि राईले ‘सार्वजनिक’ र ‘यारी’ लाई नितान्त निजी खण्डका रुपमा अलग्गै राखेको सुनाए ।

उनका अनुसार ‘यारी’ किराती संस्कृतिमा जोखना खुट्याउने शब्द हो । सो कार्यक्रममा कवि राईले ‘यारी’ शब्दले आफ्नो जीवनमा विशेष अर्थ राख्ने सुनाउँदै यही शब्दप्रेमले पात्रहरु आरोपित गर्दै संग्रहका रुपमा आएको जिकिर गरे । उनले भने, ‘परम्परागत समीक्षा वा टिप्पणीभन्दा समकालीन कविताका पाठकहरु नै समीक्षक हुन् । कवितामा यो ठिक छ या छैन भन्ने अधिकार पाठकको हुन्छ ।’ उनले समाजमा बहिष्कृतमा परेको समुदाय र तिनका सीमान्त आवाजलाई संग्रहमार्फत उठाउने यत्न गरेको सुनाए । कवि राईले कविता लेख्ने मान्छे समाजको प्रवक्ता भएको बताउँदै भने, ‘कविले जे बोल्छ, समाजकै कुराहरु हुन् । कविले बोलिसकेको कुरा बाहिर छापिएर आएपछि समाजको हुन्छ । कविले बोलेका कुराहरु नै समाजको अभिन्न अंग र विषय हुन्छन् ।’

उनले समाजका विषय कवितामा रहेकाले यसले मानवीय संवेदना र सांस्कृतिक पहचिानलाई समेत उठान गरेको विचार व्यक्त गरे । उनका यसअघि ‘सुम्निमाको तस्बिर’, ‘दाजै कविता गाउँमै छ’, ‘सीमान्त सौन्दर्य’, ‘आगोले जन्मोत्सव मनाउँदैन’ लगायतका कविता संग्रह र ‘विम्ब’ लगायतका गीति एल्बम प्रकाशित छन् ।

प्रतिक्रिया